ZIKZ VIRUS
जिका भाइरस झण्डै ७० वर्ष अगाडी युगाण्डाको जंगलमा बाँदरमा देखा परेको हो । सन् १९४७ मा पहिलो पटक युगाण्डाको जिका जंगलमा देखा परेकाले यो भाइरसको नाम नै जिका राखिएको हो । जिका मस्तिष्क सम्बन्धी रोग हो । झण्डै ५ वर्षपछि सन् १९५२ मा मानिसमा देखिएको भएपनि त्यतिबेला जिका कडा रोगको सूचिमा नपरेकाले खासै महत्व दिएको देखिँदैन । तर सन् २०१५ सम्म आइपुग्दा ब्राजिलमा अप्रत्यासित रुपमा नवजात शिशुमा स्नायू सम्बन्धी रोग देखा पर्न थालेपछि विश्वको ध्यान जिका भाइरसले तानेको हो । जिका भाइरसका कारण मस्तिष्क पूर्ण रुपमा विकास हुन नसकेका बच्चा जन्मने गर्छन् । गर्भवतीमा यसको संक्रमण भएमा शिशु असामान्य रूपले सानो टाउकोसहित जन्मिन्छ । यसले मानसिक तथा बौद्धिक अपाङ्गता बनाउँछ । नवजात शिशुमा टाउको अस्वभाविक रुपमा सानो हुने रोगलाई माईक्रोसेफली भनिन्छ ।
जिका सार्ने माध्यम लामखुट्टे
जिका संक्रमणको सबैभन्दा ठूलो चिन्ता भनेको गर्भमा रहेको बच्चामा पार्ने प्रभाव नै हो । विश्व स्वास्थ्य संगठनले पनि यो भाइरसको संक्रमण फैलदै गए अन्तत एडीज लामखुट्टे पाइने सबै देशमा पुग्ने भन्दै आएको छ । जिका मुख्य गरी एडीज प्रजातिको लामखुट्टेबाट सर्ने गर्दछ । अनुसन्धानकर्ताले यौन सम्पर्कबाट पनि भाइरस सर्ने गरेको पुष्टी गरेका छन् भने अन्य माध्यमबाट पनि सर्ने बताएका छन् ।
लामखुट्टेबाट सर्ने भाइरसको महामारी गएको वर्षको मे महिन देखि तीव्र गतिमा फैलिरहेको छ । गतवर्ष सम्म दक्षिणी अमेरीकी देशहरुमा मात्र सीमित रहेको जिका भाइरस उत्तर अमेरीकी तथा एसियाको सिंगापुर सम्म आइपुगेको छ । सिंगापुरमा २ सय ५० भन्दा बढिमा जिका भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये भारतीय, चिनीयाँ, बंगलादेशी नागरिक पनि छन् । योसँगै जिका भाइरसबाट एसिया महादेश पनि अछुतो नरहने संकेत देखा परेको छ ।
कसरी भित्रँदै र फैलिँदै छ ?
एसियामा सिंगापुर, मलेसिया तथा थाइल्याडमा जिका स्थानिय स्तरमा फैलन सुरु भइसकेको छ । यी देशहरु व्यापारिक तथा ट्रान्जिट यातायातको कारणले लोकप्रिय छन् । भारतीय र नेपाली मजदुर सहित अरु पनि यी देशमा आवतजावत गर्छन् । चहलपहल पनि बाक्लो हुन्छ । नेपालीका लागि सिंगापुर तथा थाइल्याड ट्रान्जिट यातायात तथा जिका देखिएको मलेसिया बैदेशिक रोजगारीको लागि गन्तव्य हो ।
त्यसैले यी देशमा लामखुट्टेको टोकाई लगत्तै नेपाल भित्रिएमा जिका सहजै फैलिन्छ । विगत हेर्ने हो भने भारतबाट विद्यार्थी तथा मलेसियाबाट रोजगारमा गएकाहरु बर्षेनी डेंगुको संक्रमण भएपछि उपचारका लागि नेपाल आउने गरेका छन् । डेगुं, चिकुनगुनीया फैलाउने लामखुट्टेले नै जिका फैलाउने भएकाले नेपालमा यी लामखुट्टे तराई देखि पहाड सम्म नै पाइन्छन् । काठमाडौंमा पनि लामखुट्टे व्यापक रहेकाले सबैभन्दा बढि जोखिममा रहेको छ । शरिरमा जिका भाइरस रहदा नै लामखुट्टेले टोकेमा लामखुट्टे पहिला संक्रमित हुन्छ र त्यसपछि संक्रमित लामखुट्टेले टोक्दा स्थानीय बासिन्दामा पनि जिका फैलिन्छ । विश्वका अरु देशमा पनि भएको यही नै हो ।
एसिया जिका भाइरसको उच्च जोखिममा
पछिल्लो समय जिका भाइरस विश्वको लागि ठुलो चुनौती भएर देखा परेको छ । भाइरस सिंगापुरमा देखिनु अप्रत्यासित थियो भने जिका संक्रमितको संख्या द्रुत गतिमा बढ्नु एसियाली देशहरुको लागि पनि चिन्ताको विषय बनेको छ । हालै बैज्ञानिकले एसिया तथा अफ्रिकी देशहरु जिका भाइरसको उच्च जोखिममा रहेको अनुसन्धान लेख प्रकाशित गरेका छन् ।
एसियामा चीन, बंगलादेश, पाकिस्तान, भारत लगाएतका देश सबैभन्दा बढि जोखिममा रहेको देखाएको छ । अनुसन्धानले एसियाका दुई ठूला देश सहित अरु देशमा स्वास्थ्य संरचना, स्वास्थ्य क्षेत्रमा गरेको लगानी तथा मानिसको आवतजावत बसाँइसराईको चापलाई आधार मानेर जोखिमको निष्कर्ष निकालेको थियो । छिमेकी देश भारतमा जिका देखा परे नेपाल पनि यस रोगबाट धेरै समय अछुतो भने रहने छैन ।
नेपाल पनि जोखिममा
अमेरिकी देशमा देखिएको खतरनाक जिका भाइरस नेपालको छिमेकी चीनसम्म आइपुगेको छ । विश्वव्यापिकरणले गर्दा छिमेकी देशसम्म आइपुगेको जिका भाइरस नेपाल भित्रन कुनै समय नलाग्ने भएकाले जोखिम छ । जिका भाइरस डेंगुजस्तै एक प्रकारको भाइरस हो । यो भाइरस सर्ने मुख्य माध्यम रगत र यौन सम्पर्क हो । वैदेशिक रोजगारीमा रहेका व्यक्ति नेपालमा जिका भित्राउने माध्यम बन्न सक्छन् ।
रोजगार र अन्य कामको शिलशिलामा नेपाली पनि विदेश आवतजावत गर्ने हुनाले जिकाको सम्भावित जोखिमको सूचीमा नेपाल पर्नु स्वाभाविक हो । करिव ८० लाख नेपाली विदेशमा रहेको अवस्थामा यो रोग भित्रनेतर्फ सचेत हुन आवश्यक देखिएको छ ।
खुला सिमा र विमानस्थल
भारत र नेपालबिच खुल्ला सिमा तथा स्वास्थ्य परिक्षण गर्ने व्यवस्थित र दिर्घकालिन संयन्त्र नभएकाले नै नेपालमा जिका सहजै प्रवेश गर्ने देखिन्छ । देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल पनि व्यवस्थित नहुँनु, तालीमप्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य परिक्षणको डेस्क भरपर्दो नभएकाले चुनौती उस्तै छ ।
दैनिक हजारौंको सँख्यामा कामदार तथा पर्यटक आवतजावत गर्ने र उनिहरु थाइल्याड र मलेसिया लगाएतका देशबाट आवतजावत गर्ने भएकाले पनि जिका नेपाल आउँदैन भन्न सकिन्न ।
लामखुट्टेलाई पूर्ण नियन्त्रण गर्ने चुनौती
लामखुट्टेको पूर्ण नियन्त्रण गर्नु चुनौतीको विषय हो । तर संक्रमित व्यक्तिलाई सरकारी अस्पतालमा उपचारको लागि अनिवार्य भर्ना गरे लामखुट्टेबाट अरुलाई सार्ने संम्भावना निकै कम गर्न सकिन्छ । तर सामान्य लक्षणको कारण विरामी स्वास्थ्यकर्मी सम्म नआउने भएकाले एक संक्रमितबाट अर्कोमा सजिलै फैलिन्छ ।
त्यस्तै रोग पहिचान र उपचार गर्ने प्रयोगशालाको पहुँच सहज नहुँदा संक्रमित छुट्छन् जसले गर्दा लामखुट्टेले सहजै रोग सार्ने मौका पाउँछ । संक्रमित आफैलाई पनि जिका सम्बन्धी पर्याप्त जानकारी नहुन सक्छ यसले पनि भाइरस फैलाउन मद्दत गर्छ ।
के जिका नेपालमा थियो ?
यसको उत्तर सहज छैन तर नेपालमा जिका छैन भनेर दावी गर्न सकिँदैन । जबसम्म परीक्षण हुँदैन तबसम्म छ या छैन उत्तर खोज्न गाह्रो छ । यसबारेमा नेपालमा अहिलेसम्म बहस पनि भएको पनि छैन । नेपालमा माइक्रोसेफली सम्बन्धी अनुसन्धान खासै नभएकाले जिकाबारे पनि अनुमान गर्न अप्ठारो छ ।
सिंगापुरमा एक्कासी जिका देखिनु अनुशन्धानको कमी नै हो । त्यसैले जिका एसियामा पहिले देखि नै थियो । जिका फैलाउने लामखुट्टे र नागरिकको आवतजावतले नेपाल सहित दक्षिणपूर्वी एसियाली देशहरुमा जिकाको अस्तित्व हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । नेपालमा जिकासँग मिल्दोजुल्दो लक्षण लिएर आउनेहरु हुँदाहुँदै पनि प्रयोगशाला अभावमा परिक्षण भएको छैन ।
जिका रोगका लक्षण
जिका भाइरस संक्रमितमा सामान्य लक्षण देखिन्छ । मुख्य रुपमा लामखुट्टेले टोकेको २ देखि ७ दिनभित्र देखिने भएकाले पनि विरामी परिक्षण तथा उपचारमा आउँदैनन् ।
सामान्य १ सय १ डिग्री फरेनहाइट भन्दा कम ज्वरो आउनु ।शरीरमा बिमिरा देखिनु मांसपेसी दुख्नु टाउको दुख्नु आखाँ पछाडिको भाग दुख्नु, रातो हुनु पातलो दिसा ३ पटक भन्दा बढी हुनु वाकवाकी लाग्नु र, यस्ता लक्षण २ देखि ७ दिनमा आफै हराएर जाने हुन्छ ।
जिका भाइरसको लक्षण डेंगु तथा चिकनगुनीया रोगसँग पनि मिल्दोजुल्दो हुन्छ । जिकाको लक्षण २ देखि ७ दिनमा आफै हराएर जाने र स्वास्थ्य जटिलता पनि नआउने भएकाले नेपालमा जिका भएपनि कमजोर सर्वेलेन्सका कारण थाहा पाउन कठिन छ । नेपालमा जिका थियो वा सर्दैछ भन्दा पनि भोलिका दिनमा नेपाल भित्रिए पनि यकिन गर्न समस्या छ । भविष्यमा रोग फैलिने संम्भावनाको पहिचान गरी आजैबाट यसको बारेमा अनुसन्धान गर्नु जरुरी छ ।
नेपालमा जिका प्रवेश गर्ने मुख्य माध्यम : लामखुट्टे र संक्रमित व्यक्ति
जिका भाइरसको संक्रमण अहिलेसम्म विश्वका ६७ देशमा भेटिएको र विश्वभर करिब २६ लाख मानिस खतरामा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । भारत, पाकिस्तान, बंगलादेश र चीन जिका भाइरसको उच्च जोखिममा रहेकाले नै यी देशबाट नेपालमा फैलने जोखिम छ ।
नेपालमा जिका प्रवेश गर्ने मुख्य माध्यम लामखुट्टे र संक्रमित व्यक्ति हुन् । खुल्ला सिमाना, मिल्दो हावापानी र आवतजावतका कारण पनि नेपालमा संक्रमण फैलने जोखिम छ । तर अहिले सम्म व्यवस्थित र गम्भिर भएर यसतर्फ सम्वन्धित निकायले सोचेको देखिदैन । यहि कारण नेपाल लगायतका देशहरुमा यो रोग भित्रन सक्ने सम्भावना छ । जिका भाइरस संक्रमित लामखुट्टेको टोकाइले सर्ने र यो लामखुट्टेले राती भन्दा दिनमा बढि टोक्ने भएकाले यसलाई रोक्न सचेतना नै प्रमुख आवश्यकता हो ।
कसरी सर्छ जिका ?
लामखुट्टेको टोकाइले पहिले नै संक्रमितको रगत प्रयोग गर्दा यौन सम्पर्कबाट सक्रमित गर्भवती आमाबाट पेटको बच्चामा रबच्चालाई दूध चुसाउँदा ।
रोग लागेपछि बच्चाको टाउको सानो हुन्छ भने आँखाभित्र रहेको नसा सुक्छ र स्वास फेर्न नसक्ने हुँदै विरामीको ज्यान पनि जान सक्छ ।
सामान्य लक्षण देखिने भएपनि उपचारका लागि सजग नहुँनु, लामखुट्टेलाई पूर्ण नियन्त्रण गर्नु नसक्नु, जिका पहिचान उपकरणको अभाव हुनु, सर्वेलेन्स व्यवस्था कमजोर हुनु तथा जिका भाइरसबारे जानकारी कम हुनु यसका मुख्य समस्या हुन् । त्यसैले लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट जोगिने उत्तम उपाय हो । संक्रमण फैलिएको देशबाट फर्केका व्यक्तिले ८ हप्ता र संक्रमण भैसकेको भए ६ महिना यौन सम्पर्क नगर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ ।
चुनौती
नेपालको कमजोर भौतिक स्वास्थ्य संरचना, सरुवा रोगसम्वन्धी विशेषज्ञताको कमि, इर्मजिङ्ग सरुवा रोगको लागि बजेट अभाव, राजनितीक इच्छाशक्तिको कमी जस्ता कारणले सरुवा रोग नेपालका लागि चुनौती बनेका छन् । अमेरीका तथा सिंगापुर जस्ता भौतिक रुपमा सम्पन्न देशमा जिकाबारे जानकारी हुँदाहुँदै पनि रोग नियन्त्रणका लागि गरिएका उपायहरु प्रभावकारी हुन सकेका छैनन् । तसर्थ नेपालमा जिका आउँने प्रायः निश्चित छ ।
बेलैमा सरकार र सम्वन्धित निकायले स्रोत साधन जुटाएर भएपनि स्थानियस्तरमा आधारीत जिका रोक्ने उपायबारे जनचेतना र परिक्षणको व्यवस्था गर्नुपर्ने देखिन्छ । नेपालले रोगको रोकथामका लागि अपनाउने नयाँ तरीका प्रभावकारी बन्न सके अरु देशका लागि पनि नमुना बन्न सक्छ ।
- डाक्टर पुन टेकु अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ ।

0 comments:
Post a Comment