Recent

Krishna Prasad Adhikari prakaranahlikhita order to submit a note debate


भरतपुर चितवनः गोरखाको फुजेल गाउँका कृष्णप्रसाद अधिकारीलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले हत्या गरेको भनी चितवन जिल्ला अदालतमा परेको सरकारवादी मुद्दामा लिखित बहस नोट पेस गर्नू भन्ने आदेश भएको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरले मंगलबार वादी, जाहेरवाला र प्रतिवादीका कानुन व्यवसायीलाई कात्तिक ५ गते बहस नोट लेखाई पेस गर्नू भन्ने आदेश दिएका हुन् ।
अधिकारी हत्या मुद्दामा वादीका तर्फबाट आइतबार जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने र सहायक जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारीले बहस गरेका थिए । सोही दिन जाहेरवालाका तर्फबाट अधिवक्ताहरू बाबुराम गिरी, काशीराम ढुंगाना, इन्द्र अर्याल, गोपालकृष्ण घिमिरे, पुष्पराज पौडेल, ओमप्रकाश अर्याल र आशिकराम कार्कीले बहस गरेका थिए ।
उक्त मुद्दाको प्रतिवादीका तर्फबाट सोमबार अधिवक्ताहरू धर्मराज आचार्य, केशवप्रसाद गौतम, गोपीलाल देवकोटा, प्रकाश महर्जन, ज्ञानेन्द्र नेपाल, रमेश मैनाली, दीनमणि पोखरेल र भोजराज सुवेदीले बहस गरेको चितवन जिल्ला अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालले बताए ।
मंगलबार पनि प्रतिवादीका तर्फबाट अधिवक्ताहरू लक्ष्मण अधिकारी, चूडामणि सापकोटा, कमलराज पाठक र रामचन्द्र देवकोटाले बहस गरेका थिए । उनीहरू सबैको बहस सुनिसकेपछि जिल्ला न्यायाधीश कुँवरले लिखित बहस नोट पेस गर्नू भनी आदेश गरेका हुन् ।
२०६१ जेठ २४ गते चितवनको रत्ननगर आएका बेला गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारीको रत्ननगरमा हत्या भएको थियो । कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या माओवादी कार्यकर्ताबाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।
त्यसको एक वर्ष ६ महिनापछि मृतकका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीमा रामप्रसाद अधिकारी (सानो), विष्णुप्रसाद तिवारी, सीता अधिकारी, मेघनाथ पौडेल, भीष्मराज पौडेल, कालीप्रसाद अधिकारी, जानुका पौडेल, परशुराम पौडेल, रामप्रसाद अधिकारी (ठूलो), सुभद्रा तिवारी, हिमलाल अधिकारी, छविलाल पौडेल र रुद्र आचार्यको नाम उल्लेख छ ।
चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठजनालाई धरौटीमा र तीनजनालाई साधारण तारेखमा छाडेको थियो । घटनामा संलग्न भनिएका छविलाल पौडेल र रुद्र आचार्य अझैसम्म सम्पर्कमा आएका छैनन् ।
छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही माग गर्दै वीर अस्पतालमा अनशनरत बुबा नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा २०७१ साल असोजमा मृत्यु भएको थियो । सोही अस्पतालमा अनशनरत आमा गंगामायाले गत भदौ २७ गते अनशन तोडेपछि चितवन जिल्ला अदालतका स्रेस्तेदारसहितको टोलीले असोज २ गते वीर अस्पतालमै पुगेर गंगामायासँग बकपत्र गरेको थियो ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment