Recent

king Birendra


विश्वबैँक र अन्य दातृ निकायको सम्पर्कमा रही आर्थिक प्रशासनसम्बन्धी काम गरसिकेपछि २०३७ सालतिर राजा वीरेन्द्रले मलाई कूटनीतिक क्षेत्रतर्फको जिम्मेवारी दिने संकेत पाएँ। उनले मलाई बोलाए पनि र यसबारेमा सामान्य छलफल भयो। त्यसबेला नेपालको अमेरकिासँगको सम्बन्धमा केही कटुता देखिएको थियो। खासगरी राष्ट्रपति जिमी कार्टरद्वारा प्रजातान्त्रिक विचारधारा र मानव अधिकारका क्षेत्रमा सरकारका काम-कारबाही सन्तोषजनक नरहेको भन्दै टिप्पणी भइरहेको थियो। यस कुराले पनि राजालाई अलिक झस्काएको जस्तो लाग्थ्योे।

अमेरकिामा पढेको र दातृ समुदायनिकट रहेर काम गरेको अनुभवका आधारमा मैले अमेरकिामा गएर कूटनीतिक क्षेत्रमा काम गरििदए 'सम्बन्धमा सुधार आउँथ्यो कि !' भन्ने राजाको मनसाय रहेछ। त्यसतर्फ जानुपूर्व बिदाइ भेटमा राजासँग निर्देशन लिने भनौँ वा बिदाइ भेट गर्ने त्यस क्रमलाई शिष्टाचारका रूपमा लिइने परम्परा थियो। निर्देशनका मुख्य बुँदामध्ये नेपाललाई शान्तिक्ष्ाेत्रको मान्यता दिन अमेरकिालाई आग्रह गर्ने  र अमेरिकाले नेपाललाई छिमेकी मुलुकको दृष्टिबाट नहेर्ने कुरामा जोड दिने मुख्य विषयहरू थिए । नेपाललाई शान्तिक्षेत्र घोषणा गर्ने प्रस्ताव आफ्नो राज्याभिषेकमा विश्व समुदायका अगाडि राखेपछि करिब ४० मुलुकले सहमति जनाएको तर अमेरिका, युरोप, ल्याटिन अमेरिकाका देशहरू मौन रहेको पृष्ठभूमिमा अमेरिकाले स्वीकारे अरू देशहरूले पनि त्यसको अनुकरण गर्ने बुँदा थिए ।

तयारीका क्रममा मैले राजाका अगाडि रहेको टेबुलमा अमेरकिासँगको सम्बन्ध कुन तहमा छ र अब हामी कुन दिशामा जानु वाञ्छनीय होला भन्ने कुरामा कताकता हल्कापन र गहिरो अध्ययनको अभाव रहेको दर्शाइएको कागज देखेँ। दरबारमा राजा त्रिभुवनका पालादेखि अहिलेसम्म राष्ट्राध्यक्षबीच भएका पत्रहरूको आदानप्रदान आदिको अद्यावधिक फाइल थिए। अमेरकिा र नेपालको सम्बन्ध कुन दिशामा जानुपर्छ भन्ने विषयमा स्पष्ट धारणा त्यहाँ थियो। जुन गम्भीरताका साथ लिइनुपर्ने हो, त्यो गम्भीरता त्यहाँ देखिन्थ्यो। दरबार शक्तिकेन्द्र भएर पनि होला, काम गर्ने मानिसहरूको संख्या कम भए पनि गृहकार्य ज्यादै गहिरो र प्रभावकारी थियो।

"हामीबीच छलफल टुंगिँदा राजा वीरेन्द्रको प्रस्तावित अमेरिका भ्रमणलाई लिएर मैले आग्रह गरेँ, यसमा राजकीय भ्रमण त कतै देखिँदैन ?" एकछिन राजा वीरेन्द्र बडो गम्भीर भए। त्यसपछि उनले भनेको कुरा मलाई ज्यादै घत लाग्यो। उनको भनाइ थियो, "अमेरकिाको नजरमा हामी त्यति महत्त्वपूर्ण छैनौँ, पर्यटकका रूपमा त्यहाँ गएर राष्ट्रिय ढुकुटी सिध्याउनुको म खास अर्थ देख्दिनँ। त्यसैले उपयोगिताविहीन भ्रमणलाई मैले स्थान नदिएको हुँ। कुनै खास उपलब्धि प्राप्त हुने अवस्था सिर्जना भयो भने मैले अवश्य पनि त्यहाँको भ्रमण गर्नेछु।" यस्ता कुराले राजा वीरेन्द्रको आफ्नै किसिमको परचिय दिन्थ्यो। त्यसपछि उनले अमेरकिाका बारेमा आफूलाई लागेका कुरा गरे।

राजा वीरेन्द्रको भनाइ थियो, आफ्नो सम्पूर्ण जीवनकालमा अमेरकिासँग ज्यादै नजिक रहेर काम गरेका इरानका राजासँग अनुकूल वातावरणमा अमेरकिाले साथीका रूपमा व्यवहार गर्‍यो। तर, जब इरानमा क्रान्ति भयो, त्यहाँका राजाले अमेरकिामा शरणार्थीका रूपमा समेत बास पाएनन्। तसर्थ, शक्तिकेन्द्र जहिले पनि आफूअनुकूलको वातावरणमा मात्र ठीक्क हुन्छ। राजा वीरेन्द्रको यो कुरा सुन्दा अमेरकिाको मायावी चरत्रिको पराकाष्ठा झल्किन्थ्यो। त्यस्तो देशसँग सम्बन्ध सुमधर राख्नुपर्छ तर ज्यादै नजिक हुनु पनि हितकर हुँदैन भन्ने उनको मत थियो। बाहिरी संसारले देख्दा ज्यादै नजिक भएको देखिने तर व्यवहार भने नितान्त फरक हुने कुरा बुझ्न त्यही घटना पर्याप्त थियो। त्यसैले राजा वीरेन्द्रको जिकिर थियो, "त्यति नजिक भएका इरानका राजाको त हालत त्यस्तो भयो भने हाम्रो के होला ? हामीजस्तो सानो र शक्तिहीन राज्यलाई अमेरकिाले कुन ढंगले लेला ?"

भ्रमण प्रसंगको कुरा उठाउँदा उनी बडो स्पष्ट थिए। उनले भनेका थिए, "आउनेजाने र भेटघाट गर्ने कुरा खर्चिलो भए पनि यसबाट राष्ट्रका लागि कुनै किसिमको उपलब्धि हुन्छ भने भ्रमणबारे विचार गरौँला।" तर, उनको निर्देशन के कुरामा केन्दि्रत थियो भने, अमेरकिाले हाम्रो विचारधारा बुझोस्। नेपालको अस्ितत्व, अखण्डता र सार्वभौमसत्तामा असर नपुग्ने गरी उनीहरूसँगको सम्बन्ध सुधार गर्नुर्‍यो। त्यस अवसरमा मलाई दिइएको निर्देशन यस्तै किसिमको थियो।

नेपालमा प्रजातन्त्र आइसकेपछि पनि म प्रजातान्त्रिक मुलुकको प्रतिनिधित्व गर्दै अमेरकिाको राजदूत भएँ। तर, पछिल्लोपटक अमेरकिा र नेपालबीचको जुन सामीप्य जनमानसले देखेको थियो, त्यो एक किसिमले काल्पनिक थियो। अहिले अमेरकिासँगको सम्बन्धमा एक स्तरको सहयोगको निरन्तरता देखिएको छ। कूटनीतिक हिसाबले अमेरकिाले नेपाललाई छिमेकीको आँखाबाट हेर्छ भन्ने दृष्टिकोण व्याप्त थियो र अहिले पनि केही मात्रामा छ। त्यसको तलमाथि हामीले आफ्नो कूटनीतिक अभ्यासलाई कति महत्त्व दिन्छौँ र कति अरूमा भर पर्छौं भन्ने कुरामा निर्भर छ।

म कूटनीतिक क्षेत्रको जिम्मेवारी सम्हालेर अमेरकिामा रहँदा नै राजा वीरेन्द्रको पहिलो राजकीय भ्रमण भयो। अहिलेसम्म राजकीय तहमा भएको त्यो भ्रमण नै अन्तिम भ्रमण हो। संयुक्त राष्ट्रसंघको बैठकमा या अन्य अवसरमा प्रधानमन्त्री तथा अमेरिकी राष्ट्रपतिका बीचमा भेटघाटका अवसरहरू जुरेका छन् तर राजकीय तहमा त्यो नै अन्तिम भ्रमण हो।

प्रस्तुति : ईश्वरी ज्ञवाली
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment