Recent

Added 50 MW of electricity


बेसीसहरः चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको संयुक्त लगानीमा लमजुङको भुलभुलेमा निर्माण भएको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । यसअघि परीक्षण उत्पादन गरिसकेको आयोजनाले व्यावसायिक उत्पादन थालेको हो ।
आयोजनामा २५÷२५ मेगावाट क्षमताका दुईवटा टर्बाइन जडान गरिएको छ । दुईवटामध्ये युनिट नं. १ बाट विद्युत् उत्पादन भएको हो । आयोजनाले सोमबार काठमाडौं र भुलभुलेमा छुट्टाछुट्टै कार्यक्रम गरेर विद्युत् उत्पादन भएको जनाएको छ । लमजुङको भुलभुलेमा भएको औपचारिक कार्यक्रमको उद्घाटन सांसद डा.भीष्मकान्त अधिकारीले गरेका थिए ।
निर्धारित समयमा काम सकिएको यो आयोजनाको युनिट नं. २ को पनि सफल परीक्षण भईसकेको छ । ‘दुवै युनिटको सफल परीक्षण भईसकेको छ’,अधिकारीले भने, ‘प्राधिकरणसँगको सम्झौता बमोजिम तीन महिनापछि सञ्चालनमा ल्याइनेछ ।’
आयोजनाको टर्बाइन, टनेल र बाँधको परीक्षण सफल भइसकेको छ । २० किलोमिटर दूरिमा रहेको भुलभुले–मध्यमस्र्याङ्दी प्रसारणलाइनको पनि सफल परीक्षण गरिएको छ । आयोजनाले आफ्नै लगानीमा ट्रान्समिसनलाइन निर्माण गरेको थियो । आयोजनाका लागि सुरुमा साढे १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिए पनि हालसम्म कति खर्च भयो त्यसको सार्वजनिक गरिएको छैन।
आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको दमौली प्रसारणलाइनमा जोडिनेछ । आयोजनाले सुक्खायाममा अर्थात पुसदेखि चैतसम्ममा पाँच करोड ७० लाख युनिट र वर्षायाममा २६ करोड ६ लाख युनिट गरी एक वर्षमा कुल ३१ करोड ७६ लाख युनिट बिजुली उत्पादन गर्ने जनाएको छ ।
चिनियाँ कम्पनी सिनो हाइड्रोको ९० र सगरमाथा हाइड्रोपावरको १० प्रतिशत लगानी रहेको माथिल्लो मस्र्याङ्दी–ए आयोजनाको कुल ५.२ किलोमिटर सुरुङबाट रन अफ रिभर प्रविधिमा बनेको हो । लमजुङमा हालसम्म बनेका जलविद्युत् आयोजना पनि यही प्रविधि अनुसारनै बनेका थिए । निर्माण कम्पनीले विद्युत प्राधिकरणसँग आयोजना निर्माण सम्पन्न पश्चात बिद्युत उत्पादन हुने वर्ष प्रतियुनिट ६.९५ सेन्टमा पीपीए गरेको थियो ।
यता स्थानीयवासीले भने आयोजनाले वातावरणीय क्षेत्रमा बेवास्ता गर्दै आईरहेको आरोप लगाउँदै आएका छन् । आयोजनाले ईआईए प्रतिवेदनअनुसार काम गर्न पटकपटक सुझाव दिँदा पनि कुनै सुनुवाइ नभएको बताएका छन् । स्थानीय प्रेमबहादुर भण्डारीको संयोजकत्वमा संघर्ष समिति बनाएर पटकपटक दबाब दिँदै आएका स्थानीयवासीले आयोजनाले ट्रान्समिसन लाइन विस्तार गर्दा मुआब्जा र क्षतिपूर्ति नदिएको भन्दै दिनहुँजसो आन्दोलन गर्दै आएका छन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment