Recent

Prime Minister election tomorrow


काठमाडौं: व्यवस्थापिका संसद्ले बहुमतीय प्रक्रियाबाट बुधबार प्रधानमन्त्रीको निर्वाचन गराउन कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गराउन आह्वान गरेपछि सभामुख ओनसरी घर्तीको निर्देशनमा संसद् सचिवालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई प्रमुख निर्वाचन अधिकृत तोकेर निर्वाचन कार्यक्रम ल्याइएको हो । महासचिव भट्टराईसमक्ष मंगलबार बिहान ११ बजेदेखि ४ बजेसम्म व्यवस्थापिका संसद्को कुनै सदस्यले आफूलाई नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी उम्मेदवारीको सूचना दर्ता गर्ने र निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारी अपराह्न ४:३० बजे संसद् भवनमा प्रकाशित गर्ने कार्यक्रम छ ।
संसद्मा सबैभन्दा ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी सूचना दर्ता गराउने भएका छन् । त्यस्तै एमालेका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्बाङ वा अरू कसले उम्मेदवारी दर्ता गराउने भन्ने औपचारिक निर्णय भइसकेको छैन ।
संसद् बैठकमा सबै उम्मेदवारले उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, सबै उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल गर्ने र सबै उम्मेदवारीलाई बुधबार एकैसाथ निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम छ । कांग्रेस, माओवादी केन्द्र र मधेसकेन्द्रित दलको समर्थनमा दाहालले उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।

राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि राष्ट्रपति भण्डारीले धारा २९८ को उपधारा ३ बमोजिम व्यवस्थापिका संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन सोमबार आह्वान गरेकी हुन् ।
भण्डारीले साउन १० गते संविधानको धारा २९८ को उपधारा २ बमोजिम व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्री चयन गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि आह्वान गरेकी थिइन् ।
दाहालले कांग्रेसको २०७ मत, केन्द्रको ८१ मत, फोरम लोकतान्त्रिकको १४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीको १२ मत, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ४२ मत र साना दलको १० मत गरी तीन सय ६६ मत प्राप्त गर्ने आंकलन उनी निकटका नेताले गरेका छन् ।
दाहालका प्रतिस्पर्धी उम्मेदवारले एमालेको १८१ मत, मालेको ५ मत, नेमकिपाको ४ मत, राष्ट्रिय जनमोर्चाको ३ मत र साना दलबाट ५ मत गरी १९९ मत प्राप्त गर्ने आंकलन गरिएको छ । राप्रपा नेपालको २५ मत र साना दलको २ मत अहिलेसम्म तटस्थ देखिएको छ । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार राप्रपा नेपालले प्रस्ट जबाफ दिएको छैन ।
केन्द्रका अध्यक्ष दाहालले डेढ वर्षमा तीनवटा निर्वाचन गर्नुपर्ने, भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रता दिनुपर्ने, बाढीपहिरो क्षतिको राहत, उद्धार र पुनस्र्थापना गर्नुपर्ने, शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने, हिमाल, पहाड र तराईको राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने, जनजीविकाको मुद्दामा राहत अनुभव गराउनुपर्ने, छिमेकी भारत र चीनसहित अन्तर्राष्ट्रिय कूटनीतिक सन्तुलन मिलाउनुपर्ने जिम्मेवारी लिएर आफू प्रधानमन्त्री हुन लागेको बताएका छन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment