Recent

Public land sharing Maoist


गोरखा: सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको माओवादी केन्द्रले गोरखामा कानुनविपरीत सार्वजनिक जग्गा व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको छ । हालै स्थानीय बासिन्दाको पहलमा व्यक्तिको कब्जाबाट मुक्त गराइएको गोरखा नगरपालिका ९ को दरौंदी बगरको करिब पाँच सय रोपनी सार्वजनिक जग्गा केन्द्रले फेरि व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको हो ।
माओवादी केन्द्रले संघर्ष समिति गठन गर्दै उक्त जग्गा किसानलाई खेती गर्न दिन दबाब दिएको हो । केन्द्रनिकट किसान संघका सचिव रामबहादुर खड्काको संयोजकत्वमा शनिबार अपराह्न ३१ सदस्यीय दरौंदी बगर किसान संघर्ष समिति गठन गरिएको छ । माओवादीको झन्डासहित नगर संयोजक कृष्ण रानाको नेतृत्वमा सार्वजनिक जग्गामा पुगेका उनीहरूले विभिन्न नारा लगाएका थिए ।
केही दिनअघि सूर्योदय युवा क्लबका युवक र स्थानीय बासिन्दा मिलेर उक्त सार्वजनिक जग्गा व्यक्तिको नियन्त्रणबाट मुक्त गरी खेलकुद मैदान निर्माण गर्ने तयारी गरिएको थियो । केन्द्रका नगर संयोजक रानाले दरौंदीको बगरमा किसानले ढुंगा टिपेर धान रोपेको भए पनि युवा क्लबले रोपोमाथि डोजर लगाएपछि समस्या आएको बताए । 'सार्वजनिक जग्गा राज्यले छुट्ट्याउनुपर्छ, युवा क्लबले होइन', उनले भने, 'बगरलाई संरक्षण गरेर किसानले खेती गरेका हुन् । युवा क्लबले खेलकुद मैदान बनाउने छाँटकाँट छैन । बगरलाई पुनः बगर बनाउन दिँदैनौं ।'

उक्त सार्वजनिक जग्गा कब्जा गरी १६ जना किसानले बर्सौंदेखि धान खेती गर्दै आएका थिए । खेलकुद मैदान बनाएर उत्पादन र उपलब्धि नहुने भएकाले आफूहरूले विरोध गरेको रानाले बताए । राज्यले सार्वजनिक जग्गा नीति बनाएर आफ्नो नियन्त्रणमा ल्याउनुपर्ने उनको सुझाव छ ।
सूर्योदय युवा क्लबका अध्यक्ष प्रदीप कुँवरले स्थानीय राजनीतिक दल र सार्वजनिक जग्गामा खेती गर्दै आएका किसानको सहमतिमा नगरपालिकाको प्राविधिक सहयोगमा अमिन ल्याएर सार्वजनिक जग्गा छुट्ट्याइएको बताए । 'गत चैतमा आमभेला गरेर सार्वजनिक जग्गामा खेती नगर्ने–नगराउने भनी सहमति गराएका थियौं', उनले भने, 'असारमा खेत रोपेपछि हामीले डोजर लगाएका हौं ।' सार्वजनिक बगर हडपेर धान रोप्न नपाइने उनको भनाइ छ ।
सार्वजनिक जग्गा विवादित भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरी दुवै पक्षलाई राखेर छलफल गराए पनि अझै विवाद कायमै छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment