Recent

Lack of breastfeeding babies life crisis


काठमाडौंः शिशु मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्तनपान अझै पनि नेपालमा २२ प्रतिशत महिलाले नगराउने गरेको पाइएको छ । सहरमा १८ र ग्रामीण भेगमा चार प्रतिशत महिलाले बच्चालाई स्तनपानबाट वञ्चित गराएको सरकारी तथ्यांकले देखाएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कतिपय महिलाले स्तनपानबारे जानकारी नपाउँदा र जानकारी भएकाहरूले शरीर बिग्रने भ्रममा परेर र व्यस्त भएको बहाना बनाएर स्तनपान नगराउने गरका छन् । सोही भ्रमलाई चिर्न र स्तनपानबारे जनचेतना विस्तार गर्न सरकारले सोमबारदेखि ‘स्तनपानः दिगो विकासको प्रमुख आधार' भन्ने नाराका साथ स्तनपान सप्ताह कार्यक्रम सुरु गरेको छ ।
बच्चा जन्मिएको एक घन्टाभित्र आमाको स्तनबाट आउने दूध अमृतसरह हुन्छ भन्दै जनचेतना फैलाउँदै आएको स्वास्थ्य मन्त्रालयले यसबारे विस्तृत जानकारी दिन साताव्यापी अभियान सुरु गरेको हो । शिशुलाई सुरक्षित स्तनपान निरन्तर गराउन आमाहरूलाई प्रेरित गर्ने उद्देश्यका साथ हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विभिन्न कार्यक्रम साताव्यापी विश्व स्तनपान दिवस मनाउने गरिएको छ ।
सोही अवसर पारी मन्त्रालयअन्तर्गतको बालस्वास्थ्य महाशाखाले त्रिवि शिक्षण अस्पतालस्थित मंगलादेवी बर्थिङ सेन्टरमै विशेष कार्यक्रम आयोजना गरी स्तनपानबारे जनचेतना फैलाउने प्रयास गरेको छ । बालरोग विशेषज्ञ डा. प्रकाशसुन्दर श्रेष्ठका अनुसार बच्चालाई मृत्युबाट जोगाउन आमाको दूध जन्मदेखि ६ महिनासम्म ख्वाउँदा उनको शारीरिक र मानसिक विकासमा सहयोग पुग्छ । शिशुलाई स्वस्थ राख्नका लागि आमाले जुनसुकै परिस्थिति र समयमा पनि उनलाई स्तनपान गराउनुपर्ने डा. श्रेष्ठको सुझाव छ ।
शिशु ६ महिना पुगेपछि उनलाई आमाको दूधसँगै घरमै बनाएको पौष्टिक आहारा पनि खुवाउनुपर्ने उनको भनाइ छ । बर्थिङ सेन्टरकी नर्स कल्पना बुढाथोकीले स्तनपानबारे अरूलाई सिकाउँदै आएको र आफूले पनि लागू गर्दा आफ्नो शिशु स्वस्थ भएको बताइन् । ‘बच्चालाई दूध खुवाउनैपर्छ भन्ने जानकारी भए पनि आफू काममा जानुपर्ने हुन्थ्यो', उनले भनिन्, ‘काममा जाँदा आफ्नो दूध निचोरेर घरमा राख्ने र परिवारका अन्य सदस्यले त्यो मिलाएर शिशुलाई खुवाउने गर्नुहुन्थ्यो । त्यही भएर मेरो बच्चा स्वस्थ छ ।'
बाल स्वास्थ्य महाशाखाका प्रमुख डा. राजेन्द्र पन्तले पछिल्लो समय कामकाजी महिलाले विभिन्न बहानामा आफ्नो पोसिलो दुध नखुवाउँदा बच्चाहरू अस्वस्थ बन्दै गएको बताए । ‘हरेक आमाले आफ्नो बच्चा स्वस्थ होस् भन्ने चाहनुहुन्छ भने आफ्नो दूध निरन्तर खुवाउनुपर्छ । त्यसले बच्चालाई मात्र होइन आमालाई पनि स्वस्थ बनाउनेछ', उनले भने, ‘आमाले नै हो बच्चालाई जन्मेदेखि स्वस्थ बनाउने ।' चिकित्सकका अनुसार निचोरेर राखेको आमाको दूध २४ घन्टासम्म पनि फ्रिजमा राखेर खुवाउन सकिन्छ ।
व्यस्त जीवशैलीको बहानामा आमाले पोष्टिक तत्वले भरिएको दूध नखुवाउँदा बच्चामा कुपोषणको समस्या बढ्दै गएको डा. पन्तले बताए । शिशु जन्मिएपछि केही दिनसम्म आउने ‘बिगौती' दूधसँग रोगसँग लड्ने शक्ति हुने भएकाले त्यसलाई खेर पाल्न नहुनेमा चिकित्सकले जोड दिँदै आएका छन् । विभिन्न अध्ययनले स्तनपान गराउँदा आमाको स्तन र पाठेघरमा क्यान्सर हुने सम्भावना न्यून हुने देखाएका छन् ।
स्तनपान नगराएका बच्चामा झगडालु स्वभाव देखा पर्ने, अरूसँग घुलमिल नगर्ने जस्ता समस्या उत्पन्न हुने गरेका छन् । जन्मान्तर कायम राख्न पनि स्तनपानले ठूलो भूमिका खेल्छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment