Kuwait has lost mental balance Anne Haritalika day returning to Nepal
झण्डै दुई वर्षअघि मानसिक सन्तुलन गुमाई कुवेतको अल सबा अस्पतालमा उपचार गराइ रहेकी अनिसा बिक आउँदो भदौ १९ गते नेपाल फर्कनुहुने भएको छ ।
सिन्धुपाल्चोकको मार्मिङ ५ की अनिसा भारतको बाटो हुँदै आठ वर्ष अघि घरेलु कामदारका रुपमा कुवेत आउनुभएको थियो । साउदी नागरिकको घरमा काम गर्ने उहाँलाई काम छाडेर हिँडेपछि चोरीको मुद्धा लगाइएको थियो । खाडीका देशहरुमा घरबाट भागेकाहरुलाई चोरी मुद्धा लगाउने गरिएको पाइन्छ । जसका कारण मुद्धा छिनोफानो नभई पीडित कामदार हत्तपत्त देश छाडेर बाहिर जान पाउँदैनन् ।
नेपाली दूतावास कुवेतको पहलमा बिकलाई उहाँकै गाँउ नजिकैको एक महिलाका साथ नेपाल फर्काउन लागिएको हो । उहाँलाई कतार एयरलाइन्सबाट नेपाल पठाउने तयारी भएको दूतावासका प्रतिनिधी सिराज अहमदले जानकारी दिनुभयो । अनिसा र उहाँको साथमा नेपाल फर्कने महिलाको टिकट खर्च दूतावासले व्यहोरेको छ ।
मानसिक सन्तुलन गुमाउनुअघि अनिसा आफूले काम गर्ने घर छाडेर अवैधानिक रुपमा कुवेतमा बस्दै आउनुभएको थियो । अवैधानिक रुपमा बस्दा बिष सेवन गरेपछि अचेत अवस्थामा उहाँलाई अस्पताल पुर्याइएको थियो । सँगै बस्ने सहकर्मीले मानसिक र शारीरिक यातना दिने गरेकोले बिष सेवन गरेको बताइएको छ ।
अवैधानिक भएकै कारण अनिसाको पहिचान नखुलेर १५ महिना अस्पतालमा बेवारिसे अवस्थामा रहनुभएको थियो । गएको फेब्रवरीमा विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि उहाँका परिवार सम्पर्कमा आएका थिए ।
धेरै वर्षदेखी सम्पर्कविहिन रहेको परिवारले अनिसा कुवेतमा रहेको बारेमा थाहा पाएपछि घर फर्काउन आग्रह गरेका थिए । त्यसपछि भने अनिसालाई नेपाली दूतावास, गैरआवासीय नेपाली संघ लगायतका संघसंस्थाहरुले नेपाल फर्काउन प्रयास गरेका थिए ।
घरमालिक साउदी फर्किसकेकाले अनिसाको मुद्धा छिनोफानो गर्न थप झञ्झटिलो भएको थियो । नेपाली दूतावासले उच्च सरकारी निकायसित छलफल गरेपछि अनिसा नेपाल फर्कन पाउनुहुने भएको हो ।

0 comments:
Post a Comment