Flying aircraft laser
शुक्रबार बेलुकी बैंककबाट फर्किंदै गरेको नेपाल वायु सेवा निगमको जहाज अवतरणको क्रममा हात्तीवन माथिको आकाशमा आइपुग्दा ककपिटमा लेजर लाइटको आक्रमण भयो ।
विकिरण उत्सर्जन गर्ने लेजर लाइटले झण्डै ४० सेकेण्डसम्म आक्रमण गर्दा पाइलटको आँखामा असर गर्यो । तैपनि पाइलटले सावधानीपुवर्क जहाज अवतरण गर्न सफल भए । यस्तो आक्रमण नेपाली आकाशमा अहिलेसम्म थाहा नभएको विमान चालक बताउँछन् । पाइलटहरुका अनुसार लामो समय लेजर लाइट आक्रमण भैरहे जहाज दुर्घटना हुन सक्ने सम्भावना हुन्छ । पाइलट विजय लामा भन्नुहुन्छ, ‘उडिरहेको विमानमा लेजर अट्याक गर्नु भनेको मिसाइलले मार हान्नु जस्तै हो । लेजर अट्याकले विमान चालकको आँखामा असर पर्छ । विमान चालकले आँखा नै देख्दैन । आँखा नदेखेपछि चालकले कसरी ह्याण्डल गर्ने विमान ? लेजर अट्याकले चालक टेम्पोररी ब्लाइण्ड नै हुन्छ ।’
विमान चालकलाई असर गर्ने गरी लेजर आक्रमण पछि सँगै रहेका कोपाइलटले विमान सम्हाले पनि निकै कम समय हुने भएकाले खतरा धेरै हुने लामा बताउनुहुन्छ । ‘विमानको ककपिटमा लेजर आक्रमण हुनु संसारमै क्रिटिकल मानिन्छ, अझ नेपालमा त विमानस्थलको रनवे नै सुरक्षित खालको छैन, जतिबेला जे पनि हुन सक्छ, यस्ता घटना गराउनेलाई कडा भन्दा कडा सजाय हुनुपर्छ’ लामाले भन्नुभयो ।
विदेशमा विमानमा लेजर आक्रमण भए ठाउँ पत्ता लगाएर कडा कारबाही हुन्छ । तर नेपालमा जिपिएसका आधारमा ठाउँ पहिचान गर्ने प्रविधि छैन । लेजर लाइट आक्रमण गर्ने व्यक्तिलाई सेनाले सजग गराएर छाडेको छ । निगमको ककपिटमा पाइलटलाई असर पर्नेगरी लेजर हान्ने व्यक्ति जडीबजुटीमा तरकारी पसल सञ्चालन गर्दै आएका वीरेन्द्र थापा मगर रहेको र उनलाई सजग गराएर छाडिएको सेनाले जनाएको छ । उनले आफूलाई लेजर लाइटको प्रयोगले हुने खतराबारे थाहा नभएको बताएका थिए ।
यो घटनापछि सुरक्षाको खतरा बढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले ध्यानाकर्षण गराएको छ । प्राधिकरणले यस्तो कामले नेपालको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै त्यस्ता गतिविधि नगर्न र नगराउन पनि आग्रह गरेको छ ।
प्राधिकरणले विज्ञप्ति निकालेर विमानलाई लक्षित गरी लेजर प्रयोग गरेको पाइए कानुन अनुसार कडा कारबाही गर्ने जनाएको छ ।
लेजर के हो ?
लेजर प्रकाश उत्सर्जन गर्ने एक उपकरण हो । यसले इलेक्ट्रोम्याग्नेटिक रेडिएसनको अप्टिकल उप्लिफिकेसन माध्यमबाट प्रकाश उत्सर्जन गर्छ । सन् १९६० पहिलो पटक लेजरको विकास गरिएको थियो । प्रकाशको स्रोत अनुसार लेजरबाट हुने प्रकाश उत्सर्जन फरक फरक हुन्छ ।

0 comments:
Post a Comment