स्वास्थ्यकर्मी नहुँदा दुई दिनदेखि व्यथा लागेर छटपटाइरहेकी एक महिलालाई सुत्केरी गराउन समस्या भएको छ । सोमबार बेलुकादेखि व्यथा लागे पनि स्वास्थ्यकर्मी नहुँदा सप्तरी हनुमाननगर योगिनीमाई नगरपालिकाकी २७ वर्षकी झुनादेवी यादवलाई सुत्केरी गराउन समस्या भएको हो । स्वास्थ्यकर्मी नहुँदा अस्पताल लैजान पहल गरेपनि बस्तीको चारैतर्फ कोशी नदीले घेरेको र तीन वटा भङ्गालो तर्न राखिएको डुङ्गा पनि चोरी भएकाले अस्पताल पुर्याउन नसकिएको छिमेकी सुशीला देवीले बताउनुभयो । उपस्वास्थ्य चौकीमा स्वंयसेविका रहेकी यादवका ७ वर्षका छोरा, ५ वर्षकी छोरी र ३ वर्षका छोरा भएकाले अस्पताल लैजाने मानिसको समेत समस्या छ ।
उहाँका श्रीमान कामका लागि भारतमा छन् । तत्कालिन गोबरगाढा गाविस–४ की स्वयम्सेविकासमेत रहेकी झुना आवद्ध रहेको स्वास्थ्य चौकीमा कार्यरत अहेव तीन दिनदेखि स्वास्थ्य चौकीमा आएका छैनन् ।
गुहालीको एक कुनामा राखिएको दराजमै रहेको उप–स्वास्थ्य चौकीमा औषधि भएपनि आफूलाई त्यति ज्ञान नभएकोले प्रयोग गर्न नसकिएको स्वयम्सेविका तेतरी देवीले बताउनुभयो ।

0 comments:
Post a Comment