Recent

Yeti Airlines plane crash: All passengers were


भैरहवा: काठमाडौंबाट भैरहवातर्फ उडेको यती एयरलाइन्सको जहाज शनिबार दिउँसो अवतरण गर्ने क्रममा पांग्रामा समस्या आएर विमानस्थलमै चिप्लिँदा दुर्घटनाग्रस्त भएको छ ।
काठमाडौं विमानस्थलबाट ४:२४ बजे उडेको ९ एन–एआइबी जेट स्ट्रिम जहाज ४:५४ बजे भैरहवा विमानस्थलको धावनमार्गबाट बाहिर जाँदा दुर्घटनामा परेको हो । घटनामा जहाज क्षतिग्रस्त भएको छ । दुर्घटनामा विमानमा सवार चालकदलसहित ३२ जना सकुशल रहेको भैरहवा विमानस्थल, नागरिक उड्डयन कार्यालयका निमित्त निर्देशक सूर्यबहादुर खत्रीले जानकारी दिए । पाँच यात्रु सामान्य घाइते भएका थिए ।
जहाजमा क्याप्टेन डीबी शाह, कोपाइलट एपी सेर्पा, परिचारिका यस राना र २९ यात्रु थिए । दुर्घटनामा जहाजका तिनै पांग्रा उछिट्टिएका छन् । अगाडिको भाग कुच्चिएको छ । पंखा भुइँमा घिस्रिएको छ । समथर घाँसेमैदानमा जहाज दुर्घटनामा परेको र चिसो मौसमका कारण तत्काल इन्जिन बन्द भएकाले आगलागीबाट जोगिएको हुन सक्ने एक प्राविधिकले बताए ।
जहाजमा यात्रा गरिरहेकी कविताले भनिन्, 'विमान अवतरणका क्रममा एक्कासि झाडीमा गयो । हामी डरायौं तर परिचालिकाले नआत्तिन आग्रह गरिन् । क्याप्टेनले इन्जिन बन्द गरे । हामी ठूलो दुर्घटनाबाट बच्यौं ।'
दुर्घटनाबारे छानबिन गर्न नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयबाट दुईजना प्राविधिकको टोली भैरहवा आइपुगेको छ । यती एयरलाइन्सले पनि दुर्घटनाबारे जाँचबुझ गर्न छुट्टै टोली खटाएको छ । प्राविधिक टोलीले आइतबार बिहानदेखि दुर्घटनाको अनुसन्धान गर्ने निमित्त निर्देशक खत्रीले बताए । दुर्घटनाग्रस्त जहाजको घटनास्थलमै नेपाली सेनाका क्याप्टेन अश्विन थापा नेतृत्वको टोलीले सुरक्षा दिइरहेको छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment