Why the US are always that quest
आजकाल डिभी भर्ने फेसनले देशै पिटेको छ । जब कामधन्दा केही हुँदैन, समय खाली बितिरहेको हुन्छ, सधैँ गोजी रित्तो हुन्छ, तब-तब देशमा भर्नलाई अमेरिकादेखि आइपुग्दो रै'छ— डिभी, तर यहाँ रित्ताहरूले भरेका छन्, भरिएकाहरूले अझ भर्न खोजिरहेछन्, चुहुन्जेल भर्न खोजिरहेछन् । मानौं डिभी एउटा मीठो सपना हो, जो फुटपाथमा फोकटमा बाँडिइरहेको छ । मानौं डिभी एउटा रित्तो थुन्से हो, जति भर्न पनि छुट छ ।
विद्यार्थी, डाक्टर, लेखक, पत्रकार, मास्टर, इन्जिनियर, वकिल, सरकारी जागिरे, यहाँसम्म कि भूतपूर्व मन्त्रीसमेत डिभीको लर्कोमा फेला परेका उदाहरण प्रसस्तै छन् । टिनएजर त लोभिए लोभिए, हरिद्वार गएर भजन-कीर्तन गरेर बस्ने उमेर भएकाहरूलाई समेत डिभीप्रति रुचि छ ।
तीनवटा कुरा हुन सक्छ, या त सबै देशदेखि बिरक्तिएका छन् वा अमेरिकाको लाइफस्टाइलले सबैलाई लोभ्याएको छ वा कुरै नबुझी सबै डिभीको पछि लागेको देखेर के-के न होला भनेर अर्काको देखासिकी गरिरहेका छन् ।
फेसबुकको जमाना छ । अमेरिकामा भएको एउटा साथीले कुनै समुद्री किनारमा अर्धनग्न हुँदै पोज दिएर तस्विर खिच्छ र फेसबुकमा हालिदिन्छ । नेपालमा बस्नेहरूलाई औडाहा । अधिकांशलाई यस्तै लोभले तान्छ । त्यसरी तस्विरखिचेर फेसबुकमा हाल्नेले अँध्यारो कोठामा भाँडा मस्काइरहेको तस्विर हाल्दैन । उसले एक्लोपनले डिप्रेसन हुँदा कोठामा बसेर धुरुधुरु रोएको तस्विर किन पो हाल्थ्यो र ? विकेन्ड पार्टीमा भेला हुँदा बनाइएको बर्गर, पिज्जा र वाइनको तस्बिर फेसबुकको वालमा झुन्डिन्छ । बिरामी परेर कोठामा एक्लै तातोपानीसमेत खान नपाउँदाको स्थितिलाई कसैले फेसबुकमा हाल्दैनन् ।
एकपटक भर्खरै इन्जिनियरिङ सकेको मेरो एउटा भाइ फेला पर्यो ।
'के गर्दैछस् भाइ ?' मैले प्रश्न गरेको थिएँ ।
'यहाँ काम पाइएलाजस्तो छैन दाइ,' उसले अलिक निराश हुँदै भनेको थियो, 'अब बाहिर जाने सोचमा छु ।'
'अनि कहाँ पुग्यो त प्रक्रिया ?'
'मेहनत गर्दैछु दाइ,' उसले भन्यो । मैले सोचेँ, केटो आइइएलटिएस वा टोफेल वा जिआरई आदिका कोर्सहरू गरिरहेको छ वा भिसा एप्लाइका लागि केही गरिरहेको छ ।
'कहाँसम्म पुग्यो त प्रक्रिया ?' फेरि सोधिहेरेँ ।
'खै दाइ, वर्षैपिच्छे प्रयास गरिरा'छु, भैरहेको छैन ।'
'के गर्दैछस् ?'
'खुलेका बेला डिभी भरिरहेकै छु ।'
म मरीमरी हाँसें । बरु जिस्किएर भनेको भए मलाई हाँस उठ्दैनथ्यो, तर उसले उक्त कुरा सिरियस्ली भनेकाले हाँस्न कर लाग्यो । डिभी भर्नुलाई पनि मानिसहरू मेहनत मान्न थालेछन् ।
मैले डिभी परेर अमेरिका जानेहरूलाई व्यङ्ग्य गरेको होइन । डिभी भर्नेहरूलाई निरुत्साहित गर्न खोजेको पनि होइन । खालि एउटा प्रश्न राख्न मन लागेको हो । हामी किन डिभी भरिरहेछौँ ? किन मरिहत्ते गरिरहेछौँ अमेरिका भनेर ? किन आफ्नै देशमा राम्रै हैसियत भएर पनि अमेरिका देखेर र्याल काढ्छौँ । हामीले कहिल्यै गहिराइमा गएर बुझ्ने प्रयास गरेका छौँ, कि अमेरिकामा गएर बस्ने नेपालीहरू कति खुसी छन् ? अमेरिका गएर बसेका नेपालीहरू धरधरी रोएको कहिल्यै देखेका छौँ ? त्यसो त रुनु आफ्नै देशमा पनि छ । समस्याहरू यहाँ अझ बढी होलान्, तर आफ्नो देशमा बसेर रुँदा चुहिने आँसुले पनि छुट्टै आनन्द दिन्छ । आमालाई घुर्की लगाएर रोएजस्तो हुन्छ यहाँ । आँसु पुछिदिनेहरू पनि प्रशस्तै हुन्छन् । त्यहाँ त आँसु पनि बियर र पानीजस्तै बगेर जान्छ । रुने फुर्सद पनि हुँदैन, बह पोख्ने ठाउँ पनि हुँदैन । यी सब कुरा बुझेर पनि, घर, खेत, बारी, आमाबुवाका आँसु रित्याएरै जाने सोच लिएर हामीले हरेक साल भर्न छाडेका छैनौँ— डिभी !
0 comments:
Post a Comment