Son bought a motorbike please chorai proceeding.
सर्लाहीको हरिवनका विशाल श्रेष्ठले एसएलसी पास गर्नुमा मोटरसाइकल पाउने आशा पनि एउटा कारण थियो । तीन वर्ष अघि नै बुवालाई वाचा गराइसकेकाले एसएलसी पास हुनासाथ मोटरसाइकल चढ्न पाउने निश्चित थियो । रोजगारीका लागि दुबइमा रहेका विशालका बुबा मनिषले पनि छोरालाई मोटरसाइकल किन्न दुई लाख ३६ हजार रुपैयाँ पठाइदिनुभयो । बुवाले पैसा पठाइदिएपछि विशालको खुशीको सीमा रहने कुरै भएन । उहाँले मोटरसाइकल किन्नुभयो र त्यसैमा चढेर सर्लाहीको हरिवनमा रहेको महादेव जनता उच्च माविमा पढ्न जान थाल्नुभयो ।
भर्खर १७ वर्ष टेक्दै गरेका विशालले लाइसेन्स पाउने कुरै भएन । विशालले लाइसेन्स विनै मोटरसाइकल कुदाइरहनुभयो । त्यही मोटरसाइकलले उहाँको ज्यान लेला भनेर कसैले सोचेको पनि थिएन । तर हुने हार दैव नटार भने झैं त्यही मोटरसाइकलले विशालको ज्यान लियो । आइतबार राती भएको गाडी दुर्घटनामा विशालसंगै उहाँका दुईजना साथीको पनि ज्यान गयो ।
यसरी भयो दुर्घटना
आइतबार विशालका साथी विकास विश्वकर्माको जन्मदिन थियो । विशाल हरिवनकै अमिरजंग थापालाई लिएर विकासको घर पुग्नुभयोे । बेलुकासम्मै जन्मदिनको पार्टी जम्यो । विशालको घरमा भाइ र बहिनीमात्र भएकाले त्यहीँ बस्ने योजना बनाएर राती ९ बजेतिर तीनैजना निस्किए । तर उनीहरुको योजना पुरा हुनै पाएन । हरिवनको कडरिया चौकमा काँकरभिट्टाबाट धनगढीका लागि छुटेको मे १ ख २२०८ नम्वरको बसले विशाल, विकास र अमिरजंग चढेको ना ३९ प ३५३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तीनैजनाको ज्यान गयो ।
आमा माइतीमा
बुबा दुवइमा रहेकाले विशालको घरमा आमा, एकजना भाइ र एकजना बहिनी बस्दै आएका थिए । आमा कुमारीमाया केहिदिन अघि उपचारका लागि काठमाडौं आउनुभएको थियो ।
उपचारपछि उहाँ माइत सिन्धुपाल्चोकको मेलम्ची जानुभएको थियो । छोराको दुर्घटनाको खवर उहाँले माइतमै सुन्नुभयो । हाँपझाँप गर्दै उहाँ घर त पुग्नुभयो तर अचेत अवस्थामा । उहाँ अझै होसमा आउनुभएको छैन ।
सास नभेटे पनि लास हेर्छु
छोराको दुर्घटनाको खवरपछि बुवा मनिषपनि दुवईबाट फर्किंदै हुनुहुन्छ । १० वर्षअघि कामका लागि दुबई गएका मनिषले त्यहाँ काम गरेर घरको आर्थिक अवस्था सुधार्नुभयो तर छोरोलाई खुशी बनाउन किनिदिएको मोटरसाइकलका कारण भोग्नुपरेको पीडा मनमा पोको पारेर उहाँ विदेशबाट फर्किंदै हुनुहुन्छ । विशालको शव सर्लाही जिल्ला अस्पतालमा राखिएको छ । मनिषले भन्नुभएको छ – सास त भेटिन छोराको लास मात्र भएपनि हेर्छु ।

0 comments:
Post a Comment