colorless Theatre
रंगशालामा नियमितजसो खेलकुद गतिविधि हुनुपर्ने हो । प्रतियोगिता नभएका बेला पनि खेलाडीले अभ्यास गर्ने ठाउँ हो, रंगशाला । नेपालको एकमात्र अन्तराष्ट्रिय स्तरको रंगशाला दशरथ रंगशालामा भने यो कुरा लागु हुँदैन । ब्लडप्रेसर र शरीरमा बढिरहेको सुगर कन्ट्रोल गराउनेलाई दौडिन रंगशालामा कुनै रोकटोक छैन । जसलाई मन लाग्यो ऊ मनमौजी तरिकाले रंगशालामा छिर्न र त्यसको निशुल्क उपयोग गर्न पाउँछ ।
हुलका हुल मानिसको ओहोरदोहोर, गेटदेखि नै असरल्ल छरिएका जस्तापाता, बालुवा सिमेण्ट र रड मात्र होइन गेटैदेखि झाँगिएका झारपातको झाडी, गजगजी हिलो अनि असरल्ल गाडीको पार्किङ । कोही फुटवलका पोलमा झुण्डेर ब्यायाम गरिरहेका भेटिन्छन् । कोही चियाका कित्ली बोकेर बेचिरहेको पनि हुन्छ । नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको भनिएको दरशथ रंगशालाको कन्तविजोग यतिमा मात्रै सकिँदैन ।
प्याराफिटमा मानिसभन्दा अग्ला रुखको झाङ
२०१३ सालदेखी निर्माण सुरु भएको दशरथ रंगशालालाई २०२४ सालदेखि आधुनिक बनाउने प्रक्रिया सुरु भएको थियो । २०५५ सालमा आठौं दक्षिण एसियाली खेलकुदको लागि चीन सरकारको सहयोगमा प्याराफिटसहितको रंगशालाका सबै संरचनाको मर्मत र सरसफाई गरिएको थियो । त्यसपछि बेलाबेलामा फर्डलाइट र स्कोर बोर्ड राख्ने, ८ लेनको सेन्थेटिक ट्रर्याक राख्ने, कर्भर्डहरुको पुनर्संरचना गरियो । ३ वर्षअघि रंगशालामा कुर्सी र छानो हाल्ने भनेर ठेक्का दिइयो । तर काममा ढिलाइ हुँदा प्याराफिटको विजोग भएको छ ।
छानो हाल्ने पिलर राख्न खनिएका खाल्डा र वरपर पिपल र उत्तिस अनि ठुल्ठुला झाडी बनेको छ । केही पिपलका बोट त डेढ मिटरसम्म अग्ला भइसकेका छन् । पिपलले खेलाडी र त्यहाँ पुग्ने जो कोहीलाई अक्सिजन उत्पादन गरिरहेको छ भनेर चित्त बुझाउनुपर्ला जस्तो । धेरैजसो धेरैजसो कुर्सीमा लेउ लागिसकेको छ । न त रंगशाला रंगशाला जस्तो न त प्याराफिट नै प्याराफिट जस्तो । बिचमा रहेको फुटवल मैदानमै झारको झाडी छ ।
खेलाडी भन्छन ज्यानको माया मारेर ट्रर्याकमा दौडिनुपर्छ
हालत जे जस्तो भएपनि हरेक विहान धेरै खेलाडी अभ्यासको लागि दशरथ रंगशालामा पुग्छन् । आखिर त्यतिकै सुविधासम्पन्न अर्को ठाउँ पनि कहाँ छ र ? दशरथ रंगशाला वरिपरीको सेन्थेथिक ट्रर्याक फाटेर उप्किएको छ । चीनले बनाइदिएको ८ लेनको ट्रर्याक धरै ठाउँमा फुलेको छ केही ठाउँमा त च्यातिएर माटो र सिमेन्ट देखिएको छ । अभ्यासका क्रममा म्याराथन खेलाडी चिप्लेर लड्नु उठेर हात टक्टकाउँदै हिड्नु सामान्य हो । ‘यहाँ त ज्यानको माया मारेर नै प्राक्टिस गर्नुपर्ने बाध्यता छ, कुन बेला कहाँनेर लडिन्छ पत्तो छैन’ म्याराथनकी राष्ट्रिय खेलाडी सरस्वती राईले भन्नुभयो, ‘एकातिर ट्रर्याक फाटेर हैरान छ अर्कातिर भुँडी घटाउनेदेखी हल्ला गर्नकै लागि रंगशालाभित्र आउने खेलाडीका कारण उत्तिकै डिस्टर्व हुने गरेको छ ।’
ट्वाइलेटमा २ मिनेट बस्यो भने बेहोस भइन्छ : वैकुण्ठ मानन्धर
प्याराफिट र सेन्थेटिक ट्रर्याक मात्र होइन रंगशालाभित्रका कभर्ड हलमा पानी र शौचालयको पनि विजोग छ । असिनपसिन भएर अभ्यास गर्ने खेलाडीले हातमुख धुन पाउँदैनन् भने शौचालयमा ढल जाम हुँदा शौचालय गनाएर बसिखप्नु हुँदैन । दिनँहुजसो रंगशालामा अभ्यास गर्ने र प्रशिक्षण दिने कीर्तिमानी धावक वैकुण्ठ मानन्धर भन्नुहुन्छ, ‘मुख धुने र खानेपानीको त कुरै छाडौं ट्वाइलेटभित्र २ मिनेट बस्यो भने बेहोस भइन्छ, ।’ १३ औं दक्षिण एसियाली खेलकुदको आयोजना नेपालले गर्ने तयारी भइरहँदा सरकारले पूर्वाधारमा ध्यान नदिँदा फेरि पनि नतिजा खस्कन सक्ने उहाँको भनाई छ ।
रंगशालाको विजोगबारे राखेपकै कर्मचारीको भनाई बाझियो
नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले भूकम्पका कारण रंगशालाको हालत बिग्रेको बताउनुभयो । भूकम्पका कारण रंगशालामा क्षति पुगेको कारण अहिले विस्तृत सर्वेक्षण भइरहेकोले अध्ययनको पूर्ण प्रतिवेदन नआउँदासम्म रंगशालाको हालत यस्तै हुने उहाँको भनाई छ । ‘रंगशालाको विजोगबारे मलाई पनि थाहा छ, तर इन्जिनियरको टोलीले रंगशाला पूरै भत्काउने कि मर्मत गरेमात्रै पुग्ने हो भन्ने विषयमा निधो गरेपछि मात्रै कामले तिब्रता पाउँछ’ सदस्यसचिव विष्टले भन्नुभयो, ‘टवाइलेट बाथरुम र फुटबल मैदानको बारेमा भने म तत्कालै निर्देशन दिनेछु ।’
तर राष्ट्रिय खेलकुद परिषदका निर्माण शाखाका प्रमुख अरुण उपाध्यायले भने रंगशाला निर्माणको काम नरोकिएको बरु भूकम्प र नाकाबन्दीले केही ढिला भएको बताउनुभयो । रंगशालामा १२ हजार कुर्सी राख्न ३ वर्षअघि लगभग एक करोड रुपैयाँमा टेन्डर गरिएको थियो । ठेकेदार कम्पनीले कुर्सी रंगशालामा विच्छ्यायो पनि । तर अहिले फेरी छानो हाल्ने नाममा कुर्सी झिकिएको छ । रंगशालाको छानो हाल्न झण्डै ७ करोड रुपैयाँको ठेक्का पारित भएर काम पनि सुरु भएको छ, तर कछुवा गतिमा । तर राखेप निर्माण शाखाका प्रमुख उरुण उपाध्यायले भने छानो हाल्ने र कुर्सी हाल्ने काम यसै वर्ष सकिने बताउनुहुन्छ । ‘कुर्सी राख्ने र छानो हाल्ने काम यसै आर्थिक वर्षमा सकिन्छ होला तर भूकम्पले भत्काएका संरचनाको निर्माण गर्न त अध्ययन टोलीको प्रतिवेदन नै चाहिन्छ’ शौचालय र रंगशालाका सेन्थेटिक ट्र्याक बनाउने विषयमा शाखा प्रमुख उपाध्यायले भन्नुभयो, ‘भिआइपी प्याराफिट मर्मत गर्ने कि भत्काएर नयाँ बनाउने भन्नेबारे टुंगो नलागेसम्म शौचालय बनाउन मिल्दैन ।’
सेन्थेटिक ट्रर्याक भने प्याराफिटको काम सकेपछि मर्मत गरिने राखेप निर्माण शाखाका प्रमुख अरुण उपाध्यायले जानकारी दिनुभयो ।
सांगीतिक कार्यक्रमदेखि अधिवेशन पनि फुटबल मैदानमा
पार्टी वा कुनै संस्थाका महाधिवेशन देखि सांगीतिक कार्यक्रम पनि रंगशालामै हुनेभएकाले कागज बोत्तल र प्लाष्टिकका खोल अनि कुहिएका खानेकुराले रंगशालाको बिचमा दुर्गन्ध पनि फैलिएको छ । जहाँ काग र कुकुरको भिड पनि देखिन्छ । फुटबल मैदानमा घाँस बढेर घुँडाघुँडा आउने भएको छ । प्याराफिटका कुर्सी पनि मैदानमै फालिएको छ । रंगशालामा कस्ले प्रवेश गर्न पाउने, कस्ले प्रवेश गर्न नपाउने भन्ने निधो नहुँदा केटाकेटी र युवाहरु मैदानमा उफ्रेका देखिन्छ । खेलकुद गतिविधीले सँधैजसो रंगिन देखिनुपर्ने रंगशाला रंगहीन छ । सरकारले खेलकुद अनि पूर्वाधार निर्माणको कामलाई कत्तिको प्राथमिकतामा राखेको छ ? भन्ने हेर्न तपाई पनि त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा पस्न सक्नुहुन्छ । रंगशालाको हरिविजोग हेरिसकेपछि तपाईलाई नेपाली खेलाडीले गरिरहेको निराशाजनक प्रदर्शनमा शायद त्यति दुःख लाग्ने छैन ।



0 comments:
Post a Comment