कुरा सन् २००६ को मध्यतिर को हो । विदेशको यात्रा ट्रान्जिटको लागि जोर्डनको राजधानि अमानको बिचतिरै पर्ने हिलसाइड होटलको बास थियो हामीहरूको । गरिबी पीडायुक्त जीवनबाट मुक्ती खोज्न भौतारीएका नेपाली युवाहरूको आठ जनाको टोली ।
जसको एउटा पात्र म आफै थिएँ । नेपालदेखि मुम्बईको करिब तीन महिनाको बसाई पछि जोर्डनको राजधानिसम्म पुग्दा सबैजनासँग प्राय बोकेको पैसा खत्तम भैसकेको थियो । हामीहरू कामको लागि युद्धरत स्थान इराकको भूमीमा आफ्नो उज्जवल भविष्य देखेर नेपालको आर्मी र पुलिसको नोकरी छाडेर हिँडेको एउटा जमात ।
सुनौलो संसारको सपना अनि बाबा आमा र श्रीमती कसैको त बच्चा पनि भैसकेको थिएन । हुनेहरूका पनि सानै थिए । सबैको सपना पूरा गर्ने सोचले विदेशको यात्रा तय गरेकाहरू ।
सबै जना आआफ्ना परिवारका दु:खसुख आपसमा बाडी बस्दथे । काम केही थिएन । मन लागेको किनेर खान पनि पैसा थिएन । होटलमा जे दिन्थ्यो त्यही खानेकुरा खानुपर्ने बाध्यता ! कम्पनी एजेन्ट मोहम्मदले त्यँहा बस्ने चाँजो पाँजो मिलाएको थियो ।
उता इराकमा बाह्रजना नेपालीको शिर छेदन गरेको पर्सी पल्टै मुम्बईबाट त्यही ठाँउमा पुगेर आफ्नो र परिवारको सुन्दर जिन्दगीको सपना बोकेर हिँडेका हामीहरू सायद मन मनै अत्तालिएका थियौँ ।
गरिबीबाट आफ्नो परिवारलाई मुक्ती दिलाउनको लागि आतंकवादी समूहको शिकार बन्न तैयार भएको यात्रा । लाग्छ मंसाएर बली चढाउन तयार पारेर राखेको पाठो जस्तै !
होटलमा व्यवस्था मिलाएर गएको मोहम्मद चार दिनसम्म नआउँदा केटाहरू कम आत्तिएनन् । पहिलो पाँचौ दिनमा उ होटलमा आयो र सबैलाई होटलको लाउन्जमा बोलायो र भन्यो "एभरी वडी रेडी टु मुभ फर्म हेयर टुमारो मर्निङ एट वो क्लक, एट टेन यु अल गाइज विल फ्लाई टू इराक !"
अहो सबैको अनुहारमा चमक थपियो भोलि इराकको लागि उड्ने भन्दा । लाग्छ इराकमा युद्द छ भनेर सबैले बिर्सिए जस्तै । सायद जीवनको सफलताको एउटा खुड्किलो जस्तो लाग्यो तर अगाडि मृत्युवरण हुन सक्ने अत्याधिक सम्भावना थियो । तापनि हामी खुसी थियौँ ।
मोहम्मदले भने जस्तै बिहान सबैजना सबेरै उठेर नुहाई धुवाई गरी आठ बज्नु भन्दा पहिले नै होटलको लाउन्जमा तैयार । गाडी लिएर आयो मोहम्मद र सबैलाई जोर्डनको इन्टरनेशनल एयरपोर्ट पुरायो ।
एयरपोर्टमा पुलिसले रोक्यो । नेपाल सरकारले इराकमा बाह्रजनाको हत्या भएपछि जोर्डन हुँदै इराक जाने जो कोही नेपाली भेटेमा नेपाल फर्काइदिनु भनेर पत्राचार गरेको छ हामी पठाउन सक्दैनौँ भन्यो ।
सबै जना एक आपसमा हेराहेर गर्नु बाहेक कसैको मुखबाट केही शब्द निस्केन । बरू सबैका आँखामा आँशुको भेल उर्लिदै थियो भने हामीहरू जबरजस्त रोक्ने असफल प्रयास गर्दै थियौँ ।
हामीहरू असफल जिन्दगी लिएर घर फर्किने अवस्थाको कल्पनासम्म गर्न सकिरहेका थिएनौँ । युद्दमा मर्न बरू हाँसी हाँसी जान तैयार, कस्तो विडम्बना । जिन्दगी भोगाई कति गार्हो छ । मुम्बईमा अन्तर्वार्ता मै तिमीहरूको इनस्योरेन्स निकै राम्रो छ भनेको थियो । सायद त्यो पैसा प्राप्तिको लागि ज्यान दिन तैयार थियौँ हामीहरू ।
मोहम्मदले सबैलाई फर्काएर फेरि होटलमा ल्यायो र आफू चैं "लेट्स सी आई विल ट्राई डन्ट वोरी" भनेर गयो । केटाहरूको बिचल्ली ! एजेन्ट अब भगवान हो, अल्लाह हो आशिर्वाद हो आशाको सानो विन्दु हो । जिन्दगीको डुंगा उसकै हातमा छ । उसकै पर्खाइमा दिनहरू बितिराछन् उ फर्केर आउँदैन ।
होटलले जे दिन्छ चुपचाप खायो मनमा अनेक गन्टना खेलायो बस्यो । अब त सँगै बस्ने साथीहरू पनि अपरिचित जस्तै ! फुस्रा अनुहारमा ओंठ मुख सुकाएर चिन्ताको भूमरीमा फसेकाहरू । उनीहरूको लागि युद्दमा दुष्मनले बर्षाउने ती मोर्टार्ड गोला बारूद भन्दा त्यहीबाट घर फर्किने चिन्ता भयानक थियो ।
असोजको महिना थियो गाउँ घरमा दसैँको रौनक सुरू भैसकेको छ । झन् झन् घरको समझनाले पीडा माथि पीडा । उता काम बन्दैन एजेन्ट फर्केर आउँदैन । कसैसँग फोन पनि छैन होटल वालालाई फोनको लागि अनुरोध गर्दा पनि कल गर्न दिँदैन ।
पैसाको नाममा एक दिनार कसैसँग छैन विदेशको ठाँउ । कतिपय केटाहरू होटलको परिसरमा कसैले तानेर फालेका चुरोटका ठुटा खोजेर सल्काउँछन् र तान्छन् कोही त्यही चुरोटको ठुटा खोलेर खैनी जस्तै ओठमा च्याप्छन् ।
हे बिधाता ! दु:ख दिने पनि त सीमा हुन्छ नी । तिमी त कती दया नभएको रहेछौ । कतै काम गर्न पनि जोर्डनमा काम पाँइदैन पासपोर्टहरू एजेन्ट सँगै थिए ।
कतै घुम्न निस्किन पनि नहुने र सुकै खल्तीमा नभाकाहरू कता घुम्नु ? यो बिजोग होला भनेर कसले सोच्या थियो होला र । नेपालको सरकारी नोकरी छाडेर हिँड्दा । कोही पछुतो मानेर रुन्छन्, कोही फर्केर के मुखले घर जाने बरू मर्ने भन्छन्, कोही हिम्मतिलो कुरा गर्छन् । केटा हो ज्यान नेपाल पुगे त केही गर्न सकिन्छ ।
एक हप्तापछि मोहम्मद एकजना साथी लिएर आयो । केटाहरू निकै रोए उ सँग । गुनासो पोखे ठिक त्यसै दिन विजया दशमी परेको रहेछ । सबैले मोहम्मदलाई एकपटक घरमा सम्पर्क गराउन अनुरोध गरे पछि दुई दुई मिनेट घडी हेरेर सबैलाई घर घरमा सम्पर्क गरायो ।
उ त सबैको लागि भगवानको रूप थियो । घरबाट हिँडेदेखि काम बनेर फोन गरौँला भन्दा भन्दै करिब चार महिनासम्म पनि फोन हुन नसकेको पनि थिए कोही ।
कस्तो संयोग दसैँको दिन आफू पीडाको दलदलमा फसे पनि घर परिवारलाई म ठिक छु भन्न पाएकोमा सबै हर्षित थियौँ ।

0 comments:
Post a Comment