काठमाडौं: राहदानी हराएपछि फेरि लिन पुलिस रिपोर्ट र पत्रपत्रिकामा विज्ञापन छाप्न नपर्ने भएको छ। राहदानी विभागले नियमावली नै संसोधन गरी राहदानी हराएपछि प्रहरी रिपोर्ट बनाउनु पर्ने व्यवस्थालाई हटाएको हो।
सर्वसाधरणलाई प्रहरी रिपपोर्ट लिनुपर्ने, दैनिक पत्रिकामा विज्ञापन निकाल्नुपर्ने र सदरमुकाममा आएर एकदुई दिन बस्नुपर्ने झन्झटलाई ख्याल गर्दै विभागले यस्तो प्रक्रिया अपनाएको हो। विभागका महानिर्देशक लोकबहादुर थापाका अनुसार गत असारको अन्तिम साताबाट परिक्षणको रुपमा यो प्रक्रिया अपनाइएपनि सार्वजनिक गरिएको थिएन। साउनको दोस्रो सातादेखि सबै जिल्ला प्रशासनलाई परिपत्र गरेर नयाँ प्रणाली अपनाउन निर्देशित गरिएको जानकारी थापाले दिए।
जिल्लाले हराएका निवेदनहरु विभागमा पठाउने र विभागले हराएको पुष्टि गर्न प्रहरीलाई पत्राचार गर्नेछ। ‘विगतमा राहदानी विक्री हुने, फोटो टाँसेर अर्कोले प्रयोग गर्ने जस्ता गलत प्रवृत्ति अब रोकिने छ,’ महानिर्देशक थापाले भने। राहदानी नियमावली २०६७ मा राहदानी लिन अनिवार्य प्रहरी रिर्पोट र दैनिक पत्रिकामा विज्ञापन निकाल्नुपर्ने प्रावधान समावेश गरेको थियो।

0 comments:
Post a Comment