Recent

Dubai son that goes to the police station .


क्लियर ब्यागमा राहदानी र पासपोर्ट साइजका फोटा अनि नागरिकता । कसैकसैकामा भने मेडिकल रिपोर्ट पनि । एकजोर लुगा, टुथपेष्ट, ब्रस अनि दाह्री काट्ने मेसिन र ब्लेड लगायत राखिएको झोला भिरेर उनीहरु म्यानपावरभन्दा पनि म्यानपावरका दलालका भिजिटिङ्ग कार्ड बोकेर हिँड्ने युवा बग्रेल्ती भेटिन्छन् । पहिलोपटक होस वा दोश्रो, तेश्रो पटक नै किन नहोस नौलो र बिरानो लाग्ने शहर काठमाडौंमा सकेसम्म कोही आफन्तकोमा नभए तिनै दलालले देखाइदिने होटलमा बसेर केही दिन कटाउनु र उनीहरुले भनेको खुरुखुरु मान्नु उनीहरुको दैनिकी बन्छ । सिन्धुली लदाभिरका अजम्बर तामाङपनि  राम्रो कमाई हुने देशमा पठाइदिन आग्रह गर्दै म्यानपावरका दलाल खोज्दै हिँड्नुभयो ।
म्यानपावर खोज्दै काठमाडौंका गल्ली गल्ली चहार्ने क्रममा दुई महिनाअघि अजम्बरले काठमाडांै चावहिलका संयोग लामिछानेलाई भेट्नुभयो । उनीसँगै विराटनगरका विकल खरेल लगायत सातजना संयोग मार्फत दुबई जाने टुंगो लाग्यो कमाई महिनाको पचास हजार रुपैयाँ हुने संयोगले दाबी गरेका थिए । होइन होला अजम्बरले शंका गर्दा संयोग अनेक कसम खान्थे  र अलिअलि धम्क्याए जस्तो गरि भन्थे अब अहिले भलो गर्ने जमानै छैन राम्रो भनेको कसैले पत्याउँदैनन् । 
वर्षको ६ लाख कमाइले जिन्दगी नै कायापलट गर्ने कल्पनामा अजम्बर दंग पर्नुहुन्थ्यो । दुबई मै व्याचलर पढेर महिनाको एकलाख रुपैयाँ कमाउँदै आएका संयोगको साथ पाएपछि सातै जना मख्ख थिए । संयोग काठमाडौंमै घर भएका पढेलेखेका भएकाले उनी मार्फत दुबई जान लागेपछि सवैका उस्तै उस्ते सपना थिए । 
एकदिन संयोगले भिषाका लागि एप्लाई गर्न भनेर पैसा मागे । कसैले १० त कसैले १५ हजार रुपैयाँका दरले पैसा बुझाए । 
कहिले भिषा आयो भन्दै त कहिले टिकटका लागि भन्दै संयोगले सात जनाबाट पाँच लाख ९० हजार रुपैयाँ उठाइसकेका थिए । विदेश जाने सपना साकार पार्न अजम्बर लगायतले छँदाखाँदाको जागिरै छाडेका थिए । तर संयोगले भनेको समयमा कुनै काम हुन छोड्यो । लाखेपखे भन्दै उनले केही हप्ता टारेपनि पैसा बुझाइसक्दा पनि काम नभएपछि सातै जनाको टोली चनाखो बनेको थियो । उनीहरुले कहिलेको फ्लाइट छ भन्दै संयोगलाई तारन्तार फोन गर्न थाले ।
‘यस्तो किचकिच गर्छस् भने तेरो पेसा फिर्ता लैजा, तँलाई पठाउँदिन, राम्रो कमाइ हुने ठाउँमा जान समय लागिहाल्छ नि’ संयोगले फोन गर्नेलाई थर्काउन छोडेका थिएनन् । एक दिन त संयोगले गुण्डा बोलाएर कुटाउन पनि खोजे । गुण्डाहरुले संयोगलाई धेरै किचकिच गरेर नसताउन भन्दै अजम्बर र उनका साथीको सातो उडाए । 

विदेश उड्ने रहर फसेको पैसा उठाउने चिन्तामा परिणत

अब उनीहरुसँग दुबई जाने भन्दा पनि फसेको पैसा कसरी उठाउने भन्ने चिन्ता सुरु भयोे । पैसा त तिरियो तर पैसा तिरेको न तमसुक छ न रसिद नै । उनीहरुले संयोगलाई पैसा दिएको सामान्य कागजसम्म बनाए । 
कागज देखाउदै पैसा माग्न संयोगकोमा धाए । संयोगलाई नागपोखरी प्रहरीले पक्राउ गर्‍यो । तर प्रहरीले भने ‘पैसा दिन्छु भनेकै छ, काठमाडौंकै मान्छे हो, कतै भाग्दैन पैसा दिन्छ, अहिलेलाई छाडिदिउँ ।’ तर यो कुरा सुनेर उनीहरुको कन्पारो तात्यो । तपाइको यो भनाईको हामी भिडियो खिच्छौं भने प्रहरी हच्किए । 
तर अहिलेको अहिल्यै संयोगबाट पैसा निकाल्न त्यति सजिलो नभएकाले दुई तीन दिनमा पैसा तिर्ने शर्तमा संयोगलाई छाडियो । 
केही दिनमा घटनाक्रममा ट्वीष्ट आयो । नागपोखरी प्रहरी अजम्बर लगायतका सातै जनालाई पक्रिन गयो । उनै संयोगले आफुलाई अपहरण गर्न खोजेको भनेर उजुरी गरेका थिए । 
पैसा तिर्नुको सट्टा उल्टै आफूलाई अपहरण गर्न लागेको भनेर उजुरी गरेपछि उनीहरुलाई नखाएको विष लाग्ला कि भन्ने डर भयो । तर उनीहरुले अब कुनैपनि हालतमा संयोगबाट पैसा उठाएरै छाड्ने निर्णय गरे । अनि उनीहरु प्रहरीको अपराध महाशाखा टेकुमा पुगे । 
प्रहरीले संयोगलाई पक्रियो । छोरो अपराध महाशाखाको खोरमा पुगेको सुनेपछि संयोगका बुवाआमा छक्क परे । शुरुमा त बुवा आमा मात्र होइन साथीभाइ र आफन्तले पनि पत्याएनन् किनकी संयोगले सवैलाई आफू दुबईमा भएको बताएका थिए । 
सुरुमा नपत्याए पनि कुरो यथार्थ थियो । संयोगले बुवाआमा, भाइ आफन्त सबैलाई दुबईमा छु भनेर ढाँटेका थिए । चावहिल घर भएका संयोगले सात महिनासम्म काठमाडौंको नयाँ बानेश्वरलाई दुबई बनाए । उनी नयाँ बानेश्वरमा कोठा भाडा लिएर बस्थे । आफन्त तथा घरमा सम्पर्क गर्नुपर्दा भाइबरमार्फत सम्पर्क गर्थे र दुबई छु भन्थे । सात जनाबाट ठगेको झण्डै ६ लाख रुपैयाँ संयोगले सात महिनासम्म बानेश्वर बसेर मोज गर्दै उडाए ।
असोज ५ गते अपराध महाशाखामा छोराको हालत देखेपछि परिवारले तुरुन्त पाँच लाख ९० हजार रुपैयाँ खोज्यो र महाशाखाको परिसरमै सबैको पैसा चुक्ता गरे । 
प्रहरीको खोरबाट निकालेर घर लैजादै गर्दा संयोग लामिछानेलाई परिवारका सदस्य सोध्दै थिए दुवई छु भनेर किन ढाँटिस र कसरी लागिस यस्तो ठगी धन्दामा । तनाव पोतिएको अनुहार अलिकति उठाएर उनले जवाफ दिए दशा लागेर । 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment