Recent

Dasaima 15 special monitoring team


काठमाडौं: सरकारले दसैंमा बजार अनुगमन गर्न १५ वटा विशेष टोली परिचालन गर्ने भएको छ । यसमध्ये नौवटा टोली परिचालन भइसकेका छन् । दसैंको समयमा खरिदबिक्रीको चाप बढ्ने र गुणस्तरहीन दैनिक उपभोग्य वस्तु पनि बिक्री हुने भएकाले त्यसलाई नियन्त्रण गर्न विशेष अनुगमन टोली परिचालन गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, केन्द्रीय पशु क्वारेन्टाइन कार्यालय, भेटेरिनरी जनस्वास्थ्य कार्यालय र काठमाडौं महानगरपालिकाले विज्ञसहितको टोली गठन गरी परिचालन गरेका हुन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र आपूर्ति विभागले यस्तो विशिष्ट टोली परिचालन गरिसकेका छन् । पशु क्वारेन्टाइन कार्यालय, भेटेरिनरी जनस्वास्थ्य कार्यालय र काठमाडौं महानगरपालिकाले घटस्थापनादेखि नवमीसम्म विशेष अनुगमन गर्नेछन् ।
खाद्य विभागका महानिर्देशक संजिवकुमार कर्णका अनुसार खाद्य विभागले बुधबारदेखि चारवटा क्षेत्रमा अनुगमन टोली परिचालन गरेको छ । विभागले राजमार्ग, होटेल तथा रेस्टुँरा, सुपर मार्केट, थोक बिक्रेतालगायतमा यो टोली परिचालन गरेको हो ।
यसै गरी तेल, मसला, उद्योग, मिठाई, पेयजन्य पदार्थ, प्रशोधन गरिएको मासु र खुद्रा पसलको पनि यो टोलीले अनुगमन गर्नेछ । खाद्य निरीक्षक र उपसचिव स्तरका अधिकारीको नेतृत्वमा प्रत्येक टोलीमा ६ जनालाई सहभागी गराइएको छ । व्यापारीले कालोबजारी गरेको पाइएमा खाद्य ऐनअनुसार तत्कालै कारबाही गरिने विभागले जनाएको छ ।
  
'चाडपर्वमा निकै भीडभाड हुन्छ', खाद्य विभागका महानिर्देशक संजिवकुमार कर्णले भने, 'यही समयमा मौकाको फाइदा उठाएर व्यापारीले गुणस्तरहीन, र अस्वस्थ्य दैनिक उपभोग्य वस्तु बिक्री गर्ने प्रयास गर्छन् । यस्तो समयमा आम उपभोक्तालाई ठगिन नदिन नियमित टोलीबाहेक विशेष टोली परिचालन गरेका छौं ।' खाद्य विभागको टोलीले राजमार्गका होटेल, खाद्य र पेय पदार्थ, मासु, मसला, तेल, मिठाई, पेयजन्य पदार्थलगायतको गुणस्तरका विषयमा अनुगमन गर्न सुरु गरेको छ । यसैगरी राजधानीबाट बाहिरिने अधिकांश यात्रुले राजमार्गका होटेल तथा रेस्टुँरामा बढी रकम तिरेर पनि गुणस्तरहीन खाना र खाजा खानुपर्ने बाध्यता छ ।

यस्तै आपूर्ति विभागले पाँचवटा विशेष टोली परिचालन गरेको छ । विभागका निर्देशक लक्ष्मण श्रेष्ठका अनुसार सुपथ मूल्य पसल र खुद्रा पसल हेर्ने गरी एक, दूध र मिठाई हेर्ने गरी एक, माछामासु र पानी हेर्ने गरी एक, होटेल, रेस्टुँरा, खाजा पसल हेर्ने गरी एक र स्वास्थ्य पोलिक्लिनिक र औषधि पसल हेर्ने गरी अर्को अनुगमन टोली परिचालन गरिएको छ ।
दसैंमा मासुको अत्यधिक प्रयोग हुने भएकाले व्यापारीले झुक्याएर गुणस्तरहीन मासु, कुखुरा, खसीबोका र च्याङग्रा बिक्री गर्ने विगतको अनुभव छ । यसलाई रोक्न काठमाडौं महानगरपालिका, भेटेरिनरी जनस्वास्थ्य कार्यालय र केन्द्रीय पशु क्वारेन्टाइन कार्यालयको सहकार्यमा बालाजु, कलंकी, बिजुलीबजार, कोटेश्वर र प्रदर्शनीमार्गमा असोज १५ गतेदेखि महानवमीसम्म पाँचवटा विज्ञसहितको टोली परिचालन गरिनेछ ।
यस्तो टोलीमा पशु चिकित्सक, सहायक चिकित्सक, सहयोगी, प्रहरी र नगरप्रहरी सहभागी हुनेछन् । यस्तै नागढुंगा बाहेक थप दुई नाका साँगा र फर्पिङमा पनि विशेष टोली परिचालन गरिनेछ । नागढुंगामा भने पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले चेक पोस्ट राखेर दैनिकरूपमा अनुगमन गर्दैआएको छ ।
यी टोलीले उपत्यका भित्रिने खसीबोका, राँगा, कुखुरा, बंगुर, हाँस, अन्डालगायतमा स्वास्थ्यको आधारमा निरोगितापत्र प्रदान गरी काठमाडौं भित्र्याउन दिने व्यवस्था गर्नेछ ।

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment