जनकपुरधामः धनुषामा बोक्सी आरोपमा एक वृद्धलाई लगातार यातना तथा कुटपिट हुँदै आइएको घटना सार्वजनिक भएको छ । जिल्लाको खरीहानी गाविस सिमराढी वडा नं ५ निवासी ६० वर्षीया वृद्धा जानकीदेवी कापडलाई स्थानीयले वर्ष दिनदेखि लगातार यातना तथा कुटपिट गर्दै आएका हुन् ।
गरिब परिवारकी कापडलाई पछिल्लो पटक गरिएको कुटपिटका कारण उनको हाटखुट्टामा चोटपटक लागेपछि उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेपछि घटना बाहिर आएको हो ।
गाउँलेहरूले गाउँमा कोही बिरामी पर्दा जानकीले नै बोक्सी लगाएको भन्दै गाली बेइज्जती गर्ने गरेको र एक वर्षमा तीन पटक कुटपिट गरिसकेको उनका छोरा रामकेबल कापडले जानकारी दिए । स्थानीयले बोक्सी आरोपमा आमालाई पटकपटक कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खरीहानीमा उजुरी गरे पनि प्रहरी प्रशासनले कुनै चासो नदेखाएको रामकेबलले बताए ।
गाउँलेहरूको यातनाले पीडित भई प्रहरीकहाँ पुग्दा उनीहरूले दोषीलाई कारबाही गर्नुको सट्टा आमा र आपूmलाई गालीगलौज गरेर धपाएको रामकेबलले दुखेसो पोखे ।
कतैबाट सहयोग नपाएपछि कुटाइबाट घाइते आमालाई उपचारका लागि अस्पतालमा भर्ना गराउँदा किन कुटिएको भनी अस्तापलमा खटिएका प्रहरीले सोधेपछि उनले बोक्सीको कुरा बाहिर ल्याएको उनले बताए । अहिले जानकीको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी गराएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले भने घटनाप्रति हालसम्म बास्ता नगरेको पीडितको भनाइ छ ।

0 comments:
Post a Comment