Recent

Touch-year-old woman has been abducted is how the day ended?


विराटनगर: भारतको बिहार राज्यस्थित कटिहार जिल्लाको कुरसेलाबाट अपहरणमा परेकी छ वर्षीया बालिकालाई नेपाल प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका १ बाट सोमबार बिहान सकुशल उद्धार गरेको छ ।
प्रहरीले यही १९ गते बुधबार अपहरणमा परेकी भानु अग्रवालकी छोरी छवि भनिने स्पर्श अग्रवाललाई बिहान ६:३० बजे सकुशल मुक्त गराउँदै घटनामा संलग्न एकजनालाई पक्राउ गरेको छ । रीता साहको घरमा बन्धक बनाएर लुकाइराखेको अवस्थामा बालिकालाई अपहरणमुक्त गराइएको प्रहरीले जनाएको छ ।
अपहरणमा संलग्न सुनसरीको इनरुवा नगरपालिका ५ का ४४ वर्षीय दिनेश गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुप्ता तराई मधेस राष्ट्रिय अभियान सुनसरीका जिल्लाअध्यक्षसमेत हुन् । यो घटनामा नेपालतर्फ मुख्य अभियुक्त गुप्ता नै रहेको जानकारी प्रहरीले दिएको छ । भारतमा संगठित रूपमा आपराधिक गतिविधि गर्दै आएको सन्तोष मेहेता ग्रुपको संलग्नतामा बिहारबाट बालिकाको अपहरण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ ।
क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोली १८ घन्टाको अप्रेसनपछि बालिकालाई सकुशल अपहरण मुक्त गर्न सफल भएको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी केशरीराज घिमिरेले बताए । घिमिरेले क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा सोमबार अपराह्न पत्रकारसम्मेलन गरी घटनाका बारेमा विस्तृत कुरा सार्वजनिक गरे ।
‘बालिका अपहरण गरेर नेपाल ल्याइएको छ भन्ने जानकारी आइतबारमात्र प्राप्त भयो', उनले भने, ‘दिउँसो १२ः३० बजेबाट संयुक्त टोली परिचालन गरेर धनकुटा, सुनसरी र मोरङका विभिन्न ठाउँमा व्यापक रूपमा सर्च गर्दै छापा हानियो ।' उनका अनुसार घटना थाहा हुनासाथ परिचालन गरिएको संयुक्त प्रहरी टोलीले छोटै समयको अप्रेसनमा बालिकालाई उद्धार गर्दै अपहरणमा संलग्नलाई पक्राउ गरेर सफलता हातपारेको हो ।
अप्रेसनका लागि सुनसरी प्रहरी प्रमुख एसपी पोषराज पोखरेल र इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी ओम अधिकारी खटिएका थिए । रातभर नसुतीकन राति नै पथरी पुगेका उनीहरूले बालिकाको उद्धार गरेर ल्याए ।
कटिहारस्थित एनबीआर स्कुलमा पढ्दै गरेकी बालिकालाई स्कुलबाट घर फर्कने क्रममा दिउँसो २ देखि ३ बजेको बीचमा अपहरण गरिएको परिवारले जनाएको छ । डीआईजी घिमिरेका अनुसार अपहरणमा संलग्न भनिएको मेहेता ग्रुपले बालिकाले पढ्दै गरेको स्कुलका पूर्वचालक मिथुन पासवानलाई प्रयोग गरेर अपहरण गरेको पत्ता लागेको छ ।
अपहरणमा सहज हुने भएकाले मेहेता ग्रुपले स्कुलका पूर्वचालकलाई प्रयोग गरेको प्रहरीको बुझाइ छ । अपहरणपछि सुरक्षित स्थानको खोजीमा रहेका अपहरणकारीले कुरसेलाबाट बालिकालाई सुनसरीको कप्तानगन्ज हुँदै नेपाल ल्याएका थिए ।
त्यहाँबाट ल्याएर पूर्वचालक मिथुनले बालिकालाई दिनेश गुप्ताको जिम्मा लगाएको प्रहरीले जनाएको छ । पैसाकै लागि बालिकाको अपहरण गरिएको प्रहरीको भनाइ छ । दिनेशले बालिकालाई नेपालमा राख्ने र मेहेता ग्रुपले अभिभावकसँग पैसाको बार्गेनिङ गर्ने योजना बनाएको पत्ता लागेको डीआईजी घिमिरेले बताए ।
‘सोमबारबाट नेपाल छिरेर आपराधिक गिरोह मेहेता गु्रपले बालिकाका अभिभावकसँग पैसाको बार्गेनिङ थाल्ने योजना बनाएको रहेछ', घिमिरेले भने, ‘सोमबार बिहान १० बजेबाट बार्गेनिङ थाल्ले योजना रहेछ तर प्रहरीले बालिकालाई बन्धक बनाएर राखेको घरमा बिहान चार बजे नै घेरा हालिसकेको थियो ।'
प्रहरीका अनुसार नेपाल ल्याएपछि बालिकालाई सुनसरीका विभिन्न स्थानबाट धनकुटा हुँदै मोरङको पथरी पुर्‌याइएको हो । आइतबार साँझमात्र त्यहाँ पुर्‌याइएको प्रहरीले जनाएको छ । तराई मधेस राष्ट्रिय अभियानका जिल्ला अध्यक्ष दिनेशलाई आपराधिक गिरोहले बालिकालाई संरक्षण गरेर सुरक्षित राखेबापत पैसा दिने सर्त राखे पनि कति दिने सर्त थियो भन्नेबारेमा प्रहरीले खुलाएन ।
उनका साथबाट प्रहरीले एउटा ल्यापटप, चारवटा नेपाली सिमकार्ड र एउटा भारतीय सिमकार्ड फेलापारेको छ । अपहरणमा केही भारतीय र केही नेपाली नागरिक संलग्न रहे पनि अहिले एकजनामात्र पक्राउ परेको घिमिरेले बताए ।
अपहरणको घटनामा संलग्न रहेका दिनेशविरुद्ध सुनसरी प्रहरीले शरीर बन्धक तथा अपहरण मुद्दा चलाउने तयारी गरेको छ । सुनसरीबाट उनले बालिका अपहरणको जिम्मा लिएका कारण उनलाई नेपालमै राखेर कारबाही अघि बढाइने प्रहरीले जनाएको छ । उद्धार गरिएकी बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । बालिकाका बुबा भानु अग्रवाल बिहारका व्यापारी हुन् । छोरी अपहरणमा परेको मात्र थाहा भएको तर केका लागि अपहरण गरिएको हो भन्ने थाहा नभएको उनले बताए ।
भारतको हिन्दुस्तान दैनिकका पत्रकार बरुण मिश्रका अनुसार निक्कै चर्चित भएको बालिका अपहरणको घटनाले भारतमा निक्कै ठूलो तरंग ल्याएको थियो । सुरक्षा चुनौती बढेको भन्दै सबैतिरबाट सरकार र सुरक्षा निकायको आलोचनासमेत भएको उनले बताए ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment