Recent

Snake anti-venom


काठमाडौंः सर्पदंशविरुद्धको औषधि (स्नेक एन्टी भेनम सिरम) भारतले नेपाललाई जुनसुकै बेला पनि आपूर्तिमा रोक लगाउन सक्ने अवस्था देखिएपछि सरकार आफैं उत्पादन गर्ने विकल्पको खोजीमा पुगेको छ ।
आफ्नै मुलुकमा उत्पादनमा कमी आएपछि अत्यधिक माग भएको भन्दै उक्त औषधि नेपाललाई दिन नसक्ने चेतावनी भारतबाट पटकपटक आएपछि स्वास्थ्य र अर्थ मन्त्रालयका अधिकारीहरू नेपालमै यसको उत्पादनका लागि विकल्पको अध्ययनमा जुटेका हुन् ।
सरकारले अध्ययनका लागि थाइल्यान्डको क्वुइन साओभावा मेमोरियल इन्स्टिच्युट (क्युएसएमआई) हालै एक टोली खटाएको थियो । जैविक प्रविधिबाट औषधि उत्पादनमा करिब ९३ वर्ष लामो इतिहास बोकेको उक्त इन्स्टिच्युट संसारमै प्रसिद्ध हुनुका साथै यसका उत्पादन जीएमपी प्रमाणित र अन्तर्राष्ट्रिय स्तरका छन् । टोलीले भ्रमणपछि तयार पारेको प्रारम्भिक प्रतिवेदनअनुसार नेपालमा उक्त औषधि उत्पादन गर्न अत्यावश्यक भएको र त्यसका लागि करिब १० अर्ब रुपैयाँ लगानीसहित १० वर्ष मेहेनत गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
नेपालमा गुणस्तरीय औषधि उत्पादन भएमा उत्तरी भारत, भुटान, बंगलादेशलगायत मुलुकमा समेत निर्यात गर्ने सक्ने सम्भावना प्रतिवेदनले औंल्याएको छ । ‘कानुनी, आर्थिक, सामाजिक र वातावरणीय स्वच्छतासम्बन्धी प्रतिबद्धता हुनु जरुरी छ । यो औषधि उत्पादन कार्य आकस्मिक र आवश्यक सेवा भावमा गर्नुपर्छ’, अन्नपूर्णलाई प्राप्त उक्त प्रतिवेदनमा उल्लेख छ, ‘नेपालमा उक्त औषधि उत्पादन भएमा हजारौंको ज्यान जोगाउन सकिन्छ र टिटानस, जापानिज इन्सेफलाइटिसजस्ता रोगविरुद्धका खोप उत्पादन गर्ने ढोका खुल्छ ।’
प्रतिवेदनअनुसार नीतिगत तयारी र आर्थिक प्रबन्ध भएपछि औषधि उत्पादन गर्न घोडापालनका लागि एक वर्ष किलोमिटर क्षेत्रफल जमिन आवश्यक पर्ने र सर्प पालन लागि पनि उपयुक्त स्थान जरुरी पर्ने देखिएको छ ।
यस्तै औषधि उत्पादन गर्ने केन्द्रको प्रशासनिक भवन, गुणस्तर निरीक्षण तथा नियन्त्रण, उत्पादन एकाइलगायतका लागि पनि ठूलो जमिन आवश्यक पर्ने देखिएको छ । औषधि उत्पादन गर्ने केन्द्रका लागि २४ सै घन्टा पानी र बिजुली उपलब्ध हुन आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ ।
प्रतिवेदनले थाइल्यान्डबाट प्राप्त जानकारीका आधारमा सम्बन्धित विज्ञहरूको टोलीद्वारा नेपालमा सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रस्ताव बनाउनुपर्ने, नेपालसँग मिल्दोजुल्दो मुलुक भारतलगायतका उद्योगको थप अध्ययन गर्नुपर्ने, सम्बन्धित विज्ञ र सरोकारवालासँग अझै विस्तृत छलफल गर्नुपर्ने सिफारिस गरेको छ ।
नेपालले भारतको भिन्स बायो प्रोडक्ट लिमिटेडबाट वार्षिक पाँच करोड रुपैयाँमा वार्षिक ५० हजार भायल स्नेक एन्टी भेनम सिरम आयात गर्दै आएको छ । सन् २०१४ र १५ मा औषधि आपूर्ति नहुँदा नेपालले ठूलो समस्या व्यहोर्नुपरेपछि विश्व स्वास्थ्य संगठन र ओमान सरकारले नेपाललाई उपलब्ध गराएको औषधिको मूल्य १४ डलर प्रतिभायल छ ।
नेपालमा गुणस्तरीय औषधि उत्पादन भएमा उत्तरी भारत, भुटान, बंगलादेशलगायत मुलुकमा समेत निर्यात गर्न सक्ने सम्भावना ।
भारतमा यो औषधि उत्पादन गर्ने तीनवटा उद्योग बन्द भइसकेका छन् । चालू रहेका चारमध्ये हैदराबादको एक उद्योगको उत्पादनमात्र नेपालको औषधि व्यवस्था विभागमा दर्ता छ । भारतको सर्वोच्च अदालतले सन् २०१२ यता निर्यातलाई नियमित गर्न उक्त औषधिलाई प्रतिबन्धित वस्तुको सूचीमा समावेश गरेको थियो । नेपालको हारगुहारपछि भारतले निर्यात गर्न स्वीकृति दिए पनि भर नभएको भन्दै सरकारी अधिकारीहरू अध्ययनमा जुटेका हुन् ।
यसअघि स्वास्थ्य मन्त्रालयले अध्ययनका लागि तत्कालीन सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिले उक्त औषधि नेपालमै उत्पादन गर्न सकिने सुझाव दिएको थियो । नेपालमा सर्पको टोकाइबाट बर्सेनि करिब १० हजार मानिस प्रभावित हुने गरेका छन् । तीमध्ये दुई सयभन्दा बढीको ज्यान जाने गरेको छ ।
सर्पले टोकेका करिब पाँच हजार मानिस स्वास्थ्य संस्थामा नआई परम्परागत झारफुक गर्ने गरेको पाइएको छ । विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, उपस्वास्थ्य प्रशासक एवं उक्त भ्रमण टोलीका संयोजक डा. गुणनिधि शर्माका अनुसार तराईबाट लैजाने काठका मुढा र खानेपानीका पाइपसँग पहाडी क्षेत्रमा पुग्ने गरेका सर्पले मानिसलाई टोक्ने क्रमसमेत बढेको छ ।
सर्पको टोकाइ बढ्नुमा जलवायु परिवर्तन पनि अर्को कारण भएको चिकित्सक बताउँछन् । सरकारले तोकेका सर्पदशं केन्द्र र अस्पतालबाट उक्त औषधि निःशुल्क उपलब्ध छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment