Saudi Nepali distressing, rescue workers in other countries
साउदीको रियादस्थित साउदी युनाइटेड कम्पनीमा पाँच महिनादेखि ६० जना नेपाली अलपत्र छन् । कम्पनीले काम र तलव नदिएपछि खान बस्न समेत समस्या छ । अहिले उनीहरुको उद्धारमा न सरकारी अधिकारीलाई चासो छ न त चर्को शुल्क लिएर पठाएको म्यानपावरलाई । पासपोर्ट कम्पनीसँगै छ । बाहिरफेर हिड्न समेत समस्या छ । यो सप्लायर्स कम्पनी अहिले बन्दहुने अवस्थामा पुगेको छ ।
साउदीको हायलको सानाफ इन्टरनेशनल कम्पनीमा ४८ जना नेपालीको समस्या पनि उस्तै छ । महिनौ काम गर्दा पनि कम्पनीले तलव दिएको छैन । कम्पनीमा भएका ५४ जना नेपाली मध्ये ६ जना कम्पनी छाडेर भागिसकेका छन् । अहिले उनीहरु अवैध भएर अन्तै काम गर्दैछन् । ४८ जनाको दिन रात मजदुर क्याम्पमा बित्ने गरेको छ । महिनौं काम गरेको पैसा कम्पनीसँगै छ । घर फर्किन न खर्च छ नत कागजात नै । कमाउन गएका उनीहरुले खालिहात फर्किन्छु भन्दापनि पाएका छैनन् ।
यी त केहि उदाहरण मात्रै हुन् । साउदीका यस्ता धेरै कम्पनीमा नेपालीको अवस्था दयनीय छ । जसले लामो समयदेखि तलव पाएका छैनन् । खान बस्न मुस्किल छ । कुनै बेला श्रमिकलाई महिना मर्ने वित्तिकै तलब दिने साउदीका कम्पनी अहिले घाटामा गएकाले कम्पनीमा कार्यरत श्रमिकलाई पनि मार परेको हो ।
सन् २०१४ को जुनबाट ओरालो लागेको तेलको मुल्यमा अहिले सम्ममा ५० प्रतिशतले गिरावट आइसकेको छ । अवस्था झन विग्रँदो छ । यसको घाटा सबैभन्दा बढि साउदीले नै भोगेको छ । सिमा सुरक्षामा ध्यान दिन अहिले साउदीले विकास बजेट कटौती गरेको छ । केहि ठुला आयोजना बन्द भैसकेका छन् । कतिपय बन्द हुने अवस्थामा पुगेका छन् । आर्थिक संकटकै कारण विनलादेन जस्तो ठुलो कम्पनी बन्द भयो ।
आर्थिक संकटको सुरुमा देखिएका केहि समस्याबाट नेपाली कामदार अछुतो रहन सकेनन् । अन्तराष्ट्रिय बजारमा तेलको मुल्यमा सुधार नआए यस्ता समस्या बढ्दै जानेछन् । पछिल्लो समय नेपालीको प्रमुख गन्तव्य बनेको साउदीमा थुप्रै नेपालीले समस्या भोग्नु पर्ने छ । आर्थिक वर्ष २०७२/०७३ मा मात्रै ९८ हजार २ सय ४६ जना नेपाली साउदी गएका छन् । गएको वर्षसम्म तेश्रो नम्बरमा रहेको साउदी नेपालीका लागि गत आर्थिक वर्षमा पहिलो बन्यो । अहिले पनि नेपालबाट दैनिक ८ सय श्रमस्वीकृति लिने मध्ये सबैभन्दा धेरैले साउदी छान्छन् ।
निर्माण, उत्पादन तथा सेवा मुलक क्षेत्रमा साउदीमा नेपाली कार्यरत छन् । तेलमा आएको गिरावटका कारण सबैभन्दा बढि निर्माण क्षेत्र प्रभावित भएको छ । निर्माण क्षेत्रमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक छैन । तर निर्माण क्षेत्रका अदक्ष कामदारमा नेपाली माग्ने गरेको बताउनुहुन्छ वैदेशिक रोजगार विभाग ताहाचल कार्यलयका प्रमुख कृष्ण दवाडी । यसरी धेरै नेपालीको दैनिकि चलाउने मेलो बनेको वैदेशिक रोजगार प्रभावित हुँदा नेपाल सरकारले भने खासै चासो दिएको छैन् । साउदीमा कामदारलाई परेको समस्याबारे नेपाली निकाय भने बेखबर जस्तै छन् । समस्यामा परेका नेपालीको उद्धारमा ठोस काम भएको छैन ।
नेपालीको समस्या आत्तिनु पर्ने होइन: श्रम तथा रोजगार मन्त्रालय प्रवक्ता
श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले साउदीमा नेपालीलाई खासै समस्या नभएको जवाफ दिनुभयो ।
‘लगभग एक सय जना नेपालीलाई समस्या परेको देखियो । दूतावासले पहल गरिरहेको छ । केहि दिनमै समस्या सुल्झिन्छ । ती कम्पनीको नियत होइन बाध्यता हो केहि समयपछि तलव दिन्छौं भनेका छन् नेपाली कामदार पर्खिने पक्षमा छन् । विन लादेन, वजरलगायतका केहि कम्पनीबाट साउदीस्थित नेपाली दूतावासमा समस्या पुगेको र दूतावासले पहल गरिरहेको छ’ प्रवक्ता भुर्तेलले भन्नुभयो ‘तर समस्यामा परेका नेपालीले भने दूतावासले वास्ता नगरेको गुनासो गरेका छन् ।’
परराष्ट्र प्रवक्ता भरतराज पौडेलका अनुसार सबै कम्पनी संकटमा परेका होइनन् । केहि ठुला कम्पनी मात्रै हुन् । ती कम्पनीमा थोरै मात्रै नेपाली कार्यरत छन् । उनीहरु पनि दूतावासको सम्पर्कमै छन् । साउदीको रियादस्थित नेपाली दूतावास र जेद्धामा रहेका महावाणिज्य दूतको कार्यालयलाई पनि नेपालीलाई आवश्यक व्यवस्था गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिइसकेको छ ।
साउदीमा अलपत्र पाकिस्तानी कामदारलाई फर्किन हवाई टिकट र परिवारलाई ५० हजार
पाकिस्तानले साउदीमा अलपत्र कामदारका लागि बजेट छुट्याएको छ । प्रधानमन्त्री नवाज सरिफले मानव शंसाधन मन्त्रालयलाई पीडितको तथ्यांक संकलन गर्न निर्देशन दिँदै आर्थिक सहयोगको घोषणा गर्नुभएको हो । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार साउदीस्थित पाकिस्तानी दूतावासका कन्सुलर जेनेरल सैयर अकवर खानले साउदीको श्रम मन्त्रालयका डाइरेक्टर जेनेरल अव्दुल्ला अल वलियनसँग पाकिस्तानी कामदारको समस्याका बारेमा छलफल गरिसक्नु भएको छ । छलफलपछि साउदी सरकारले पाकिस्तानी कामदारका लागि खानाको व्यवस्था गरेको छ । यस्तै साउदीको नियम अनुसार कामदारको पाउन बाँकी रकम भुक्तानी गर्ने बताएको छ ।
कामदारलाई तत्काल पाकिस्तान फर्कने वा रोजगारदाता कम्पनी फेरेर साउदीमा नै काम गर्ने भन्ने विकल्प छान्न भनिएको छ । साउदी सरकारले कम्पनी परिवर्तन गर्दा कुनै शुल्क नलिने जनाएको छ । पाकिस्तानको प्रमुख गन्तव्य देश साउदी हो जहाँ ४३ लाख पाकिस्तानी कार्यरत छन् ।
फिलिपिन्सले उद्धार टोली पठाउने
फिलिपिन्स सरकारले साउदीमा ९ हजार फिलिपिनो समस्यामा परेको अनुमान गरेको छ । तर कामदार हकहित समूहले भने झण्डै २० हजार समस्यामा परेको दावी गरेको छ । फिलिपिन्स सरकारले आउँदो बुधबार समस्यामा परेका कामदारको उद्धारका लागि एक टोली साउदी पठाउने निर्णय गरेको छ । यो टोलीले तत्कालिन समस्या समाधान गर्ने र त्यसपछि दीर्घकालिन समस्या समाधानका लागि अर्को टोली पठाउने पनि निर्णय गरेको छ । फिलिपिन्सका श्रम सचिव सिलभेष्टे« बेलोले पीडित कामदारलाई सकेसम्म घर फर्काउने विकल्प उत्तम भएको बताएका छन् । फिलिपिन्सको सय मिलियन जनसंख्यामध्य १० प्रतिशत विदेशमा छन् ।
भारतीय टोली राहत लिएर साउदीमा
यहि समस्याका कारण साउदीमा ७ हजार ७ सय भारतीय नागरिक रोजगारबाट वञ्चित भएका छन् । उनीहरुले पानीसमेत खान नपाएको खबर आएलगतै भारतको एक टोली १५ हजार ४ सय ७५ केजी खाद्यन्न सहित साउदी पुग्यो । परराष्ट्र मन्त्री शुष्मा स्वराजले सहायक मन्त्रीसहितको टोली तत्काल साउदी पठाउनु भयो । टोलीले साउदीमा खाद्यन्न बाँडे लगतै साउदी सरकारले भारतीय कामदारलाई निशुल्क खान बस्न स्वास्थ्य उपचार र घर जानेलाई हवाई टिकटको व्यवस्था गर्ने निर्णय गरेको छ । यस्तै पाउन बाँकी तलव पनि तत्काल उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
भारतले घर फर्किन चाहाने र कम्पनी परिवर्तन गरेर काम गर्न चाहने नागरिकको तथ्यांक संकलन गर्दैछ । भारतीय टोली पुगेपछि अहिले पीडित कामदारलाई खाने बस्ने व्यवस्था राम्रो छ । निर्माण कम्पनी ओगरमा मात्रै २५ सय भारतीय कामदारले काम र तलव पाएका छैनन् । फोहोर र बत्ति समेत नभएको क्याम्पमा बस्न बाध्य भारतीयले आन्दोलन गर्ने आशंकामा प्रहरी तैनाथ गरिएको थियो । ३० लाख भन्दा बढि भारतीयले साउदीमा रोजगारी गर्छन् ।

0 comments:
Post a Comment