Recent

Saudi Arabia, the economic problems affecting the Nepalese worker


 वैदेशिक रोजगारका लागि नेपाली श्रमिकहरुको एउटा महत्वपूर्ण गन्तव्य खाडी राष्ट्र साउदी अरेबियामा आर्थिक समस्या चर्किए सँगै त्यहाँ काम गर्दै आएका सयौं नेपाली कामदार प्रभावित भएको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ।
धेरै जसो कामदारले लामो समय देखि तलब नपाएको र केहीले रोजगारी नै गुमाएको बताइएको छ।
अनौपचारिक अनुमानमा करिब ४ लाख नेपाली कामदार साउदी अरेबियामा रहेको बताइन्छ।
तलब
कच्चा तेलको मूल्यमा लगातार आएको गिरावटका कारण साउदी अरेबियाको अर्थतन्त्र हाल चर्को समस्यामा परेको छ।
जसका कारण विशेषत: केही सरकारी परियोजनामा काम गर्ने नेपाली कामदारले विगत ३/४ महिना देखि तलब पाउन नसकेको र कतिपयले रोजगारी गुमाउनु परेको बताइएको छ।
हालै बन्द भएको एउटा कम्पनीका कामदार सिर्जलाल राउतले भने, "आठ महिना देखि तलव दिएको छैन, खान पनि दिँदैन। हामी त नेपाल फर्किन चाहन्छौं। सबै जना त्यही भन्दैछन्।"
निवेदन
आठ महिना देखि तलव दिएको छैन, खान पनि दिँदैन। हामी त नेपाल फर्किन चाहन्छौं। सबै जना त्यही भन्दैछन्
सिर्जलाल राउत, एक नेपाली कामदार
हाल सम्म ७३ जना नेपालीले साउदी अरेबिया स्थित नेपाली दूतावासमा सहयोगका लागि निवेदन दिएका अधिकारीहरुले बताएका छन्।
कम्पनी बन्द भएका कारण अलपत्र अवस्थामा रहेका नेपाली कामदारलाई घर फर्काउने प्रयास भैरहेको साउदी अरेबियाका लागि कार्यवाहक नेपाली राजदूत आनन्द प्रशाद शर्मा बताउँछन्।
उनले भने, "हाम्रो महावाणिज्य दूतावासले समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गरेको छ। भारतीय कामदारहरुलाई जसरी फर्काइन्छ हामीले पनि त्यसरी नै फर्काउने भनेर कुरा गर्न लागेका छौं।"
भारत, पाकिस्तान लगायतका देशहरुले साउदी अरेबियामा बेरोजगार भएर अलपत्र परेका आफ्ना देशका कामदारको बाँकी तलब उपलब्ध गराउन र स्वदेश फर्कन चाहनेलाई फर्काउन प्रयास गरिरहेको समाचारहरु आएका छन्।
गत वर्ष मात्रै एक लाख भन्दा बढी नेपाली कामका लागि साउदी अरेबिया गएको बताइएको छ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment