फुपूल्हामु खत्रीले रियो ओलम्पिकको पहिलो चरणमा मरिसेट इस्पिनोसासँग मंगलबार प्रतिस्पर्धा गर्ने भएकी छन् । बिहीबार निकालिएको ‘ड्र’ अनुसार उनले कठिन प्रतिद्वन्द्वी पाएकी हुन् ।
१२ औं दक्षिण एसियाली खेलकुद ९साग० मा स्वर्णपदक जितेकी फुपूले ६३ केजीमुनिको स्पर्धामा मंगलबार खेल्नेछिन् । यो स्पर्धामा रियोमा ३६ खेलाडी सहभागी छन् । क्युबाली खेलाडीलाई पराजित गर्नसके उनी अन्तिम १६ मा प्रवेश गर्नेछिन् ।
ओलम्पिक छात्रवृत्तिअन्तर्गत हंगेरीको राजधानी बुडापेस्टमा पाँच महिना ट्रेनिङ गरेपछि फुपूको खेल स्तरले छलाङ मारेको छ । ‘जुडोमा क्युबा राम्रो देश हो,’ नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले रियोबाट भने, ‘ओलम्पिकमा जोसँग पनि खेल्नुपर्छ । फुपूलाई कोहीसँग खेल्न पनि समस्या छजस्तो लाग्दैन । हंगेरीमा उच्चस्तरको ट्रेनिङ गर्दै ठूला प्रतियोगिता पनि खेलेकी छन् । त्यसैले उनले राम्रै खेल्ने आस छ । निडर भएर खेल्नेमा ढुक्क छु । उनी आत्मविश्वासी पनि छिन् ।’
दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा दुईपल्ट रजतपदक पनि हात पारेकी २१ वर्षीया फुपूले रियो पुगेर मंगलबारदेखि नै निरन्तर प्रशिक्षण गरिरहेको अध्यक्ष वज्राचार्यले बताए । तर, क्युबाली खेलाडीको प्रोफाइल पनि कम छैन । युरोपियन टुरका प्रतियोगिता खेलेपछि रियो पुगेकी इस्पिनोसाले पान अमेरिका जुडो च्याम्पियनसिप २०१३ र २०१४ मा स्वर्णपदक जितेकी थिइन् । २६ वर्षीया उनी २०१६ मा भने रजतमा रोकिएकी थिइन् ।
रियोतर्फ लाग्नुअघि फुपूले ओलम्पिकमा ५ मिनेट ९पूरा खेल अवधि० टिक्ने आफ्नो लक्ष्य भएको बताएकी थिइन् । ‘हाम्रा लागि ओलम्पिक खेल्नु नै ठूलो हो । यस्तो अवसरमा ५ मिनेट टिक्ने प्रयास गर्नेछु र यो नै मेरो लक्ष्य हो । पूरा अवधि खेल्नसके नतिजा ९सकारात्मक० पनि आस गर्न सकिन्छ,’ उनले भनेकी थिइन् । उनकी प्रशिक्षक देबु थापा पनि आठ वर्षअघिकी ओलम्पियन हुन् । बेइजिङमा उनी तीन मिनेट पनि टिकेकी थिइनन् ।
फुपू र इस्पिनोसाबीचको विजेताले दोस्रो चरणमा विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी इजरायली यार्डेन गेर्बीको सामना गर्नेछन् । महिला र पुरुषका ७–७ गरी कुल १४ स्पर्धा समावेश जुडोमा १ सय ३६ देशका ३ सय ९० खेलाडी छन् ।

0 comments:
Post a Comment