Nuwakot have five children playing with open doors
- लहरेपौवा, रसुवाको आँगनमा बसेर प्लस टु परीक्षाको तयारी गर्दै थिइन्, कल्पना गजुरेल । भूकम्प आउनासाथ घरभित्र छिरेर खाटमुनि लुकिन् । घर लड्यो, खाटले थेगेन र उनको ज्यान गयो ।
- काहुले–१, नुवाकोटमा खुला चौरमा खेल्दै गरेका पाँच बालबालिका भूकम्प आएपछि दगुर्दै घरभित्र छिरे । खाटमुनि लुक्दा सबैले ज्यान गुमाए ।
- आरुघाट, गोरखाका विलप्रसाद श्रेष्ठले जन्मदिनमा दीर्घायुको कामना गरेको केही बेरमै छोरीलाई गुमाउनुपर्यो । भूकम्प आउँदा आमा–छोरी घरको माथिल्लो तलामा थिए । छोरी खाटमुनि लुक्नुपर्छ भन्दै तल ओर्लिनन् । घर ढल्यो, उद्धार गर्ने कोही भएन र उनको ज्यान गयो ।
सचेतना कार्यक्रम सञ्चालन गर्दा थुप्रैपटक दोहोर्याइन्थ्यो, भूकम्प आइहाले ढोका, खाट या डेस्कमुनि लुक्नु तर नभाग्नू । तिनै सचेतनाको पर्वाह नगरी भाग्नेहरू बरू बचे । खाटमुनि लुक्ने तरिका अपनाउनेको ज्यान गयो । यससँगै भूकम्पबाट बच्ने त्यस्तो शैली ‘ड्रप, कभर एन्ड होल्ड अन (डीसीएएच)’कै प्रभावकारितामाथि प्रश्न उठेको छ । यद्यपि, पहिलो ठूलो भूकम्पको दिन शनिबार परेको र दोस्रोमा पहिलोकै प्रभावका कारण विद्यालयहरू बन्द थिए र त्यहाँ ठूलो क्षति हुन पाएन ।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), रेडक्रस सोसाइटीजस्ता संस्थाले पछिल्लो भूकम्पबाट अति प्रभावित ११ जिल्लामा मात्र झन्डै दुई हजार विद्यालयमा यस्तो सचेतना कार्यक्रम चलाएका थिए । त्यसबाहेक विद्युतीय तथा छापा सञ्चार माध्यमबाट समेत यसको प्रचारप्रसार गरिएको थियो । “भूकम्पबाट बच्न सुझाइएको उक्त शैली ठ्याक्कै मिल्ने गणितीय होइन, यसका पनि अवस्थाहरू थिए,” एनसेटका निर्देशक तथा विद्यालय भूकम्प सुरक्षा कार्यक्रम संयोजक सूर्यप्रसाद आचार्य भन्छन्, “तर, यसको प्रभाव मूल्यांकन गर्नु हाम्रा लागि पनि पाठ हो ।”
डीसीएएचलाई खासमा भवन कस्तो छ, मानिस कति तलामा छन् र कोठाभित्र कति जना मानिस छन् जस्ता पक्षसँग जोडेर हेरिन्छ । तर, सचेतनाका क्रममा भाग्न रोक्ने र लुक्ने कुरालाई बढी महत्त्व दिएर प्रचार गरिँदा गलत सन्देश गयो । धेरैजसोले ‘भाग्नु हुन्न’ र ‘लुक्नुपर्छ’ भन्ने मात्र बुझे । बुझाइनुपर्ने अन्य पक्ष कम प्राथमिकतामा परे ।
घरका छतहरू निकै भारी नभएको हकमा, पिलरवाला घरमा र सबैभन्दा महत्त्वपूर्ण कुरा बाहिर वा अर्को सुरक्षित ठाउँमा तुरुन्तै पुग्न नभ्याइने हकमा डीसीएएच प्रभावकारी हुन्छ । एनसेट निर्देशक आचार्य भन्छन्, “सानै भूकम्पका बेला पनि माथिबाट ससाना सामग्री खसेर हुने क्षतिबाट जोगाउन यसको भूमिका छ ।”
काठमाडौँको धापासीस्थित होराइजन अपार्टमेन्टमा तल झर्न खोज्दा एउटा इँटाले टाउकोमा लागेर एक व्यक्तिको ज्यान गएको थियो ।
इजरायलमा डीसीएएच प्रविधिलाई नै भूकम्पबाट बच्ने शैलीका रूपमा बुझ्दै विद्यालयका डेस्कहरू कम्तीमा एक टन भारवहन क्षमता थेग्ने गरी बनाइनुपर्ने नीति नै छ । जापानमा समेत घरहरू हलुका सामग्रीबाट बन्ने र भूकम्प शिक्षा राम्रो भएकाले यसलाई प्रभावकारी मानिएको छ ।
अब कस्तो सचेतना ?
भूकम्पका बेला कसरी बच्ने वा उद्धारकर्मी कसरी सक्रिय हुने भन्ने कुरा घर वा बस्ती निर्माणकै बेलाबाट जोडिन्छ । भूकम्प प्रतिरोधक मानिने घरमा कम्तीमा भित्री संरचना हलुका बनाइन्छ । त्यस्तोमा टेबल, खाट वा ढोकामुनि लुक्न सके अन्य संरचनाले ढाके पनि भित्र ओडारजस्तो ठाउँ बन्थ्यो । र, भित्र थुनिएरै सही, केही समय (उद्धार टोली नआउँदासम्म) बच्ने सम्भावना हुन्थ्यो । “ठूला भवनका हकमा हाम्रो उद्धार भोलिपल्टबाट मात्र हुन सक्यो, त्यस्तो हकमा थुनिएकै भए पनि थुप्रैको ज्यान जाने अवस्था आउँथ्यो,” नेपाल प्रहरीका सह–प्रवक्ता एसएसपी सर्वेन्द्र खनाल भन्छन्, “त्यसैले हाम्रो परिवेश हेरेर सचेतना कार्यक्रम गरिनुपथ्र्यो ।”
माटोको जडान भएको, भारी छत भएको र इन्जिनियरिङ कौशल प्रयोग नभएका भवनमा डीसीएएच उपाय सुझाउन नहुने विज्ञहरू बताउँछन् । धेरैजसो ग्रामीण भेगमा त्यही कुरा बुझिएन । समाजशास्त्री चैतन्य मिश्रका बुझाइमा दुई पाइला निस्कँदा आँगन पुगिने गाउँका लागि खाट वा टेबलमुनि लुक्ने उपाय बनेकै होइन । भन्छन्, “यो उपाय सहरी परिकल्पनामा आधारित हो, जुन सबैतिर त्यसरी प्रयोग गर्न खोज्नु नै गलत हो ।”
घरभित्र टीभी/कम्प्युटर, भाँडाकुँडा र अन्य धारिला सामग्री कहाँ, कसरी राख्ने भन्ने योजना पनि हाम्रा घरमा छुटिरहेका थिए । हरेक घर, व्यावसायिक भवन, विद्यालयजस्ता ठाउँमा सुरक्षित हुन कता जाने, त्यहाँ पुग्न कति समय लाग्छ, भीडभाड कम गराउन को कता जानेजस्ता पक्षमा थुप्रैपटक अभ्यास गरिनुपथ्र्यो, पर्छ । धेरैतिर घरबाहिर समेत सुरक्षित हुन सकिने ठाउँको अभाव पाइएको छ । त्यस्तोमा चाहिँ डीसीएएच शैली नै उपयोगी हुन्छ ।
हरेक घरको नक्सापास गर्दा अगाडि कम्तीमा पाँच फुट छाड्नुपर्ने नियम छ । त्यसमाथि सडक कम्तीमा १० फुटको भएमा अर्कोतर्फ पनि हुने घरको खाली ठाउँ जोड्दा सिर्जना हुने २० फुट खाली ठाउँ भूकम्पबाट बच्न सहज हुन्छ । एनसेटका निर्देशक आचार्य भन्छन्, “सिकाइएका सुरक्षात्मक कुरा सापेक्षित हुन् भन्ने बुझ्नु आवश्यक छ । हामीले कत्तिको बुझाउन सक्यौँ भन्ने मूल्यांकन गर्नेछौँ ।”
बचायो पनि
आफ्नो प्राविधिक सहयोगमा भूकम्पीय सुरक्षाप्रति संवेदनशील भएर निर्माण गरिएका १ सय १७ विद्यालय भने सुरक्षित रहेको एनसेटले जनाएको छ । काठमाडाँै उपत्यकासहित काभ्रे, तनहुँ, सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी, सुनसरी, उदयपुर, रसुवा, लमजुङमा रहेका त्यस्ता भवनमा अहिले भूकम्पपीडितले आश्रयसमेत लिइरहेका छन् । बिदाकै दिन भए पनि ३० शिक्षक र २६ विद्यार्थीको ज्यान गएको थियो ।
धेरै विद्यालय भवन पुराना र परम्परागत शैलीका थिए । तिनको प्रबलीकरण (रेट्रो फिट) गरिएको थिएन । “प्रबलीकरण गरिएको घरसमेत सुरक्षित हुन सक्छ भन्ने देखियो,” बालविकास मावि, आलापोट काठमाडौँका प्रधानाध्यापक छत्रप्रसाद फुँयाल भन्छन्, “देशका अन्य विद्यालयमा समेत प्रबलीकरण फैलाउन सकिने रहेछ ।”
जीर्ण विद्यालय र कक्षाकोठामा डीसीएएच शैली अपनाएको भए कति क्षति हुन्थ्यो वा सुरक्षित रहन सकिन्थ्यो भन्ने विश्लेषण आवश्यक छ । एनसेट अधिकारीहरू विद्यालय सुरु भएसँगै त्यसको विवरण संकलन गर्ने र आफ्नो कामको समीक्षा गर्ने बताउँछन् ।
घरभित्रै सुरक्षित हुन खोज्दा अड्किएका थुप्रैलाई उद्धार ढिलो हुँदा समस्या परेको थियो । पहिलो चरणमै उद्धारका लागि खटिएको नेपाल प्रहरीसँग त्यस्तो उपकरण थिएन, जसले कंक्रिटभित्र अल्झिएकालाई बचाउन सकियोस् । नेपाल प्रहरीका सहप्रवक्ता खनाल थप्छन्, “त्यस्ता उद्धारका लागि प्राविधिक रूपमा प्रहरीलाई सुसूचित पारिएको भए अझ केही बढीको ज्यान बचाउन सकिन्थ्यो ।”
वैकल्पिक उपाय, ‘ट्रयांगल अफ लाइफ’?
अन्तर्राष्ट्रिय तहमा प्रचलित दुई खाले तरिकामध्ये नेपालमा डीसीएएच मात्र प्रयोगमा छ । अर्को तरिकाचाहिँ ‘ट्रयांगल अफ लाइफ’ हो । घरको छत खस्दा भित्र भएको फर्निचरको उचाइका कारण छतको बिमका रूपमा काम गरी बीचमा त्रिकोणाकारमा सुरक्षित ठाउँ खडा गर्छ, जसले अन्य वस्तु खसिहालेमा समेत जोगाउँछ (हेर्नूस्, तस्बिर) । यो तरिकाले खाट वा टेबलमुनि लुक्नुभन्दा पनि घरभित्र रहेको अग्लो फर्निचरको छेउमा कुप्रिएर बस्नुपर्छ भन्छ । अमेरिकी रेडक्रस, युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेजस्ता संस्थाले भने यो शैलीलाई ‘गलत व्याख्या गरिएको उपाय’ भन्दै आलोचना गरिरहेका छन् ।

0 comments:
Post a Comment