Recent

Girl isolated landslide, went to read the mind reading?


खलंगा: केही दिनअघिदेखिको साउने झरी १० गतेको दिन निकै बाक्लिएको थियो। प्युठान फोप्ली गाविस ३ की छिमा पुनमगर आफ्नै घरमा सुतेकी थिइन्। उनका बुबा, आमा र दुई बहिनी घरमुनिको गोठमा सुतेका थिए। राति कतिबेला पहिरो आयो, उनले थाहा पाइनन्।


गोठ पहिरोले लग्यो। गोठमा सुतेका उनका आफन्त सबै पुरिए। उनले केही थाहा पाइनन्। अर्को दिन गाउँमा हल्लाखल्ला भयो। सबै गाउँले रुनकराउन थाले। ’पहिरोले मान्छे लग्यो, मान्छे मरे’ भन्ने धेरै बिलौना उनले सुनिरहेकी थिइन्। उनलाई एउटै चिन्ता थियो, आमा, बा र बहिनीहरू कहाँ गए होलान्?

दुई दिनपछि प्रहरी र उनका छिमेकी गाउँलेले लहरै चारवटा लास उनको घरअघि सुताए। मुख हेरिन्, उनका बा थिए, दुई बहिनीहरू थिए। आमा भने थिइनन्। ती लास विभिन्न ठाउँमा भेटिएका थिए। त्यसपछि मात्रै उनलाई थाहा भयो, पहिरोले उनको गोठ र आमा, बा, बहिनीहरू सबै बगाएछ। आमा अहिलेसम्म बेपत्ता छिन् पहिरोमा पुरिएर। अरू आफन्तको लाससम्म देखिन् छिमाले, आमाको त लास पनि देख्न पाएकी छैनन्।

’खै त्यो राति त मैले केही थाहा पाइनँ, के भयो के ? अर्को दिन गाउँका सबै मान्छे रुँदैकराउँदै थिए’, १६ वर्षीया छिमा पुनले भनिन्, ’दुई दिनपछि बल्ल बा र बहिनीहरूको लास देखें। आमा भेटिनुभाछैन।’ उनको घर भने पहिरोले छोएन । तीन वर्ष मलेसियामा बसेर गत वर्षको पुसमा घर फर्किएका उनका बुबाले अब बन्न थालेको नयाँ घरमा सर्ने योजना बनाइरहेका थिए। यही दसैंमा उनीहरू नयाँ घरमा सर्दै थिए। तर सबै पहिरोले लग्यो। अब उनी मात्रै बचिन्।

’अब फर्केर त्यो गाउँमा किन जाने हो र ? पढ्न मन छ, काँ बसेर पढ्ने ? घरमा कोही छैनन्, आफन्त पनि कोही छैनन्’, प्युठान जिल्ला महिला तथा बालबालिका कार्यालयले सञ्चालन गरेको ’सेफ हाउस’ मा शरण लिइरहेकी छिमाले भनिन्, ’यतै बसेर पढ्न पाए ठूलो मान्छे बन्ने थिएँ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment