Recent

Baikuntha Manandhar


त्यो बेलाको त कुरै नगरौं । पहिलो ओलम्पिक खेल्दा त हाम्रो तयारी शुन्य नै थियो । स्वर्गिय लक्ष्मणविक्रम शाह र मधुशमशेर राणाले मलाई बिना शुल्क प्रशिक्षण गराउनुभएको थियो । तर त्योबेला हाम्रो भौतिक पुर्वाधार र आर्थिक लगानी नै थिएन । तर पनि ओलम्पिकमा सहभागी हुन पाउँदा मलाई एकदमै खुसी लागेको थियो ।
रंगशाला भर्खरै बन्न लागेको थियो र खेलाडीलाई कुनैपनि सुविधा थिएन् । तर १ करोड मान्छेबाट छानिएर मैले ओलम्पिकमा प्रतिनिधित्व गर्न पाउनु कम्ति खुसीको कुरा थिएन् । त्योबेला एथलेटिक्स भनेको ठूलाबडाको लागि मात्रै थियो । ओलम्पिकको तयारीको लागि खेल्दै गर्दा त्योबेला खानेपानी पनि थिएन । दौडिसकेपछि नजिकैको चिया दोकानमा गएर पानी मागेर खानुपथ्र्यो । डाइट त निकै टाढाको कुरा थियो ।  हामीजस्ता निम्नवर्गको लागि खेल टाढैको कुरा थियो ।  त्योबेला जितबहादुर केसीलाई हराउनु भनेको फलामको च्यूरा चपाउनुसरह थियो । जितबहादुरलाई हराएर म क्यानडा गएँ ।
कुनै जनजाती र धर्मको नभइ सारा नेपालीको प्रतिनिधित्व गरेकोले क्यानडा टेक्दा मेरो छाती गर्वले फुलेको थियो । त्यहाँ हरेक पाइलामा मेरा खुट्टा थिएनन् नेपाली हिँडेका थिए । त्यहाँ त विश्वका हरेक मान्छेले नेपालका खेलाडी कसरी हिँड्छ, के लगाएको छ, कहाँ जान्छ भन्ने कुरा हेरिरहेका थिए नि ।
बिबिसीले भन्यो–नेपालीहरु  विश्वकै उत्कृष्ट हौं
क्यानडामा मलाई बिबिसी र सिएनएनले अन्तरवार्ता लिएका थिए । पत्रकारले मेरो आनिबानी र लवाइखवाइ हेरेपछि जिल परें । यति गरीब देशबाट आएका मान्छे पनि कति हँसिला र फुर्तिला भनेर उनीहरु अचम्ममा परे ।
सबै कुरा गरेपछि बिबिसीका पत्रकारले साँच्चै खेलाडी भनेको तिमीहरु हौ भने । उनीहरुले भन्थे, यति धेरै सुविधा पाउँदा पनि क्षमता देखाउन नसक्ने हाम्रा खेलाडी त खास खेलाडी नै होइनन् ।
जहाँ घुमेपनि  खेलको लागि नेपालजस्तो त कुनै ठाउँ नै छैन
म खेलको क्रममा संसारका निकै विकसित देशमा गएँ । जहाँ हामीले कल्पनै नगरेका सुविधा थिए । विकासले सीमा नाघेको थियो । म न्युयोर्कमा गएको थिए । ट्वीनटावर चढेँ, धेरै आधुनिक थलोमा घुमेँ, दिनभरी रमाएँ तर बेलुका कोठामा फर्कंदा लाग्यो नेपाल जस्तो त ठाउँ नै छैन ।
त्यहाँको सबै कुरा हेरेपछि मैले मेरो देश त स्वर्ग नै देखेँ । त्यहाँ त जिन्दगीको सुरक्षा नै देखिन मैले त । मान्छेलाई कमाउन मात्रै चासो छ अरु केही छैन । त्यो भन्दा त नेपाल कति राम्रो, राम्रो नि ।
विदेशीले भने ‘हाम्रो एउटा खेलाडीको खर्च बराबर तिमीहरुको देशकै खर्च पनि छैन’
मस्को ओलम्पिकसमा खेल्दा त्यहाँ धेरै विदेशीसँग चिनजान र घुलमिल हुने अवसर जुट्यो । हाम्रो हालत देखेर उनिहरु छक्क परे । हाम्रा कपडा र देशले गरेको लगानी सुनेर उनीहरु मरीमरी हाँस्थे । ओलम्पिकमा नेपालले गर्ने खर्च र खेलाडीलाई दिने सुविधा देखेर उनीहरुले ढुक्कसाथ भन्थे ‘हाम्रो देशमा एउटा खेलाडीलाई दिने जति रकम पनि नेपालले पुरै ओलम्पिकमा छुट्याउँदो रहेनछ ।’
दिनदिनै डाइट खाएका छन्, घरमै स्विमिङपुल र व्यायाम गर्ने ठाउँ छ, भनेजतिका सेवा सरकारले दिँदा पनि उनिहरु अझै गुनासो गर्थे, तर हाम्रो हालत हेर्नुस त । हाम्रो लागि कहिल्यै नदेखेको सुविधा पनि उनीहरुको लागि नगन्य हुँदो रहेछ ।
रेकर्ड तोडेपनि नेपालीले पचासे भने
मैले ओलम्पिकका पदक नजितेपनि राष्ट्रिय रेकर्ड राखेर नेपाल आएको थिएँ । मेरो रेकर्ड अहिलेसम्म पनि कसैले तोडेको छैन । समग्रमा म ५० औं स्थानमा थिएँ । तर अहिलेजस्तो मिडिया पनि नभएर होला, नेपालीले कुरा बुझेनन् ।
उनीहरुले मेरो रेकर्ड थाहा पाएनन् मात्र ५० औं स्थानमा परेको भन्ने कुरा थाहा पाए । मलाई धेरै पछिसम्म पनि बाटोबाटोमा ओइ पचासे भनेर बोलाउँथे ।
यस्ता साइन्टिफिक धाकले केही हुँदैन
खेलाडीलाई दिने सुविधा र उनीहरुको प्रशिक्षण पहिले भन्दा त धेरै राम्रो छ । तर बाहिरको हेरेर यिनीहरुले जुन साइन्टिफीक प्रशीक्षण भनेका छन् नि त्यो त मलाई पटक्कै चित्त बुझेको छैन् ।
किनकी केही सुविधाबिनै ३० वर्ष पहिले  जितबहादुर केसी र मैले दौडेको रेकर्ड तोड्न सक्दैनन् भने यस्ता साइन्टिफीक प्रशीक्षणले के गर्‍यो त ? हामीसरह दौडिएपछि के को साइन्टिफिक के को डाइनामिक प्रशीक्षण त ?
मैदानमा खेलाडीले खुट्टा कमाउँछन्
हाम्रा पालामा भन्दा निकै धेरै सुविधा हुँदा पनि अहिलेका खेलाडीले किन खेल्न सकेनन् म त छक्क पर्छु । हामी त मैदानमा जाँदा हाँसीखुसी जान्थ्यौं ।
तर अहिले त मैदानमा जाँदा पनि रुञ्चे अनुहार लगाएर जान्छन् । के खानु हुन्छ, कसरी खेल्ने, बाहिरका खेलाडी कस्ता हुन्छन् हामीसँग केही सल्लाह लिन पनि आउँदैनन् ।
अब यसरी चल्दैन
हामीले गाली गर्नु त कसैलाई छैन । तर सबैभन्दा पहिले त खेलाडीमै म देशका लागि केही गर्छु भन्ने भिष्म प्रतिज्ञा हुनैपर्छ । म खेलेरै विश्वचर्चित हुन्छु भन्नुपर्‍यो । यता जागिर जोगाउनको लागि ओलम्पिकमा गएर मात्र भएन । घरपरिवार, दसैँतिहार केही नभनी दृढ भएर लाग्नुपर्‍यो । तर उनीहरुलाई सरकारले पनि साथ दिनुपर्छ ।
राजेन्द्र भण्डारी जस्ता प्रतिभावान खेलाडी पनि आए तर राजनीतिले उनीहरुलाई बिगार्‍यो । हामीजस्ता जानेबुझेका सँग ज्ञान लिनुपर्‍यो । कितावका साइन्टिफिक आइडियाले केही पनि हुँदैन । सरकारले पनि राखेपमा राजनीतिक दलका कार्यकर्ता भर्ती गर्न बन्द गर्नुपर्‍यो । पर्याप्त बजेट छुट्याउनुपर्‍यो । कांग्रेसको सरकारमा एउटा एमालेको सरकारमा अर्को खेलाडी र पदाधिकारी हुन्छ यहाँ । यसरी त कहिल्यै केही हुनेवाला छैन ।
एउटा प्रतिष्पर्धामा  नजिता नराम्रो आएपछि अर्कोमा सुधार्न त सरकार चनाखो हुनपर्ने हो नि । तर सरकारको पारा बाह्रैमास उस्तै पो छ त । देशभरबाट नयाँ नयाँ खेलाडी छान्नुपर्‍यो, सबै खेलाडी फिल्टर गर्नुपर्‍यो, वर्षौंसम्म क्याम्पमा राख्नुपर्‍यो ।
तर यहाँ त अन्तर्राष्ट्रिय प्रतियोगिताको अघिल्लो दिन ड्रेस किनेर अभ्यास गराइन्छ । खेलाडी पनि विदेश जाने भनेपछि यसो आए, खुर्रर रंगशाला घुमे अनि गए । खान पनि ठिक्क खानुपर्छ । मिठो चिज भयो मुखले त माग्छ नि, तर खेलाडी भएपछि मनले कन्ट्रोल गर्नुपर्छ ।
(बैकुण्ठ मानन्धरसँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित । मानन्धरले ४ वटा ओलम्पिकमा  आफ्नो क्षमता देखाइसक्नुभएको छ । अहिले  ६४ वर्ष पुग्नुभएका मानन्धरले नेपाली एथ्लेटिक्समा एकछत्र राज गर्नुभएका जितबहादुर केसीलाई पनि टक्कर दिनुभएको थियो । उहाँले केसीसँगै सन् १९७६ मा क्यानडाको मोन्ट्रियलमा भएको २२ औं ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नुभयो । पहिलो सहभागितामा ओलम्पिकमा पदक नजितेपनि १९८७ मा राखेको कीर्तिमान कसैले तोड्न सकेका छैनन् । )
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment