Recent

Women in Nepal soon pradhanamantrih Deuba


काठमाडौँः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राष्ट्रपति, प्रधान न्यायाधीश र सभामुख महिला भएको परिवेशमा चाँडै प्रधानमन्त्री पनि महिला हुने बताएका छन् । 

पार्टीको भ्रातृ संस्था नेपाल महिला सङ्घले तेस्रो महाधिवशेनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् । 

संविधानसभाबाट संविधान जारी भएपछि महिलाका हक अधिकार बढेको बताउँदै उनले भने, ‘छिट्टै हुने स्थानीय निकायको निर्वाचनमा पनि संविधानले महिलाको बढी प्रतिनिधित्व हुने प्रावधान गरेको छ ।’

संविधान कार्यान्वयन मुलुकको प्रमुख चुनौती भएको बताउँदै सभापति देउवाले त्यसका लागि स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन हुनु अपरिहार्य रहेको विचार व्यक्त गरे । 

निकट भविष्यमा हुने स्थानीय निकायको निर्वाचनमा लोकतन्त्रको रक्षा गर्न र संविधान कार्यान्वयन गर्न काँग्रेसले जित्नैपर्ने बताउँदै उनले त्यसमा महिला सङ्घलगायत भ्रातृ संस्थालाई सक्रिय रुपमा लाग्न निर्देशन दिए । 

कार्यक्रममा काँग्रेस नेतासमेत रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकार गठनका बेला सत्तासाझेदार दलसँग भएका सहमतिका आधारमा संविधान कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन गर्नुु अपरिहार्य रहेकामा जोड दिँदै उनले सबै तहका निर्वाचनलाई केन्द्रीय मुद्दा मानेर अघि बढ्न महिला सङ्घलाई सुझाव दिए । 

कार्यक्रममा पार्टीका कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले पार्टीभित्रको आन्तरिक निर्वाचनमा कसैको हारजित नहुने बताउँदै नयाँ निर्वाचित नेतृत्वले सबैलाई मिलाएर अघि बढ्न सकेमात्र सफल हुने धारणा व्यक्त गरिन् । 

कार्यक्रममा पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलाले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै नयाँ काम गर्न नेतृत्वको काँधमा थप जिम्मेवारी थपिएको बताए । 

कार्यक्रममा महिला सङ्घका नवनिर्वाचित अध्यक्ष उमा रेग्मी, निवर्तमान अध्यक्ष डा डिला सङ्ग्रौला, पूर्वसभासद् उर्मिला थापामगर लगायतले महिलाका लागि संविधानले व्यवस्था गरेका हकअधिकार कार्यान्वयनमा सबै एकजुट भएर लाग्नुपर्ने विचार व्यक्त गरे । रासस
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment