Will not be sent abroad for special treatment
काठमाडौँः स्वास्थ्यमन्त्री गगनकुमार थापाले देशका सबै विशिष्ट व्यक्तिले स्वदेशमै अस्पतालमा स्वास्थ्योपचार गर्नुपर्ने बताएका छन् ।
चाहविलस्थित गोपीकृष्ण नगरमा शनिबार नवनिर्मित हरियाली पार्कको उद्घाटन गर्दै उनले विशिष्ट भनिएका व्यक्तिका लागि मात्र भनेर राज्यले उपचार खर्च छुट्याउने हो भने सो भेदभावपूर्ण काम हुने बताए ।
उनले भने, ‘राज्यका लागि सबै नागरिक बराबर हुन्, कसैलाई भने सरकारले भारत, अमेरिका, सिङ्गापुर आदिमा उपचार गर भनेर पैसा दिने तर जनताले भने घर–खेत बेचेर उपचार गर्नुपर्ने, अब यो हुन सक्दैन ।’
स्वास्थ्यमन्त्री थापाले विशिष्ट व्यक्तिहरुको स्वदेशकै अस्पतालमा उपचार गराउने व्यवस्था गराउन अस्पतालमै ‘विशिष्ट कक्ष’ बनाउन सकिने अवधारणा अघिसारेका छन् ।
कार्यक्रमा सांसद रामेश्वर फुयाँलले देशको स्वास्थ्य र वातावरणीय क्षेत्रको सुधारका लागि प्रतिपक्षमा रहेर भए पनि काम गर्ने बताउँदै उपत्यकामा मात्र दुई हजार वर–पीपल रोप्ने आफ्नो योजना सुनाए ।
सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले धोवी खोला करिडोरको काम वर्षायाम सकिएपछि अघि बढ्ने जानकारी दिए ।
सामुदायिक हित विकास समितिको पहलमा निर्माण गरेको हरियाली पार्क करिब १९ लाख ३७ हजारको लागत लागेको बताइएको छ ।
काठमाडौँ महानगरपालिका, सांसद विकास कोष आदिको सहयोगमा बनेको पार्कले २६ आना जग्गा क्षेत्र ओगटेको समितिका अध्यक्ष डम्बरबहादुर श्रेष्ठले जानकारी दिए । रासस

0 comments:
Post a Comment