Recent

Where is that impedes people to go abroad? I am come to eight years abroad


मकवानपुरको मनहरी गाविस ३ पल्लो रमनटारकी ३५ वर्षिया सरस्वती परियारका आठ वर्ष विदेशमा बिते । २३ वर्षको उमेरमा परदेश लागेकी उहाँले जीवनको उर्वर समय कुवेतको सुलहीबिखातमा बिताउनुभयो । आठ वर्षमा एक पटक छुट्टिमा घर आउनुभयो ।
चार वर्षअघि नेपाल फर्किएपछि उहाँको दिन हिजोआज सामाजिक काम गरेर बित्छन् । पल्लो रमनटारमा रहेको घरैमा भेटिएकी सरस्वती परियारले भन्नुभयो ‘गाँउघरमा बसेपछि समाजसेवी भन्छन्, एउटाले अर्कोले बोलाउँछन । कुद्दाकुद्दै बितिरहेको छ । शनिबारको दिन पनि फुर्सद हुँदैन ।’
आप्रवासी महिला सूचना डेस्क सञ्चालन समिती मनहरी मकवानपुरकी सचिवसँगै किशोरी शिक्षाको सहजकर्ताका रुपमा पनि उहाँले जिम्मेवारी निर्वाह गर्नुपर्छ । आप्रवासी सञ्जालले गाउँ विकास समितिको कार्यालय परिसरमा सूचना डेस्क सञ्चालन गरेको छ । शनिबारबाहेक अरु दिन उहाँलाई वैदेशिक रोजगारीमा जान चाहने युवा तथा उनीहरुको परिवारका सदस्यलाई सूचना दिइरहेको बेला त्यही डेस्कमा भेटिन्छ । र साँझ चाहिँ किशोरी शिक्षाको कक्षामा ।
गरिखाने ठाउँ नभएपछि वैदेशिक रोजगारीमा
सरस्वतीको परिवार मकवानपुरको सरिखेत पलाँसेबाट झण्डै १५ वर्ष अघि पल्लो रमनटारमा बसाईं सरेर आएको हो । त्यसो त पल्लो रमनटारमा बस्ती बसेको पनि १५ वर्ष जति मात्रै भयो । २०५९ सालमा गएको बाढिपहिरोले विस्थापित मकवानपुरकै सरिखेत पलाँसे, काँकडा, भार्ता, राक्सिराङ लगायतका गाविसबाट आएका धेरैजसोको बसोबास त्यहाँ रहेको छ ।
जंगल फाँडेर नयाँ वस्ती बसाएका उनीहरुका लागि त्यहाँ रोजगारीका प्रर्याप्त अवसर थिएन । भर्खरै आवादी गरिएको ठाउँमा गरिखाने ठाउँ पर्याप्त जमिन हुने कुरो भएन । त्यसैले त्यहाँका प्रायःजसो घरका महिलासमेत रोजगारीका लागि विदेश जान थाले । सुकुम्बासी बस्तीमा गरिखाने ठाउँ नभएपछि कोही नजिकैको शहरहरु नारायणगढ, हेटौंडातिर रोजगारी खोज्दै पुगे ।
एसएलसीमा दुईपटक असफल भएपछि सरस्वतीले पनि रोजगारीका लागि विदेश जाने निधो गर्नुभयो । फेरि एसएलसी परीक्षा दिन आर्थिक अवस्थाले भ्याएन । आर्थिक अवस्था नाजुक भएकै कारण उहाँका दाजुभाइले पनि विद्यालयभन्दा माथि लेखपढ गर्न पाएनन ।
फर्केपछि आफ्नै भर
पल्लो रमनटारका प्रायःजसो घरका महिला रोजगारीका लागि विदेशमा छन् । कतिपय सरस्वती जस्तै फर्केर आए र घरजम गरेर बसेका छन् । कतिपय भने अहिलेसम्म फर्केर आएका छैनन, न त परिवारसित सम्पर्कमा नै छन् ।
विदेशबाट फर्केपछि सरस्वतीले चार कठ्ठा जग्गा किन्नुभएको छ । झण्डै तीनलाख रुपैयाँ खर्च गरेर त्यति जग्गा उहाँले जोड्नुभएको हो । विदेशमा आठ वर्ष काम गर्दाको यो कमाई पर्याप्त होइन । तर आर्थिक रुपमा नभए पनि सामाजिक रुपमा चाहिँ बलियो भए जस्तो लाग्छ उहाँलाई । कमाईका हिसाबले पनि विदेशमा भन्दा स्वदेशमा नै भएजस्तो लाग्छ । ‘विदेशमा महिनामा एकपटक पैसा आउँछ । त्यै भएर धेरै देखिन्छ । यहाँ पनि कमाई त भइरहेकै हुन्छ ।’
विदेश जान दलालको भर
विदेश त जाने, तर कसरी ? सरस्वतीलाई यसबारे केही ज्ञान थिएन । दलालले कुवेत जान पाइन्छ भने पछि उहाँ दलालकै भर पर्नुभयो । उहाँले भन्नुभयो ‘त्यो बेलामा कहाँ गएर कसरी कमाउने भन्ने मात्रै ध्यान थियो । काम गर्न, खान लाउन पाइन्छ भनेपछि मान्छे गइहाल्छन् नि ।’
विदेश जाने वैधानिक प्रक्रिया थाहा नभएपछि उहाँले दलालको भर पर्नुपर्ने भयो । त्यसैले भारतको बाटो हुँदै अवैधानिक रुपमा उहाँ कुवेत जानुभयो । एकजना छिमेकी महिला पनि उहाँसँगै रोजगारीका लागि कुवेत गएकी थिइन् । विदेश पुगेपछि दलालले नेपालमा भनेजस्तो भएन् । काम त घरकै गर्नुपर्ने । तर तलब नेपालमा दलालले भने भन्दा कम ।
दलालले ४० कुवेती दिनार कमाई हुन्छ भनेपनि कुवेतमा सरस्वतीको कमाई ३० दिनार मात्रै हुन्थ्यो । अर्कातिर काम गर्न पुगेको घरका बच्चा अलि हुर्किएका थिए । अर्थात भनेको नटेर्ने, उल्टै गाली गर्ने । भनेको जति तलब नदिने र घरका बच्चाले पनि हेप्न थालेपछि सरस्वतीले एक महिनामा नै अर्को घर परिवर्तन गर्नुभयो ।
काम अनुसार घरबेटीको व्यवहार
नेपालमा हरियोपरियो देखिरहेकी सरस्वतीलाई सुरु सुरुमा खाडीको बालुवाले अत्यायो । काम गर्न पुगेको घरका मानिससित दोहोरो कुराकानी गर्न नसक्दा नेपाल फर्कौं भन्ने लाग्यो । खाना खाने समय र तरिका पनि फरक ।
समय बित्दै गयो । सरस्वतीलाई घरबेटीले पनि परिवारको सदस्य जस्तै व्यवहार गरे । एकै ठाउँमा लामो समय काम गरेपछि बच्चाहरुले आफ्नो बुबाआमा भन्दा उहाँलाई माया गर्थे । बच्चाका बुबाआमाले अह्राएको नमान्ने अनि उहाँले अह्राइदिनु पर्ने ।
सरस्वतीलाई लागेको छ, मानिस राम्रो रुपरंगले भन्दा पनि कामले हुन्छ । विदेशमा आफूले जस्तो काम ग¥यो त्यसै अनुसारको व्यवहार पाएको उहाँको अनुभव छ । ‘सबै घरबेटी मूर्ख हुँदैनन । यिनले भाषा जानेको छैन भनेर माफ पाइन्छ । राम्रो काम गर्दा घरबेटी खुशी हुन्थे । काम बिगार्दा रिसाउँथे । खुशी हुने र रिसाउने कारण हाम्रो कामै त रहेछ नि । ‘सुरु सुरुमा त उनिहरुले पनि विचार गर्ने रहनेछन् । कत्तिको इमान्दार छन भनेर । लप्पनछप्पन गर्छ कि भनेर ।’
अन्त्यमा,
रोजगारीका लागि विदेश बसेर फर्किएपछि र हिजोआज गाउँघरमै सामाजिक काममा व्यस्त हुन थालेकी सरस्वतीको सुझाव छ :
कुवेतमा घरेलु काममा नजाउ भन्न त सक्दिन । किनभने त्यहाँ जान खोज्नेको आवश्यकता हामीले पूरा गर्न सक्दैनौं । तर विदेश जानुभन्दा आफ्नै देशमा केही न केही काम गरेको राम्रो ।
एउटा ठेलागाडा बनाउनुस् । चिया बेचे पनि विदेश जानु भन्दा फाइदा हुन्छ । सानोतिनो समुह बनाएर सहकारीबाट ऋण लिन सकिन्छ । त्यसबाट पनि लगानी गर्न सकिने भयो । मैले आप्रवासी सूचना डेस्कमा बसेर विदेश जान खोजिरहेकाहरुलाई यही कुरा भनिरहेकी हुन्छु ।
तर मैले भनेको कुरा धेरैले सुन्दैनन । देखासिकीका भरमा अरुले यसरी कमाए, हामी पनि त्यसरी नै कमाउँछौं भन्ने उनीहरुलाई लाग्छ । त्यहाँ गएर कति दुःख गर्नुपर्छ भन्ने कुरा चाहिँ मान्छेले नसम्झिने रहेछन् । विदेश जाने नै हो भने पहिले घर परिवारसँग सल्लाह गर्नुपर्छ । प्रक्रिया पूरा गरेर आफ्नै देशको विमानस्थलबाट मात्रै विदेश जानुपर्छ ।
विदेशबाट म फर्केर आएको बेला मेरै अगाडि नभने पनि अरुसँग कुरा गर्दा हामीलाई मान्छेले निच सोच्थे । विदेश जानेहरुलाई यौन व्यापार गरेर आएको सरह ठान्थे । तर अरुले के भन्छन, मलाई वास्ता लाग्दैन ।
विभिन्न संघसंस्थाहरुले वैदेशिक रोजगारीको वास्ताविकताका बारेमा जनचेतनाका लागि काम गरेकाले गाउँघरमा हिजोआज भने त्यस्तो छैन । कुरा काट्नेहरुलाई पहिले केही भन्न सक्दिनथिएँ । अहिले कसैले औंलो ठड्याए भने ‘विदेश गएर बिग्रिन्छ भन्ने कहाँ छ र ? म पनि आठ वर्ष विदेश बसेर आएकी हुँ’ भनेर जवाफ दिइहाल्छु नि ।
विदेशमा हामी पैसा कमाउन गएका हौं । हामीले काम गरेको पैसा लिन नमिल्ने ? हामी घरबाट निस्किहाल्यौं, जे गरे पनि कसले देख्छ र ? भन्नेहरुलाई त कसले रोक्न सक्छ र ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment