Recent

"What is the nationality? Guise of flag bearing or walking


यो शव्दको न परिभाषा दिन सजिलो छ न व्याख्या गर्न सजिलो छ न बुझ्न सजिलो छ न बुझाउननै । यो कुनै ठोस कुरा हो वा एक अनुभूति ? खानेकुरामा हुन्छ कि लाउने कुरामा हुन्छ वा गर्ने काममा हुन्छ ? कसैले यसो गरेमात्र राष्ट्रवादी वा राष्ट्रियता जोगिन्छ भनेर किटान गर्न सक्दैन । सरलरुपमा भन्नुपर्दा जव आफ्नो देशले कुनै खेल खेल्दा जनताहरु एकजुट भएर जितोस् भनेर कामना गर्छन, सीमाना मिचिँदा मन दुखाउँछन्, कुनै नेपालीले कतै गएर केही राम्रो काम गर्दा यो मेरो देशको भनेर गर्व गर्छन् सायद यस्तै यस्तै होला राष्ट्रियता भन्ने कुरा ।
के यतिले मात्र राष्ट्रियता जोगिन्छ त ? झण्डा बोकेर वा ओढेर हिँडदैमा, छिमेकी देशलाई गाली गर्दैमा, नेपाली पोसाक लाएर, नेपाली खाना खाएर, नेपाली गीत गाएर आदि इत्यादि के गरिराख्यो भने जोगिन्छ ? के हो राष्ट्रियता ? देशमा बसेर मात्र राष्ट्रवादी भईन्छ कि विदेशमा बसेर पनि भईन्छ ? राष्ट्रियताको सिमाना जमिनमा हुन्छ कि हृदयमा ? कहाँनेर हुन्छ ? कसरी बन्छ मुलुक ? कसरी जोगिन्छ देश ? पुर्खाको विरासत मात्र बोक्ने कि आफ्नो वेग्लै इतिहास पनि रच्ने ? खुकुरीको गाथा मात्र गाउने कि विकासको कथा पनि लेख्ने ? रगतले मात्र पोत्ने कि कलमको मसीले पनि लेख्ने ? हामी के मा चुक्यौं ? पहिला कहिल्यै झुकेनौं भनेर हिडिराख्ने कि अब शिर ठाडो पारेर हिंडन योग्य पनि बन्ने ? खोक्रो र बोक्रो राष्ट्रवादको नारा लाएर र अरुको मात्र बुइ चढेर अग्लो हुने सपना कति दिन देख्ने ? अरु कसैले बनाइदेला र समृद्ध हांैला भनेर कहिलेसम्म कुर्ने ? २१ औ शताव्दीमा आएरपनि सिमानाको लागि कति रगत तताईराख्ने ? आफ्नो खुटटामा उभिन हामीलाई कस्ले रोक्यो ? यो देश बन्न नसक्नुमा नेताको कति दोष र जनताको भागमा कति पर्यो ? हाम्रो संस्कृतिमाथि भइरहेको आक्रमण र हस्तक्षेप रोक्न हामीले चाहिँ के प्रयास गर्यौं ? वर्षको एकदिन टुँडिखेलमा झ्याली पिटेर तमाशा देखाउँदैमा के हाम्रो भेषभुषा र सँस्कृतिको जगेर्ना हुन्छ ? जुनदिन आफ्नो धर्मको आफ्नो जातको चाडपर्वमा अर्को धर्म, सँस्कृति, पर्व आदि मान्ने  छिमेकीको घरमा पनि निम्तो पुग्छ एकआपसमा मिलेर मनाउँछौं, हाँसखेल गर्छौ त्यो दिन बल्ल जोगिएला । ठूलो हदयले एकअर्काको अस्तित्व किन न स्विकार्ने ?

हामीलाई आयातित सँस्कृति मनाउन पाउँदा गर्व लाग्छ, पहिरन लाउनपाउँदा शान लाग्छ । आफ्नो पहिरन लगाउन लाज लाग्छ । आफ्ना उत्पादनहरुलाई हेला गर्छौ । हाँडीमा मकै भटमास भुटेर खान लाज लाग्छ । मम, बर्गर र पिज्जा खान लाम लाग्छौं । हाम्रो जिब्रो किन यस्तो सौखिन भयो ? लोकगीत गाउन लाज लाग्छ । ढिडो खान सरम लाग्छ । रत्यौली नाच्न सरम लाग्छ । मादल बजाउन सरम लाग्छ । सारंगी रेटन सरम लाग्छ । आमाबुवा भन्दा पाखे भइन्छ । आफनो भाषा विगारेर अंग्रेजी बोल्दा आधुनिक लाग्छ । तोतेबोली बोल्ने छोराछोरीले स्कूल पठाएको महिना दिन नपुग्दै अंग्रेजी बोल्न थाले नाक फुलाउँछौ । आलु जमिनमुनी फल्छ कि रुखमा सिकाउन र देखाउन जरुरत ठान्दैनौ । अरुको देखासिकी गरेर आफूलाई सभ्य देखाउन मन लाग्छ  । हामीलाई हलो काटेर मुग्रो बनाउँदैछौ हेक्का छैन । पुर्खाको नासो मासिँदै छ होश छैन । एकदिन हामी न हामी जस्तो देखिन्छौं न अरुजस्तो देखिन्छौं त्यतिबेला बल्ल आफ्नो अस्तित्वको चेत आउनेछ तव ज्या सबै सकिएछ त भन्नु बाहेक केही विकल्प रहनेछैन । आजको विश्वमा दास बनाउने भनेको साँस्कृतिक आक्रमण गरेर हो बजारीकरण गरेर हो खै हामीले बुझेको ? हामी आधुनिक हुने बहानामा नक्कली छाला ओढेर आफ्नो पहिचान छोप्दैछौं ।

कति कुरा भत्काउँदैछौं । कति कुरा वेवास्ता गर्दैछौं । आफूसँग कस्तुरी भएको चेतना छैन कहाँबाट वास्ना आयो भनेर अन्त अन्त सुँघेर बरालिदैछौं देश सिमानाभित्र हैन आत्मामा हुन्छ । आफ्नो धरातल भुलेर आकाशमा उड्दैछौ । इतिहासको प्राचिन ऐनामा देखिने पुर्खाको अनुहार सम्झेर राष्ट्रियता कतिदिन टिकाईराख्ने ? हामी नेपाली जस्तो देखिनै छोडिसक्यांै । बलभद्र र भक्ति थापाको नाममात्र लिएर अवको राष्ट्रियता जोगिन्न । खुकुरी र पुर्खाको वीरताको दन्त्य कथा कति गाउने ? खै हामीले नयाँ वीरताको गीत लेखेर भावी सन्ततिलाई सुनाउन सकेको ? नयाँ नयाँ अक्टरलोनी र जिलेस्पीहरुले दिनप्रतिदिन हामीलाई आक्रमण गरिराखेका छन्, खै हामीले प्रतिकार गरेको ? देशभित्र बसेर के गर्यौं बाहिर गएर के गर्यौ ?  खै हामीले लडेको ? युद्धको स्वरुप फेरिएको छ । हतियार फेरिएको छ । पहिला जमिनबाट प्रहार हुन्थ्यो अहिले वायुमण्डल र अन्तरिक्षबाट हुन्छ । हामीलाई आधुनिकताको ईन्जेक्सन हालेर लठ्ठ बनाइएको छ र नशामा मदहोस भईरहेछौं । आफू केही नगर्ने जेपरेपनि अरुसँग लम्पसार पर्न जाने अनि हेपे भनेर चित्त दुखाएर जोरी खोजेर हुन्छ ? एकदिन चिर निद्राबाट झल्याास्स व्यूझिनेछौ तर धेरै अवेर भईसकेको हुनेछ ।  नयाँ संविधानमा किन कसैले लेखौं भनेर भन्न सकेन कम्तिमा हप्ताको एकदिन भएपनि आफनो संस्कृति अनुसारको पहिरन लगाएर कार्यालय जाउँ, विद्यालय जाउँ, बाजागाजा बजाउन सिकाउँ, गीत गाउन सिकाउँ ।  ताकि सन्ततिले पनि पहिचान नभूलुन् । पछिसम्म जोगाऊन् ।

यो देशलाई पुग्ने बिजुली निकाल्ने ल्याकत के यहाँका लगानीकर्ताको छैन र ? कसले दिइरहेको छैन काम गर्न ? देशको जमिन बाँझो राखेर आयात गर्नुपर्ने अवस्था किन आयो ? आफ्ना नागरिक खाडीमा निर्यात गरेर तिनका रगत पसिनाले अर्थतन्त्र धान्नुपर्ने अवस्था किन आयो ? हामीले गतिलो नेता जन्माउन र चिन्न किन सकेनौं ? बेलैमा फेर्न किन सकेनौं ? आत्मनिर्भर हुने बाटो किन रोजेनौ ? कसले रोक्यो किन पहिचान गरेनौ ? किन विरोध गरेनौं ?

एकफेर सबैले मुटुमा हात राखेर सोचौं हामी कहाँनेर चुक्यौं, हामी कहाँनेर झुक्यौं ?
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment