The Corporation plans to purchase two large aircraft
सरकारले स्वीकृति दिएको १८ महिनाभित्र दुईवटा ठूला आकारको 'वाइड बडी' विमान खरिद गर्ने नेपाल वायुसेवा निगमका अधिकारीहरुले बताएका छन्।
उक्त विमान खरिदका लागि अर्थ मन्त्रालय र निगम पदाधिकारीहरुबिच भएको छलफलपछि अर्थमन्त्रीले सहमति दिएका थिए।
उक्त सहमतिलाई मन्त्रिपरिषदबाट पारित गराउनु पर्ने प्रावधान छ।
प्रक्रिया
२०७४ को असोजसम्म एक वर्षभित्र पहिलो जहाज भित्राउने हाम्रो योजना छ। अर्कोचाहिँ त्यसको ६ महिनाभित्र खरिद गरेरै छोड्ने लक्ष्य राखेर अघि बढिरहेका छौं
सुगतरत्न कंसाकार, महाप्रबन्धक, नेपाल वायुसेवा निगम
दुईवटा 'वाइड वडी' विमान खरिदका लागि अर्थ मन्त्रालयको स्वीकृति खोजेको नेपाल वायुसेवा निगमलाई अर्थमन्त्री कृष्णबहादुर महराले सहमति दिएपछि अब विमान किन्ने प्रक्रिया छिट्टै अगाडि बढ्ने निगम अधिकारीहरुले बताएका हुन्।
चीन भ्रमणबाट फर्किएलगत्तै मन्त्रालय पुगेका अर्थमन्त्री महरासमक्ष आइतबार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जहाज किन्नका लागि तयार पारेको योजना प्रस्तुत गरेका थिए।
मन्त्रीको स्वीकृतिपछि हौसिएका महाप्रबन्धक कंसाकारले भने,"२०७४ को असोजसम्म एक वर्षभित्र पहिलो जहाज भित्राउने हाम्रो योजना छ। अर्कोचाहिँ त्यसको छ महिनाभित्र खरिद गरेरै छोड्ने लक्ष्य राखेर अघि बढिरहेका छौं।"
मन्त्रिपरिषद जमानी बसेपछि मात्र निगमले ठूला जहाज खरिद प्रक्रिया अगाडि बढाउन सक्छ।
नेपाल वायुसेवा निगमले पहिलोपटक 'वाइड बडी' भनिने जहाज किन्न लागेको हो।
स्वीकृति
सरकार जमानतमा बसिसकेपछि त्यो आउने सम्पति पनि सरकारकै हुन्छ। त्यसैले खरिद गर्ने जहाजको पूरा ऋण नतिरेसम्म त्यो जहाज सरकारकै हुन्छ। त्यो स्वीकृति हामीले प्राप्त गरेका छौं
जीवनबहादुर शाही, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री
दुईवटा जहाज किन्न आवश्यक ठानिएको २५ अर्ब रुपैँयाको ऋण कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषले दिन तयार रहेको पनि महाप्रबन्धक कंसाकारले बताए।
विगतमा विमान खरिदका बेला हुने गरेको शंका हटाउन छिट्टै विश्वव्यापी बोलपत्र आह्वानको प्रक्रिया सुरु गरिने आइतबारको बैठकमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले बताए।
उनले भने, "सरकार जमानतमा बसिसकेपछि त्यो आउने सम्पति पनि सरकारकै हुन्छ। त्यसैले खरिद गर्ने जहाजको पूरा ऋण नतिरेसम्म त्यो जहाज सरकारकै हुन्छ। त्यो स्वीकृति हामीले प्राप्त गरेका छौं।"
मन्त्रालयले छिट्टै विमान खरिदको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने जनाएको बैठकमा सहभागी अधिकारीहरुले बताए।
सरकारले यसै वर्ष प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दुईवटा ठूला जहाज किन्ने विषय उल्लेख छ।
ती ठूला जहाज भित्रिएपछि निगमले काठमाण्डूबाट अष्ट्रेलिया र युरोप सिधा उडान थाल्ने योजना बनाएको छ।

0 comments:
Post a Comment