Recent

Sir youngster Danny, why go abroad to marry the girl returned


मकवानपुरको भार्ता गाविसकी सानु लामाका परिवार २०५९ सालमा सपरिवार ज्यामिरेमा बसाईं सर्‍यो । त्यही साल आएको पहिरोले भार्ता गाविसमा बस्ने घर र गरिखाने जग्गाजमिन बगाएपछि उनीहरु बसाईं सरेका हुन् । ज्यामिरेमा पनि गरी खाने ठाउँ पर्याप्त नभएपछि फेरि उहाँको परिवार मकवानपुरकै मनहरी ३ को तल्लो रमनटार बेलचौकमा बसाईं सर्‍यो ।  
सानुका बुबा र दाजुभाइ थिएनन । एकजना दिदी र आमासहित तीन जनाएको परिवार थियो । २०५२ सालमा बुबा परलोक भएपछि घर चलाउने सबै जिम्मेवारी सानुकी आमाको काँधमा थियो । पल्लो रमनटारमा बसाईं सरेपछि उहाँकी आमा हस्तमाया लामाले घर चलाउन खसीबाख्रा पाल्नुभएको थियो । 
बसिबियाँलोका लागि चिया पसल खोल्नुभएको थियो । सुखदुःखले हस्तमायाले सानुको पालनपोषण र पढाइ खर्च धान्नुभएको थियो । दिदीको विवाह भएपछि लेखपढका लागि लाग्ने खर्च दिदी भेनाले पनि सहयोग गरे । 
तर विदेश उडिजाउँ भन्ने सानुका सपनामा पखेटा लागे । आठ कक्षा पढ्दापढ्दै विदेश जाने निधोमा पुग्नुभयो उहाँ । विदेश जाने निर्णय गरेको दिन सम्झदै उहाँले भन्नुभयो, ‘त्यतिबेला अल्लारे थिएँ । सोचें, दाजुभाइ पनि छैनन्, अब आमालाई मैले पाल्नुपर्छ ।’ 
छोरीले विदेश जान्छु भन्दा हस्तमायालाई निको लागेको थिएन । त्यसैले उहाँले छोरीलाई विदेश नजान आग्रह पनि गर्नुभयो । तर आमाको आग्रहले सानुको यात्रालाई छेकेन । 
त्यसअघि चार महिना सिलाइकटाइ तालिम पनि लिनुभयो । तर सिलाइकटाइमा काम गर्दाको कमाईले आफ्नो खर्च पनि नआउने । अर्कातिर छरछिमेकका महिलाहरु रोजगारीका लागि विदेश गएर फर्केका थिए । उनीहरुले भन्थे ‘पढाईमा मात्रै ध्यान गर्नु हुँदैन, विदेश जानुपर्छ । यहाँ बसेर पैसा कमाइन्न ।’
विदेश जाने सानुको सपना र परदेशबाट फर्किआएका छिमेकीले दिएको सुझाव मिल्यो । विदेश पठाइदिने दलाल पनि भेटियो । दलाल रहेछन् धरानतिरका प्रेम लामा । सानुका अनुसार ती दलाल नेपाली सेनाबाट अवकाश प्राप्त सिपाही हुन् । तिनै दलालको भरमा उहाँ रोजगारीका लागि विदेश जाने तयारी गर्नुभयो । 
दलालको हात समाएर उहाँ अरु दुईजना साथीसहित मकवानपुरबाट धरान पुग्नुभयो । धरानमा घर एकहप्ता बसेर उहाँहरुलाई दलालले भारतको दिल्ली पुर्‍यायो । सात समुद्र पारीको देशमा हिँडेकी सानुमायालाई मनमा डर पनि थियो । ‘दिल्लीमा कति नेपाली महिला अलपत्र परेका छन्, त्यहाँ महिलालाई गर्ने व्यवहार राम्रो हुँदैन भन्ने सुनेको थिएँ ।’
तर त्यहाँ त्यस्तो नराम्रो केही भएन । त्यसपछि उहाँ कुवेत पुग्नुभयो । कुवेतको हतियामा अढाई वर्ष घरेलु कामदारका रुपमा काम गर्नुभयो । आठ हजार रुपैयाँमा काम थालेका उहाँको घर फर्कने बेलामा मासिक ११ हजार रुपैयाँ तलब पुगेको थियो । उहाँ सन् २०१२ मा कुवेतबाट नेपाल फर्कनुभएको हो । 

पैसा भन्ने चिजले मान्छेलाई कहिल्यै पुग्दैन 

फर्केर आएको केही समयपछि सानुमायाको नेपाली सेनामा कार्यरत रामेछाप बजारका राजन कुमार सुनारसित विवाह भयो । अढाई वर्ष बसेर आएपछि पनि फेरि विदेश जाने सोच बनाएर उहाँ नेपाल फर्कनुभएको थियो । ‘घरको काममा दुःख हुँदोरहेछ । अब कम्पनीमा जान्छु भन्ने सोचेको थिएँ । तर बिचैमा विवाह भयो । दुई छोरी र एक छोरा भइसके ।’
अहिले पनि व्यवहारले थिचेको बेला सानुलाई परदेश जाउँ भन्ने सोच पलाउँछ । तर छोराछोरी जन्मिएपछि सानुमायाको परदेश हिँड्ने बाटो उनीहरुले छेके । अर्कातिर विदेशमा घरको काम गरेको सम्झदा जाने कुरा सम्झन पनि मन लाग्दैन सानुमायालाई । त्यस्तै, पैसा भन्ने चिजले मान्छेलाई कहिल्यै पुग्दैन भन्नेजस्तो लाग्न थालेको छ उहाँलाई । विदेशको कामबारे सानुमायाले भन्नुभयो ‘मान्छेको घरमा काम गर्न गाह्रो हुन्छ । झन देश छाडेर टाढा गएपछि अझै गाह्रो । नोकरको रुपमा काम गर्न गएको त हो । भनेजस्तो काम गरेन भने गाली खाइन्थ्यो ।’
त्यसरी गाली खाएर अढाई वर्षमा सानुले दुईलाख रुपैयाँ जति कमाउनुभयो । कतिपय कुवेतमा कार्यरत नेपाली महिला काम गर्न घर फेर्थे । तर सानुका अढाई वर्ष कुवेतको एकै घरमा बित्यो । ‘अर्को ठाँउमा सर्दा सर्दै मेरो जिन्दगी उतै बित्ला जस्तो लाग्यो । त्यसैले दुःख गरेर एकै ठाउँमा काम गरें ।’
सानुले कमाएको पैसाले हस्तमाया लामाले तीन कठ्ठा खेत किन्नुभएको रहेछ । जाँडरक्सी नखाने र अरु फुर्माइस नगर्ने भएकाले पैसा बचेको थियो । अहिले त्यो जग्गा कठ्ठाको साढे तीन लाख रुपैयाँसम्ममा किनबेच हुन्छ । 

कुवेतका दुःख 

घरबाट कहिल्यै टाढा नगएकी सानुमायाले पहिलो सात समुद्र पारी कहिल्यै नदेखेको, नामै नसुनेको देशमा यात्रा गर्दै हुनुहुन्थ्यो । कुवेत पुगेपछि धेरैकुराको अप्ठेरो आइलाग्यो । घरमा भाइबहिनी, बालबच्चा थिएनन । कुवेतमा भने बालबच्चा स्याहार्ने, घर सफासुग्घर गर्नुपर्ने । बच्चालाई कसरी कपडा फेर्ने, खुवाउने भन्ने ज्ञान पनि थिएन । कुवेतको अप्ठेरो सुनाउँदै भन्नुभयो, ‘तीन महिनासम्म नेपालमा फोन गर्न जानिन । त्यति लामो समय फोन नगर्दा आमा धेरै रुनुभएछ ।’
घरमालिक प्रायः रातभरी पाटीमा जान्थे । त्यसबेला आफैंले दुईजना बच्चा सुताउनु पर्ने । कहिले त रातैभरी पनि ती बच्चा नसुतिदिँदा कैयौं रात सानुमायाले अनिदो रात बिताउनुभयो । त्यसैले तालिम लिएर विदेश गएको भए काम गर्न सजिलो हुन्थ्यो भन्ने उहाँलाई अहिले लाग्छ । अर्कातिर अढाई वर्षे कुवेत बसाईले आँट पनि भरेको छ ‘विदेश गएर भाषा जानियो । कसैले ढाँट्न सक्दैनन ।’ 
त्यतिमात्रै होइन्, बालबच्चाको स्याहार कसरी गर्नुपर्छ भन्ने कुराको जानकारी छ सानुमायासित । त्यही अनुभवले उहाँले हिजोआज छोराछोरीको रेखदेख र स्याहारसुसार गर्न सजिलो बनाएको छ । आफ्ना सन्तानको स्याहार गर्दाको सन्तुष्टि अर्कातिर छ । तर, विदेशमा अर्काको बच्चा हेर्नुपर्दा र रातभरी सुत्न नपाउँदा सानुको तौल घटेर ४० केजी भएको थियो । ‘फर्केर आउँदा दिदीले पनि चिन्नुभएन । एकदमै दुब्लाएको थिएँ ।’

विदेशमा नराम्रो काम गरेर आएको भन्न पनि बेर लाउँदैनन

विवाह गरेपछि सानुमायाका श्रीमान् राजनलालाई साथीभाइले भनेछन् ‘विदेश गएर आएको केटी तैंले किन विहे गरेको ? खत्तम बिग्रेको हुन्छ रे । अनि के के रोग लाग्छ रे ।’
साथीभाइको कुरा सुनेपछि राजनले पनि सानुमायालाई त्यही कुराले पेच हान्थे । तर सानुमायासित त्यसको जवाफ तयार थियो ‘तपाईंले देखीदेखी मलाई किन विवाह गरेको त ? म विदेशमा काम गरेर आएकै हुँ ।’ 
त्यसपछि राजनले पनि श्रीमतीलाई केही भन्नुभएको छैन् । दुईको मिलापले जिन्दगीको यात्रा अगाडि बढिरहेको छ । राजनकै तलबले घर चलेको छ । बालबच्चा पढाउने र अरु व्यवहार धान्ने स्रोत अरु केही छैन । 
हुन त सानुमायालाई समाजका मानिसले भन्ने अरु कुरा पनि थाहा छ । तर उहाँलाई लाग्छ, मान्छेले विदेश देखेको हुँदैन, नदेखेपछि जे भने पनि भयो । ती मानिसले विदेशमा नराम्रो काम गरेर आएको भन्न पनि बेर लगाउँदैनन भन्ने कुरा उहाँलाई थाहा छ । तिनीहरुलाई सानुमायाको उत्तर छ ‘नेपालमै पनि नराम्रो गर्नेहरु गरेकै छन् । वेश्यावृत्ति गर्नेहरुले यहाँ गरेकै छन् । महिला बलात्कृत भएकै छन् ।’ 

विदेशमा जस्तो कम्पनीहरु खुलेमा कोही विदेश जाँदैनन 

कुवेतका घरमालिकले सानुमायालाई घर पठाउन मानेका थिएनन् । बच्चाहरु सानुमायाको हातमै रमाउन थालेका थिए । नेपाल आएपछि विवाह भयो । बालबच्चा भए । त्यसैले सानुमायाले विदेश जाने कुरो भएन् । 
कुवेतको घरमालिकले भने सानुमायाका नेपाली साथीबाट नम्बर लिएर फोन गरेको थियो । तर सानुमायाले पुरानो घरमालिकको कुरा अस्वीकार गर्नुभयो । 
अब सानुमायाको विदेश जाने सोच छैन । बरु विदेश जान खोज्ने दिदीबहिनीहरुलाई उहाँको सुझाव छ, आफ्नै देशमा दुःख गर्नुस, दुःख गर्दा कमाई यही छ । सरकारले पनि रोजगार आफ्नै देशमा सिर्जना गरिदियोस् । विदेशमा जस्तो कम्पनीहरु खुलोस यहीँ पनि । 
सानुमाया थाहा छ घर व्यवहारको आवश्यकताले नेपालबाट युवा विदेश जान्छन् । अर्थात सुख पाएर काम गर्न विदेशमा कोही पनि जाँदैनन । थोरै व्यक्ति मात्रै लहैलहै र अन्जानमा परेर विदेश पुग्छन । सानुमाया पनि धेरै पैसा कमाउने सपना देखेर विदेश पुग्नुभएको थियो । तर उहाँको त्यो सपना पूरा भएन् । विदेश नै जानुपरे पनि घरेलु कामदारका रुपमा जान हुन्न भन्ने थाहा छ उहाँलाई । विदेश जानै परे उहाँको सुझाव छ ‘विदेशमा पनि राम्रा कम्पनीहरु छन् । क्षमता भए त्यहाँ गएर पनि काम गर्न सकिन्छ ।’ 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment