चितवन: स्थानीय प्रशासनले बढी भाडा लिएर नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेका ३५ वटा माइक्रोबसबाट प्रत्येक यात्रुलाई १०० फिर्ता दिलाएर गन्तव्यतर्फ पठाएको छ।
भरतपुरको आँपटारीमा सोमबार बिहानैबाट जाँच गर्दा काठमाडौँका लागि प्रतिव्यक्ति सामान्य सवारी साधनमा २ सय ७९ र डिलक्समा २० प्रतिशत थप गरी लिन पाउनेमा ती माइक्रोबसले प्रतिव्यक्ति ४ सय ५० रुपैयाँ असुल गरेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार नारायणगढबाट काठमाडौँ १४६ किलोमिटर पर्दछ। सो सडकका लागि यातायात मन्त्रालयले प्रतिव्यक्ति प्रतिकिमी एक रुपैयाँ ९० पैसा भाडादर तोकेको छ।
डिलक्सले २० प्रतिशत थप गर्दासमेत ३३४ रुपैयाँ ८० पैसा लिन पाउँछ। तर माइक्रोबस र पर्यटक बसले यात्रुबाट रु ४५० देखि ६०० सम्म भाडा असुल गर्दै आएका छन्। सोमबार नियन्त्रणमा लिएका माइक्रोबसलाई प्रतिव्यक्ति १०० फिर्ता गरी सबैलाई टिकट दिएर चलानीसहित गन्तव्यतर्फ पठाइएको उनले बताए।
चितवनबाट काठमाडौँ, पोखरालगायतका स्थानमा जाने सवारी साधनमा कडाइका साथ आँपटारीमा भाडादर जाँच गरिएको छ। अटेर गरेर बढी भाडा लिनेलाई नियन्त्रणमा लिएर मुद्दासमेत चलाउने प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए।
जिल्लाका स्थानीय मार्गमा सरकारले तोकेभन्दा दोब्बरसम्म भाडा असुल गर्दै आएको पाइएकाले स्थानीय प्रशासनले तोकेको मार्गमा नचलाउने, बढी भाडा लिन प्रश्रय गर्ने ११ यातायात व्यवसायीलाई एक रात हिरासतमा राखेर आइतबार छाडेको थियो। सरकारले तोकेको दरबमोजिम भाडा लिने सहमतिमा व्यवसायी छुटे पनि सो भाडादरमा घाटा हुने भन्दै सोमबारपनि जिल्लामा स्थानीय मार्गमा म्याजिकबाहेकका सवारी साधन चलेका छैनन्।
नेपाल यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारले तोकेको भाडादरमा सवारी साधन सञ्चालन गर्दा नोक्सान हुने भन्दै व्यवसायी नमानेपछि गाडी सञ्चालन गर्न नसकिएको बताए।
प्रजिअ सिंहले सरकारी नियमभन्दा माथि रहेर काम गर्ने अधिकार कसैलाई नभएकाले तोकेअनुरुप काम नगरे कारबाही गरिने बताए। रासस

0 comments:
Post a Comment