Recent

Gagan Thapa brought destruction by the death of the girl's letter Jumlithana


माननीय स्वास्थ्यमन्त्री
गगन थापाज्यू,
नमस्कार ।

खासमा जुन दिन मलाई भक्तपुर क्यान्सर अस्पतालले मृत्युको पुर्जा दिएर घरमै मृत्यु कुर्न भन्यो । त्यो दिन, मेरो यो १९ वर्षे कलिलो मन कस्तो भयो होला, हजुरलाई के भनुँ म । तर, म त्यसदिन खुब रोए । नरोएर के गरूँ । मेरो मुटु यति शोकाकुल र छियाँछियाँ भएको थियो कि त्यो कुरा शब्दमा कसरी लेखुँ म । वश, रूनेबाहेक मसँग उपाय थिएन । र, अहिले पनि छैन ।



हरेक मानिसलाई जस्तै ममा बाँच्ने, खेल्ने, रमाउने, घुम्ने अरू के–के रहर थियो । तर, जब हस्पिटलको मौखिक मृत्युको पुर्जी आयो । त्यसपछि म अबको पुगनपुग तीन महिना बाँच्छु अरे । यो कुराले हररात, हरदिन मुटु घोचेकोघोच्यै छ, धेरै म के पो बोल्न सक्छु र ?
माननीय मन्त्री, त्यो दिन वा मेरो मरणको दिन सम्झन्छु । साँच्ची त्यसदिन मेरा सारा आफन्त कसरी रोलान् । कति भक्कानिलान् । म कल्पनै गर्न सक्दिनँ । मुख्य कुरा आफूले खाइनखाई १९ वर्षसम्म हुर्काउने मेरा बाआमा कति रोलान् । उनीहरूलाई सम्झाउने मानिसले के भनेर सम्झाउलान् । म सोचिरहेकी छु ।

थाहा छ, म नेपालको कर्णाली भनिने जुम्ला जिल्लामा जन्मिएँ । हुर्के । जहाँ अनगिन्ती दु:ख, अभाव छन् । जुन दु:ख र अभावले मजस्ता नागरिक केही न केही रुपमा पिल्सीरहेका छन् । जस्तो कि, म जब क्यान्सर रोगी भएँ । त्यसपछि आफैंले अनुभव गरेँ, दुर्गम हर नागरिकका लागि कति पीडादायिक भुगोल रहेछ भनेर । अनि जब आफू बाँच्नका लागि हर मानिससँग आलापविलाप गर्न थाले । बुझेँ, मानिसका लागि दुर्गम शत्रु रहेछ भनेर । जेहोस्, मैले अनुभव गरेका कुरा सत्य छन् । र त, त्यही कुराको प्रेरणाले आज  तपाईंलाई मेरो मृत्युबारे जानकार गराउन लागिरहेको छु । अनि यो पत्र सकिनसकि लेखिरहेकी छु । कृपया, मलाई माफ गर्नुस् है ।

मैले सानैदेखि तपाईंको बारे सुनेकी थिएँ । तपाईंको बारे पढेको छु । तपाईंजस्ता अरू पनि धेरै मानिस हुँदा हुन् यो देशमा । तर नचिने पनि तपार्इंलाई नजिकको जस्तो लाग्यो । सम्झेँ, तपार्इंले कुरो बुझ्नु हुन्छ मेरो । अनि यो चिठी लेखेको हुँ । खास तपाईंलाई पनि मेरो मृत्युको खबरबारे जानकारी गराएको हुँ यसै पत्रबाट ।

मलाई थाहा छ, म मर्न लागेको छु । सानो उमेरमा म मर्न लागेँ, त्यस कुराले  म साह्रै दु:खी छु । माननीय मन्त्रीज्यू, म पनि यही देशमा जन्मे । हुर्के । जहाँ तपाईं पनि जन्मनु भो र हुर्कनु भो । तर तपाईंलाई एउटा कुरा सोध्न मन छ । तपाईं बिरामी हुँदा वा बिरामी लगेर हस्पिटल जाँदा । हस्पिटलमा  कति माया गर्छ ? कति सम्मान गर्छन् ? तपाईंलाई याद होला । अनुभव होला । तर मलाई त त्यस्तो कुराको अनुभवै भएन । यादै भएन । र, त हजुरलाई मेरो मृत्युको जानकारी दिइरहेकी छु ।

खासमा मैले धेरै दु:ख पाएँ । आपत खेपे । पाएको दु:ख सम्झिँदा लाग्छ, म यो देशको नागरिक हैन । मैले कति हो कति बेथितिहरू देखेँ । त्यो बेथितिको सिकार म पनि भएँ । र, सम्झेँ बेथितिहरूले मजस्ता अरू पनि दिनदिनै मरिरहेका होलान् । अनि मनमनै सम्झेर तपार्इंलाई जानकारी गराउन मन लाग्यो । चिठी लेखिरहेकी छु ।

हुन त, म एक दिन मर्ने नै छु । तर केही समय चाँडै मर्ने भएँ । यसैले म दुखि छु त भन्नै पर्‍यो । हो  म दु:खी छु । अनि म मर्नु पहिले तपार्इंलाई भेटेर केही कुरा गर्न चाहन्छु । खासमा हाम्रो देशमा लापरबाही किन हुन्छ ? बुझेर जान्न चाहन्छु । मर्न चाहन्छु ।

माननीय मन्त्रीज्यु । हुन त, म बाँचेर पनि देशको लागि के गर्न सक्थे होला र ! तर म मर्ने पक्का भएपछि कहीं न कतै देशको हो या आफ्नो खुब माया लागिरहेको छ । किन हो खै ! मैले देखेका बेथितिहरूप्रति मनमा धेरै घृणा छ । लाग्छ, म अब त केही दिनपछि मर्छु पनि होला । तर, मेरो उपचार गर्दा पाएको दु:ख हजुरलाई सबै भन्न चाहन्छु न कि मजस्ता यो देशका नागरिकले मैले जसरी दु:ख नपाउन् । पीडा नपाउन् । बेथितिको सिकारले मृत्यु नपाउन् ।

तपाईंलाई मेरा धेरै कुरा भन्नुछ । जुन कुरा चाहेर पनि यस पत्रमा लेख्न सक्दिनँ, भन्न सक्दिनँ । घाउ पनि दुखेर बढिरहेको छ । पीडाले मुटु कापिरहेको छ । म यो भन्दा बढी लेख्न सकिनँ । कृपया सक्नुहुन्छ भने म मर्नु पहिले हजुरसँग सबै कुरा भन्ने समय पाउँ । सक्नुहुन्न भने यो कामचाहिँ गरिदिनुहोला । देशका हर नागरिकलाई मृत्यु दिने बेथितिहरूको अन्त होस् । लापरबाहीले एक वर्षपछि मर्ने नागरिक एक वर्षअघि नमरोस् ।
नमस्कार ।

सन्ध्या शाही, जुम्ला
हाल : काठमाडौं
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment