Recent

After reading age he brings to deceive.


जाजरकोट: जाजरवटको दुर्गम गाउँका बालबालिका आमाले दोस्रो विवाह गर्दा र बाबुको मृत्यु भएपछि बिचल्लीमा परेका छन्। जिल्लाको पश्चिम क्षेत्रमा पर्ने सीमा गाविस–३, तागागाउँका झन्डै आधादर्जन बालबालिका यस्तो समस्यामा परेका हुन्।
अधिकांशका बाबु गरिबीका कारण कमाइ गर्न देश बाहिर गएका बेला कठोर परिश्रम गर्दा मृत्यु भएको पाइएको छ। श्रीमान् बित्दा श्रीमतीहरु बच्चा पालेर बस्नुपर्ने ठाउँमा नाबालक बच्चाबच्ची छोडेर दोस्रो विवाह गरेको पाइएको छ।
चार वर्षअघि मजदुरी गर्न भारत गएका सीमा–३ का २८ वर्षीय कर्णबहादुर घर्तीको भारतको रुद्रप्रयागस्थित स्टिल उद्योगमा काम गर्दै गर्दा करेन्ट लागेर मृत्यु भयो। घरमा दुई वर्ष नपुग्दै यहाँकी श्रीमती चन्द्रकला घर्तीले तीन नाबालक बच्चा छोडेर दोस्रो बिहे गरे।
अहिले घर्तीका चार वर्षीय छोरा गणेश, छ वर्षीय चन्द्र र नौ वर्षीय योगेन्द्र आमा र बाबाको मायाबाट वञ्चित मात्र छैनन्, स्कुल जाने उमेरमा माटो खेलेर बेसहारा बनेर जिन्दगी व्यतित गर्दैछन्।
उनीहरुलाई आमाबाबुको माया प्रेम भन्ने के हो थाहा नै छैन। त्यस्तै, सोही गाउँका ठगेन्द्रबहादुर थापाका दुई छोरा पनि बिचल्लीमा परेका छन्। ठगेन्द्रको तीन वर्ष पहिले भारतको जम्मु कास्मिरमा काम गर्दा मृत्यु भयो। श्रीमानको मृत्यु भएको छ महिना नबित्दै उनकी श्रीमती मोती थापाले दोस्रो विवाह गरेर अर्कैसँग गएपछि चार वर्षीय गोपाल थापा र उनका दाजु आठ वर्षीय चन्दबहादुर पनि बिचल्लीमा परेका छन्।
त्यस्तै, सीमा–३, आर्सिनाटोलकी १३ वर्षीया उर्मिला बुढा र १५ वर्षीया सीतालाई बाबुआमा भन्ने थाहा नै छैन । बाबु खड्कबहादुर बुढाको मृत्यु र आमा वृद्धी बेपत्ता भएपछि उनीहरु अभिभावकविहीन भएका हुन् ।
सीमा–३ को एउटै गाउँका आधा दर्जन बढी बालबालिका सहाराविहीन बनेका छन्। पढ्ने लेख्ने कुरा उनीहरुका लागि एकादेशको कथा जस्तै भएको छ। काका, बाजे, बजैको सहारामा उनीहरु अहिले दैनिक जुठा भाँडा माझेर दैनिकी बिताउने गरेका छन्।
बाबाको मृत्यु र आमाको दोस्रो विवाहबाट पीडित बनेका यी बालबालिका यतिबेला गाँस, बास, कपास, शिक्षा र सुरक्षालगायत अधिकारबाट वञ्चित भएका छन्।
मर्नेबेलामा सहारा होलान् भन्ने आश गरेकाले अगाडि नै आफूले नै संसार छोड्दा उनीहरुका छोराछोरी हेरचाह गर्न निकै मुस्किल भएको ६० वर्षीया हजुरआमा झुर्पा घर्तीले बताए। उनले भने,'छोरा कर्णे घर्तीको मृत्यु भयो, तीन नाबालक नातिको लालनपालनमा समस्या भएको छ। बुहारी चन्द्रकला अर्कै केटा समातेर पोइल गई।' यो गाउँमा यस्ता थुप्रै बालबालिका बिचल्लीमा परेको स्थानीयवासी पूर्णबहादुर महताराले बताए।
'स्थानीय सङ्घसंस्थाले जे जस्तो कार्यक्रम ल्याएपनि टुहुराको लालनपालन, शिक्षा, सुरक्षाको कार्यक्रम नहुँदोरहेछ,'महताराले भने। साना बालबालिकालाई विद्यालय लैजाने, ल्याउने, ड्रेस, कपी, कलमलगायतका आधारभूत कुरा नहुँदा विद्यालय जानबाट समेत वञ्चित भएको पाइएको छ। 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment