We are for one another, come temptation shoulder thapaum
उदासी छायो। हामीसँग आपतहरूको कमी छैन, ए झरी! थप केही सुन्न नपरोस् भनिरह्यो। भनेजस्तो भएन। सुनिन थालियो विपतका कुरा। दुःखका कुरा।
झन् नरमाइलो लाग्नु स्वभाविक भयो। त्यो भन्दा दुःख लाग्यो मान्छेको मन फाटिएको देखेर। सामाजिक सञ्जालमा लेखिएका कुरा देखेर। कोही भन्छन्, ‘उ बेला तिम्रो पहाडमा भुँइचालो जाँदा हाम्ले यस्तो गर्यौं तिम्ले खै?’ कोही भन्छन्, ‘सत्तामा लिप्त तिम्रा मधेसी नेता खोइ?’
मेरो मनले भन्यो यी खोई–खोई भन्नेहरू नै हुन् बिगार्ने। विपतमा एक—अर्काको काँध थाप्नेले हिजो पनि थापे आज पनि थापेकै छन्। सामाजिक सञ्जाल खोलेर विवाद गरिबस्ने फुर्सद उनीहरूलाई छैन। सबै अधिकारका आन्दोलनमा टार्गेट बन्ने सेना र प्रहरी दाजुभाइ परिवार बिर्सेर अप्ठेरो ठाँउमा हाम फालिसके। फुर्सतिलाहरू न हुन् यस्ता फजुल गफ गरेर बस्ने।
त्यसैले मनले सँधैझै भन्यो, यी तु–तु मे–मे गर्नेहरूबाहेक नेपाली समाजको ठूलो हिस्सा त सज्जन छ।
अनि फेरि सम्झेँ मधेसतिर जाँदाको कुरा। यस्तो बिघ्न सामाजिक सञ्जालको तर्साइ थिएन, तर पनि त्रास त व्याप्त थियो। अहिले मधेसमा यस्तो छ उस्तो छ नजानु जे पनि हुन सक्छ। कति भने मान्छेले मलाई। कताकता लुकेको डर थियो।
जनकपुरका नागरिक अगुवा सुरेन्द्र लाभले ढुक्क गराउनुभयो, ‘जसरी पहाडकी छोरी बनेर डुल्नु भयो, त्यसरी मधेसकी छोरी बनेर डुल्नु हुनेछ। अनि थाहा लाग्नेछ हकिकत।’ जनकपुरको मालपोत कार्यालयअघि बसेर मोमो खाँदै गर्दा मैले त्यो हकिकत महसुस गरें। किस्सा त अनेक छन् मधेसमा मायाले नुहाएका। मालपोतमा धक मान्दै छिरेथें। सबै कर्मचारी मधेसी छन् भन्छन्, कस्ले गर्ला मलाई तथ्याङ्क लिन सहयोग, शङ्का थियो मनमा।
एक मधेसीमूलका कर्मचारीले भने, ‘मधेस र पहाडको पानी खाएको छु। अहिले भिलेनहरूको पालो छ। पख्नुस् हिरोको पालो आइहाल्छ।’ उनले भेटाएका कार्यालय प्रमुखले भने, ‘अहिले भिड देखिहाल्नुभयो, भोलि बिहान तँपाईंको लागि तीन जना मान्छे खटाउँछु अनि डाटा लिनु।’
बिहान म पुग्दा कर्मचारीहरू मेरो लाडी ढड्डा पल्टाउँदै थिए। अहिले पनि त्यो दृश्यले खुसीको आँसु झर्न थाल्छ।
बाहिर निक्लेर खुसी हुँदै चाट पसलमा गएँ। मिठो लागेन। भन्न सकिन। खुरुक्क पैसा निकाले नखाइकन। साहुजीले लिन मानेनन्। नजिकैबाट हेरिरहेका एक युवक आएर सोधे, ‘तपाईं काठमान्डौबाट आएको हो? भेज मम खाने?’
साहुजी, ती युवक र म सँगै बसेर म म खायौं। युवकले भने, ‘हामीलाई मान्छे लखेट्नेहरू भन्छ होला है। संसारभरिका मानिसहरू एक भएर बस्ने र उन्नति गर्ने जमानामा नेपालमा चाँहि के भएको होला? जनकपुरका मान्छे यस्ता छैनन् भनिदिनुस् है गएर।’ ममभन्दा मिठो भयो मधेस पहाडको माया।
मन फटाउनेले मौका पर्खिरहेका हुन्छन्। हामी आफ्नो मनलाई यस्तो बेला झन् बलियो पारौं। फटाउने होइन कि मान्छे चिन्ने मनभित्रको सद्भाव उजागर गर्ने मौकाको रूपमा लिन सकौं विपतहरूलाई।
वीरगन्जमा आगो बलिरहँदा सर्लाहीमा भेटिएका मेरा बालक साथीहरू सम्झें। जस्ले आफ्नो हरेक जन्मदिनमा जुरुक्क उठ्नासाथ मलाई फोन गरेर सोध्छन्, ‘दिदी तपार्इं यो पटक पनि नआउने? अब त आउनुस् न।’ जहाँ भएपनि मन उडेर त्यतै पुग्छ।
ढुङ्गा, माटो र भूगोलमा होइन, माया हृदयमा हुन्छ।
जातीय रङमा राजनीति खेल्ने दिमागमा पनि हुदैन सद्भाव र करुणा, हृदयमै हुन्छ।
छोडौं न अरुका कुरा। गरौं आफ्नै कुरा। जाँचौ आफ्नै मन।
नेपालभरि छरिएर रहेका हामी एक–अर्काका लागि हौं। आऊ विपतमा काँध थापौं।

0 comments:
Post a Comment