vitamin D
खानामा हुने क्याल्सियम तथा फोस्फोरस आन्द्रामा शोषित हुने वा गराउने कार्यमा भिटामिन डीले ज्यादै ठूलो भूमिका निर्वाह गर्छ । हाम्रो शरीरलाई आवश्यक पर्नेमध्ये करीब ८० देखि ९० प्रतिशत भिटामिन डी हामीले सूर्यको किरणबाट प्राप्त गर्दछौं भने करीब १० देखि २० प्रतिशतमात्रै हामीले खाने खाना वा अन्य पौष्टिक तत्वबाट प्राप्त हुन्छन् । भिटामिन डी शरीरले शोषण गरेपछि एक प्रकारको हार्मोनमा परिणत हुन्छ । हाम्रो शरीरमा सक्रिय रूपमा रहने भिटामिन डीको स्वरूप अर्थात् हार्मोनलाई ‘क्याल्सिट्रिवल’ भनिन्छ ।
क्याल्सिट्रिवलले खानाबाट प्राप्त हुने क्याल्सियम र फोस्फोरसलाई आन्द्रामा शोषण गर्ने–गराउने र तिनलाई पुनः मिर्गौलामा ग्रहण गराई शरीरको रक्तसञ्चार प्रणालीमा प्रवाहित गराउन मद्दत गर्दछ ।
– गोरो छाला हुने व्यक्तिको दाँजोमा कालो छाला हुने व्यक्तिलाई सूर्यको किरणबाट भिटामिन डी प्राप्त गर्न धेरैबेर घाममा बस्नुपर्ने हुन्छ । त्यसकारण नेपालीहरू जो पश्चिमा झैं पूरै निख्खर छाला हुनुको साँटो गहुँगोरो वा कालो वर्णका हुन्छन्, तिनीहरूमा भिटामिन डी कमी हुने बढी सम्भावना रहन्छ ।
– वयष्क मानिसको छाला जवान मानिसको भन्दा पातलो हुने हुँदा तिनीहरूको शरीरले जवान वा कम उमेरका मानिसको दाँजोमा कम भिटामिन डी उत्पादन गर्ने हुन्छ ।
– दिनभर नै कपडाले ढाकेर वा सनस्क्रिन लगाएर आफ्नो छाला ढाकिरहने व्यक्तिमा पनि सूर्यको किरण प्रत्यक्ष रुपमा पर्न नपाई भिटामिन डी कमी हुने गर्छ ।
– दिनमा बढी समय घरभित्रै बिताउने, रात्रिकालीन जागिर गर्ने वा हस्पिटलभित्र लामो समयसम्म काम गर्नेमा पनि भिटामिन डी कमी हुने गर्दछ ।
– त्यस्तै पृथ्वीको भूमध्य रेखाभन्दा टाढाको भौगोलिक क्षेत्रमा बसोबास गर्ने मानिसमा सूर्यको किरण पर्ने समय निकै कम हुन्छ । खासगरी, अमेरिकाको उत्तरी भू–भाग र क्यानडामा बसोबास गर्ने मानिसमा सूर्यको किरण कम पर्छ ।
– यदि स्तनपान गराउने महिलाले थप भिटामिन डी तथा क्याल्सियम लिँदैनन् भने तिनीहरूमा भिटामिन डीको कमी हुने सम्भावना रहन्छ ।
– अस्वाभाविक रूपमा बढी तौल भएका व्यक्तिमा भिटामिन डीको कमी रहन्छ ।
भिटामिन डी प्रशस्त पाइने खाना
हामीले खाने खानाबाट भिटामिन डी प्राप्त गर्नु भनेको अत्यन्तै गाह्रो काम हो । भिटामिन डी हाम्रो खानामध्ये एकदमै थोरै प्रकारका खानामा मात्रै पाइन्छ । भिटामिन डीयुक्त खानामध्येका केही निम्न बमोजिमका छन् :
– टुना, म्याकरेल र साल्मोनजस्ता बोसोयुक्त माछा
– थप भिटामिन डीद्वारा प्रबद्र्धित खाना जस्तै, दुग्धजन्य पदार्थ (चिज), सुन्तलाको जुस, सोया मिल्क (भटमासको दूध) र गेडागुडी
– कलेजो
– चिज
– अण्डाको पहेँलो भाग
हाम्रो खानाबाट मात्रै हामीलाई चाहिने जति भिटामिन डी प्राप्त गर्न सजिलो छैन । अध्ययनहरूले के देखाएका छन् भने हामीलाई आवश्यक पर्ने मात्रामध्ये केवल २० प्रतिशत मात्रै भिटामिन डी हामीले खाने खानाबाट प्राप्त हुन्छ । तर जब हामी घाममा हिंड्छौ, हाम्रो शरीरको कपडाले नढाकिएका छालाले सूर्यको किरणबाटै आफूलाई चाहिने जति भिटामिन डी प्राप्त गर्छन् र प्राकृतिक रूपमै हामी भिटामिन डी उपभोग गर्न पाउँछौं ।

0 comments:
Post a Comment