काठमाडौं: लामखुट्टेलाई प्रायः सबैले बेवास्ता गरेको पाइन्छ । एकदुई लामखुट्टेले टोक्दैमा के होला र भन्नेहरू धेरै छन् । तर यो निकै घातक हुने र धेरैको ज्यान लिने खतरा बढेको भन्दै विश्व स्वास्थ्य संगठनले समयमै लामखुट्टेबाट टाढा रहन सचेत गराएको छ । यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न ढिलो नगर्न पनि संगठनले आग्रह गरेको छ ।
संगठनले लामखुट्टेको टोकाइबाट उत्पन्न हुने कडाखाले रोगहरू एकपछि अर्को गर्दै नयाँ रूपबाट नेपालमा फैलिन थालेको भन्दै यसको नियन्त्रणमा चासो देखाएको हो ।
बढ्दो फोहोर, पानीको जथाभाबी प्रयोग र खाल्टाखुल्टीमा रहने पानी, झाडी, झुल प्रयोगमा कमीलगायत कारणले नेपालमा लामखुट्टेको प्रजननदर अत्यधिक बढेको संगठनको अध्ययन प्रतिवेदनले देखाएको छ ।
संगठनको दक्षिणपूर्वी एसिया निर्देशक डा. पुनम क्षत्रपालले लामखुट्टे अत्यन्तै घातक बन्दै गएकाले यसबाट बच्न व्यक्तिसँगै सिंगो मुलुकले सावधानी अपनाउनुपर्ने बताइन् । संगठनका अनुसार लामखुट्टेले विश्वमा प्रत्येक वर्ष सात लाख २५ हजार मानिसको ज्यान लिइरहेको छ ।
लामखुट्टेले मानिसलाई टोकेर कडा ज्वरो, एलर्जी, वाक्वाकी गराउने तथा रोगप्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउने गरेको छ । यस्तो समस्या नेपालसहित दक्षिणपूर्वी एसियामा बढ्दै गएको संगठनले जनाएको छ ।
नेपालमा डेंगु, मलेरिया, जापानिज इन्सेफलाइटिस, चिकनगुनियाजस्ता घातक रोग लामखुट्टेको टोकाइबाट फैलिएको र यसबाट प्रभावित हुनेहरू बढ्दै गएको संगठनको भनाइ छ । संगठनका अनुसार यी रोगका कारण दक्षिणपूर्वी एसियामा एक अर्ब ४० करोड मानिसको स्वास्थ्य, आर्थिक र सामाजिक स्तर खस्किएको छ ।
डा. क्षेत्रपालले भनिन्, 'जिका भाइरस र यल्लो फिवरसमेत निम्त्याउने संक्रमित एडिस एजेप्टाई लामखुट्टे फैलिने क्रम बढेको छ ।' स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यही जातका एनोफिलिस, मिनिमस, एनोफिलिस, फ्लुभिएटिलिस, एनोफिलिम म्याकुलेट्स र एनोफिलिम एनुलासिस लाखुट्टेहरू नेपालमा बढिरहेका छन् ।
चिकित्सकका अनुसार वर्षायाममा लामखुट्टे नियन्त्रण गरिएन भने त्यसबाट प्रकोप उत्पन्न हुने जेखिम रहन्छ । लामखुट्टेको प्रजनन दर घटाउन र संक्रमित गराउने लामखुट्टेको नष्ट गर्ने अभियान तीव्र बनाउन क्षत्रपालले आग्रह गरेकी छन् । संगठनले घरवरपर पानी जम्न नदिने, फोहोरमैला नगर्ने, लामखुट्टे हुर्कने ठाउँमा यसको लार्भा नष्ट गर्ने, लामो बाउला भएका कपडा लगाउने, झुल टाँगेर सुत्ने, झ्यालढोका लगाउने, झाडी पन्छाउनेलगायत उपाय अपनाउन आग्रह गरेको छ । 'लामखुट्टेको टोकाइबाट फैलिने रोगले ठूलो चुनौती दिएको छ', डा. क्षेत्रपालले भनिन्, 'हामीले यसलाई रोक्न कानुन बनाउनुपर्छ । कानुन कार्यान्वयनका लागि सबैबाट पहल हुनु जरुरी भइसकेको छ ।'
नेपालले लामखुट्टे नियन्त्रणका लागि कीटनाशक औषधि छर्ने, झुल वितरण गर्ने कार्यक्रम गर्दै आएको छ । संगठनका अधिकारी भने यस्ता कार्यक्रम मात्र लामखुट्टेको टोकाइबाट बच्ने पर्याप्त उपाय नभएको बताउँछन् । लामखुट्टेको टोकाइबाट सर्ने गरेको र नेपालका लागि सबैभन्दा पुरानो मानिएको मलेरिया संक्रमणलाई ३० प्रतिशतसम्म घटाउने लक्ष्य स्वास्थ्य मन्त्रालयले लिएको छ । नेपालमा पुष्टि नभएका तर चुनौती दिइरहेको जिका भाइरसको संक्रमण रोक्नसमेत लामखुट्टे नियन्त्रण अभियान तीव्र बनाउन संगठनले आग्रह गरेको छ ।

0 comments:
Post a Comment