Recent

So the second married the love of citizenship paraded her husband


बेसीसहर: तीन दशकदेखि एउटै लक्ष्य र उही गन्तव्य बनाएर पटकौं सदरमुकाम धाइरहेको लोकगायिका माया गुरुङ (देवीमाया) को दम्पती निकै खुसी थियो । वंशजका आधारमा नागरिकता पाउने जन्मसिद्ध अधिकार भए पनि अन्तरजातीय विवाहकै कारण यो जोडी नागरिकताबाट वञ्चित थियो । २५ वर्षको संघर्षपछि नागरिकता पाउँदा उनीहरूको खुसीको सीमा रहेन ।
'आज मेरो जिन्दगीकै खुसीको दिन हो', नागरिकता हातमा परेपछि खुसी हुँदै लोकगायिका माया गुरुङले भनिन्, 'जीवनभरको लडाइँ जितेँ, खुसी छु ।' २५ वर्षको संघर्ष सफल भएको दिन खुसीसँगै उनी दुःखी पनि थिइन् । 'आखिर मैले यत्रो संघर्ष गर्नैपर्ने काम के नै गरेकी थिएँ र', उनले भनिन, 'अन्तर्जातीय विवाह गरेकै कारण मैले यस्तो सास्ती भोग्नु पर्ने ? '
नागरिकताको लडाइँमा उनका पति लेखमान गुरुङलाई उतिसारो वास्ता थिएन । नागरिकता नभएकै कारण वैदेशिक रोजगारी र अन्य सम्भावनाका ढोका बन्द भएपछि उनले गाउँमै कृषि कर्म गरे । तर, मायालाई आफ्नोभन्दा सन्ततिको भविष्यको चिन्ता थियो । त्योभन्दा चिन्ता, २१ औं शताब्दीमा पनि कायमै रुढिवादीलाई तोड्ने थियो । जर्जर आर्थिक अवस्थाका बाबजुद पटकौं जिल्ला सदरमुकाम धाइरहेका उनीहरूलाई गुजारा चलाउन सास्ती भयो ।
विवाहको पाँच वर्षपछि नागरिकताका लागि पहल थालेकी माया त्यसबेला गाविस सचिवकहाँ पुगे पनि आवश्यक कागजात नहुँदा रित्तो हात फर्कनु पर्‌यो । प्रयास असफल भएपछि उनले २०५० सालमा पुनः पहल गरिन् । प्रहरीमा निवेदन दिइन्, प्रशासन धाइन् । तर, गाविसको सिफारिसबिना उनको नागरिकता बनाउने रहर पूरा भएन ।

छोराछोरी बढ्दै गए । नागरिकता झन्झन् अपरिहार्य बन्दै गयो । जेठो छोरा सन्दीप नागरिकता नभएकै कारण विदेश जानबाट रोकिए । बिहे गरेर गएका दुईछोरी उनीहरूका श्रीमान्ले पठाएको पैसा अर्कैको बैंक खाता खोलेर राख्न बाध्य बने । २०६८ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीसमक्ष नागरिकता नपाएको गुनासो गर्न पुगे ।
त्यसबेलाको प्रयास पनि असफल नै बन्यो । उनीहरू जहाँजहाँ नागरिकताको पहलका लागि जान्थे, त्यहाँ लेखमानका बुवा मनिराज समस्याको पहाड बनेर उभिन्थे । त्यसयता अदालती प्रक्रियामा पुगेका लेखमानले मुद्दा जिते । जिल्ला अदालत लमजुङले ६ असोज २०७२ मा गरेको 'बुवा–छोरा' बीचको नाता कायम भएको फैसलालाई पुनरावेदन अदालत पोखराले ६ जेठ २०७३ मा सदर गर्‌यो । 'डीएनए' परीक्षणले बुवा छोरा पुष्टि भयो । अन्तरजातीय विवाहले सिर्जना गरेको समस्यालाई परास्त गर्न यो दम्पतीलाई २५ वर्ष लागेको हो ।
श्रीमान् लेखमानले वंशजका आधारमा नागरिकता लिए । अदालतको फैसलाका आधारमा प्रहरीले पाँचजना छिमेकी राखेर वडा मुचुल्का र आठजना छिमेकीले सनाखत गरिदिए । सबै प्रक्रिया पूरा भएपछि प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले लेखमानलाई नागरिकता हस्तान्तरण गरे । लेखमानको नागरिकतापछि सोमबारनै मायाले पति कायम गरेर नागरिकता निकालिन् । 'हामी दम्पतीले त पायौं अब पाँच सन्तानको पनि नागरिकता निकाल्ने बाटो खुल्यो', लेखमानले भने, 'अब चाँडै सबै सन्तानको नागरिकता बनाइदिनु पर्ला ।'

मन पग्लिएन

छोरा अन्तरजातीय युवतीसँग नजिकिएको बुवा मनिराजलाई पटक्कै रुचेको थिएन् । उनले छोरालाई फुपूको छोरीसँग बिहे गर्न पटकपटक प्रस्ताव गरेका थिए । गाउँको रोधीघर हुँदै झांगिएको माया र लेखमानको प्रेम निकै गहिरो थियो । बुवाको चर्को असहमति र विरोधका बाबजुद बिहे गरेका लेखमानलाई बुवा जीवनभर यति निर्दयी बन्लान् भन्ने कल्पना छँदै थिएन् ।
ससुरा निर्दयी भएपछि मायाकै अगुवाइमा श्रीमान् लेखामानको फुपूकै छोरीसँग विवाह भयो । 'नागरिकताका पाउनका लागि मैले केसम्म गरिनन् ? ' जिल्ला प्रशासन कार्यालयमा उनले भक्कानिँदै भनिन्, 'ससुराबुवाको मन पग्लन्छ कि भनेर मैरै अगुवाइमा श्रीमान्‌को गुरुङ जातकै फुपूकी छोरीसँग बिहे गराइयो । तै पनि बुवाको मन पग्लिएन् ।'
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment