Multi-entry visa to enter China
विदुरः रसुवागढी नाकाबाट चीन प्रवेस गर्न मन्टी इन्ट्री भिसाका लागि रसुवा प्रशासनले दुई सय ४१ थान आवेदन दर्ता गरी सिफारिससहित गृह मन्त्रालय पठाएको छ । ट्रक, कन्टेनर, उद्योगी व्यवसायी गरी दुई सय ४१ वटा आवेदन गृहमन्त्रालय पठाइएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
भिसा प्राप्त गरिसकेपछि रसुवागढी नाकाबाट व्यापारिक प्रयोजनाका लागि उद्योगी, व्यवसायी, कन्टेनर चालक केरुङसम्म आवतजावत गर्न पाउनेछन् । भिसाका लागि भदौ महिनासम्मको समय लाग्ने जानकारी आएको रसुवाका सहायक प्रजिअ दीपक केसीले जानकारी दिए ।
सिफारिस भएकामा एक सय २२ थान आवेदन चालकको र एक सय १९ थान यातायात तथा उद्योगी व्यवसायीको रहेको उनले बताए । रायसुझावसहित गृहमन्त्रालयमा आवेदन पठाइएको केसीको भनाइ छ ।
आवेदन गृहमन्त्रालय हुँदै सीमा प्रशासन, परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग पुग्ने जनाइएको छ । सहजरूपमा मन्टी इन्ट्री भिसाका लागि गृहमन्त्रालय, पररष्ट्र र वाणिज्य मन्त्रालयले सहजीकरण गरिरहेको रसुवा प्रशासनले जनाएको छ ।
सरकारीस्तरमै छलफल भइरहेका कारण भदौ महिना भित्रमा मन्टी इन्ट्री भिसा प्राप्त हुने जनाइएको छ । रसुवागढी नाकाबाट नेपालीलाई चीन प्रवेश गर्न हालसम्म चिनियाँ पक्षले व्यावहारिकता हेरेर मात्र केरुङसम्म प्रवेस दिँदै आएको छ ।
हाल सिन्धुपाल्चोकतर्फको तातोपानी नाका बन्द रहेको अवस्थामा एकमात्र रसुवागढी नाका सञ्चालनमा छ ।
चीनले मन्टी इन्ट्री भिसा प्रदान गरेपछि व्यापारिक कारोबार गर्न सुविधा पुग्ने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । रसुवा प्रशासनमा मन्टी इन्ट्री भिसाको सिफारिसका लागि निवेदन परेका सबै आवेदन गृहमन्त्रालय पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए ।
काठमाडौंबाट एक सय ५५ किलोमिटर दुरीमा रहेको रसुवागढी नाका नेपाल–चीन प्रवेशको छोटो तथा ठूलो नाका हो । यस नाकाबाट गत वर्षदेखि आयातनिर्यात औपचारिक रूपमा सञ्चालन गरिएको हो ।
हाल सिन्धुपाल्चोकतर्फको तातोपानी नाका बन्द रहेको अवस्थामा एकमात्र रसुवागढी नाका सञ्चालनमा छ । नाकाबाट सहज व्यवस्थापनका लागि नेपाल तथा चिनियाँ पक्षसंग छलफल जारी रहेको रसुवा प्रशासनले जनाएको छ ।
नेपालीले चीनबाट मन्टी इन्ट्री भिसा पाएपछि द्विपक्षीय व्यापारमा निकै बढोत्तरी आउने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक केसीले बताए । चीनले दिने मन्टी इन्ट्री भिसाको अवधि ६ महिनाको हुने जनाइएको छ ।
भिसाबाट चीन प्रवेश गर्ने उद्योगी, व्यवसायी, कन्टेनर सबैलाई सुविधा पुग्ने रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसाङनुर्वु तामाङले बताए । हाल रसुवागढी नाका हुँदै केरुङ प्रवेशका लागि रसुवावासीलाई परिचयपत्र तथा अन्य व्यक्तिलाई एक दिने प्रवेस पास मात्रको व्यवस्था छ ।

0 comments:
Post a Comment