Recent

Moving abroad have rescued seven women


नवलपरासीकी १८ वर्षीया शर्मिला गुरुङ अरुणखोलामा रहेको साथीको मामाघर जाने भन्दै साथीसँगै बस यात्रामा थिइन् । दुवैजना साथी एउटै सिटमा बसेर गफ गरिरहेका थिए । बसकै सामुन्नेको सिटमा यात्रा गरिरकेका यात्रु कैलालीको फूलबारीका दीपेन्द्र चौधरीले सोधे, ‘बहिनीहरू कता जान थालेको ? ' दुवैले भने, ‘नजिकै मामा घर छ, त्यतै जान थालेको ।'
युवकले मिठामिठा गफ गर्दै गए । ‘के काम गर्नुहुन्छ ? रोजगारी केही छ कि ? घरमा को को छन् ? ' जस्ता प्रश्न सोधे । तर एलएससी पनि नगरेका दुवैले बेरोजगार रहेको बताए । किशोरीहरूले, ‘कसैले पठाइदिए विदेश जाने इच्छा छ' भन्न मात्रै के भ्याएका थिए, दीपेन्द्र उनीहरूको पछि परिहाले ।
बसेको एक घन्टाको यात्रामै शर्मिला र उनकी साथी ती युवकलाई पासपोर्ट दिन तयार पनि भए । बसमा यात्रा गर्दै गरेका दीपेन्द्रको गन्तब्य कहाँ थियो कुन्नी ? तर उनी पासपोर्ट लिन आफ्नो गन्तब्य फेर्दै ती दुवै युवतीको घर पुगे । सोझा परिवारका सदस्य दीपेन्द्रको उक्साहटमा फसिहाले । अनि दुवैको पासपोर्ट लिएर फोन गर्ने बाचा गर्दै दीपेन्द्र त्यहाँबाट हिँडे ।
पासपोर्ट दिएको महिना दिन मात्रै भएको थियो । दुवै युवतीको भिसा आइसकेको भन्दै काठमाडौं आउन दीपेन्द्रको फोन आयो । घर परिवारमा सल्लाह भयो र यात्राको शुभकामना बोकेर दुवै युवती काठमाडौं पुगे । सात दिनको काठमाडौं बसाइपछि शर्मिलासहितका दुई युवती र अन्य पाँचजना महिला गरी सातजना महिलाको यात्रा सुरु भयो कैलालीका लागि ।
सुरुमा नेपालबाटै श्रमस्वीकृती लिएर विदेश पठाउने भनेका दीपेन्द्रले महिलाको भिसा नेपालबाट नआउने भएकाले भारतको दिल्लीबाट उड्नुपर्ने भन्दै कैलाली ल्याएका रहेछन् । धनगढी उपमहानगरपालिकाभित्रको फुलबारी (बहुलिया नाका) नाकाबाट सीमा कटाउन लागेका बेला सातैजना महिला स्थानीय प्रहरीको फन्दामा परे र उनीहरूलाई आइतबार आफन्तको जिम्मा लगाइएको छ ।
‘हामी पनि विदेश जान चाहेको, दीपेन्द्रले पनि पठाइदिने भनेपछि विश्वास लागेर आयौं', १८ वर्षकी शर्मिलाले भनिन्, ‘गाउँमा पाँच कक्षासम्मको विद्यालय मात्र भएकाले पाँच कक्षासम्म पढेर छोडियो, त्यसैले कमाउन विदेश जान आएको ।'
दीपेन्द्रले सातैजनाबाट कत्ति पनि पैसा लिएका छैनन् । सबैले बस भाडा मात्रै तिरेको बताएका छन् । खाने र बस्ने सबै खर्च दीपेन्द्र आफैंले गरेको उद्धार गरिएका महिलाले बताए । कुनै रकम नलिई विदेश पठाउने भन्दै कैलाली ल्याएपछि आप्रवासनको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाले उनीहरू बेचबिखनको जोखिमबाट जोगिएको प्रतिक्रिया दिएका छन् ।
‘विदेश पठाउने भए २०/२५ हजार रकम त लिनुपर्ने तर यसमा बेचबिखनको सम्भावना देखिएको छ', माइती नेपाल कैलालीका संयोजक शिवचरन चौधरीले भने । उनले भारतको मुम्बईमा दलालबाट एक महिलाबापत एक/दुई लाख आउने तर अन्य देशमा पाँचलाख आउने भएकाले पनि आफैंले सबै खर्च गर्ने गरेको पाइएको बताए ।
सातजना महिलालाई कैलालीको बहुलिया सीमा प्रहरी चौकीले नेपाल-भारतको सीमा नदी मोहनामा डुंगामा बसिसकेपछि उद्धार गरेको हो । तर उनीहरूलाई लैजाने दीपेन्द्र चौधरी भने डुंगाबाट भाग्न सफल भएका छन् ।
उद्धार गरिएका सातजनामध्ये दुईजना महिला ४० वर्षभन्दा माथि उमेरका छन् । हाउस किपिङका लागि पनि ४० वर्षभन्दा बढीका महिलालाई विदेश पठाउन नपाउने प्रावधान रहेको सुरक्षित आप्रवासन परियोजना कैलालीका कार्यक्रम संयोजक दलबहादुर ओलीले बताए ।
उद्धार गरिएकी उदयपुर गाईघाटकी ४३ वर्षकी विन्दा परियार त आफन्तको घरबाट गाईघाट फर्किने भन्दै काठमाडौं बसपार्कबाटै दीपेन्द्रको लहैलहैमा लागेको खुलेको छ । ‘गाईघाट आउने भनेर बसपार्कमा टिकट काट्ने तयारीमा थिएँ दीपेन्द्र चौधरीसँग भेटभयो, विदेश जाने हो दिदी भनेपछि हो भनें । अनि कैलाली आएँ', विन्दाले भनिन् ।
धेरै महिलालाई नेपालबाटै विदेश जानुपर्छ, श्रम स्वीकृति लिएर जानुपर्छ भन्ने कुराको पनि जानकारी नलिएर हिँडेको पाइएको छ । ‘घरमा श्रीमान्को रोजगारी छैन, विदेश जाने भनेर काठमाडौं गएको तर कतै जान पाइएन, बसपार्कमा विदेश जान लागेका बहिनीहरू भेटिएपछि म पनि आए', जिल्ला प्रहरी कार्यालय कैलालीमा आफन्तसँगै रहकी विन्दाले भनिन् । प्रहरीले सातैजनाका आफन्त बोलाएर जिम्मा लगाएको छ ।
नेपाली चेली भारतमा मात्रै बेचिन्छन् भन्ने कुरा अब पुरानो भइसकेको छ । नेपालमा भूकम्पपछि धेरै चेलीहरू अरब र खाडी मुलुकतिर बेचिन थालिएका छन् । पूर्वी नेपालको सीमा क्षेत्रमा चेकजाँचमा कडाइ भएपछि भारतको बाटो भएर तेस्रो मुलुकसम्म नेपाली चेली लैजाने दलाल पश्चिमी सीमानाका केन्द्रित भएका छन् ।
माइती नेपाल कञ्चनपुरले आर्थिक वर्ष २०७२÷७३ मा मात्रै ६७ जना नेपाली चेलीको सीमा क्षेत्रबाट उद्धार गरेर आफन्तलाई बुझाएको छ भने कैलालीमा पनि कुबेत, इराक, अफगानिस्तानलगायतका देशमा लगिँदै गरेको अवस्थामा पछिल्लो दुई महिनामा १६ जना नेपाली चेलीको उद्धार गरिएको कार्यक्रम संयोजक शिवचरण चौधरीले बताए ।
खुला सिमाना, सीमा क्षेत्रका होटलसँगको सेटिङ, वारपार गर्नेयातायातका स्टाफसँग मिलेर सहजै नेपाली महिला विदेशतिर पठाइने गरेका छन् । ‘बसपार्क आसपासका होटेललाई सामान्यभन्दा महंगोमा कोठा भाडा तिर्ने गरेकाले पनि उनीहरूले प्रहरी र उद्धारमा खटिएका गैरसरकारी संस्थालाई खबर नगर्ने गरेको माइती नेपालले जनाएको छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment