मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले कांग्रेस, एमाले र मधेसवादी दलबिच भएको तीन बुँदे सहमति अर्थहिन रहेको आरोप लगाउनु भएको छ । मधेसका जनतालाई जुन मुद्दा देखाएर आन्दोलन गरिएको थियो तीन बुँदेमा त्यो उल्लेख नगरिएकोले मधेसी जनताको नाममा आन्दोलन गर्ने दलहरुले धोका दिएको आरोप लगाउनु भएको हो ।
पहिले नै राष्ट्र र जनताको लागि संविधानलाई सर्वोपरी ठान्दै आन्दोलनलाई स्थगित गरेर सरकारमा गएको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, ‘मधेसको नाममा ५६ जनाले ज्यान गुमाए, सिमाङकनको कुरा कहाँ हरायो ? हामी ति दलहरुसँग यसैको जवाफ खोजी रहेका छौँ ।’
‘पहिलादेखि नै मैले भन्दै आएको थिएँ, ८ प्रदेशले नै समस्याको समाधान निकाल्छ तर त्यही विषयमा अन्तिममा कुरा मिल्ने छ’ विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘६ महिनासम्म मधेस बन्द भयो, धेरै मानिस मारिए तर उपलब्धी के हो ? म उहाँहरुलाई सोध्न चाहन्छु, जुन बेला मैले १६ बुँदे सहमति गराएको थिएँ अहिले उहाँहरु त्यही ठाउँमा फर्किनु भएको छ ।’
उहाँले अहिले दलहरु बिचमा निषेधको राजनीति मौलाउँदै गएको बारेमा चिन्ता व्यक्त गर्दै सर्वदलीय सहमति बिना संविधान कार्यान्वयन हुन नसक्ने बताउनुभयो । उहाँले निषेधको राजनीती गरेकाहरुलाई सहमतिमा आएर त्यसभन्दा माथि उठ्न आग्रह गर्नुभयो ।
सरकारमा जाने बारेमा पत्रकारहरुले सोधेको प्रश्नमा उहाँले सम्मानजनक स्थान नदिँदासम्म सरकारमा जाने बारेमा आफूहरुले कुनै निर्णय नलिएको जानकारी दिनुभयो । ‘हामीलाई सम्मानजनक स्थान चाहिन्छ’ अध्यक्ष गच्छदारले भन्नुभयो, ‘हैन भने सरकारमा जानुको अर्थ छैन ।’

0 comments:
Post a Comment