Recent

Gold shop selling than buying crowd, cocked gold thankiyo


सुनचाँदीको गहना पसलमा भएको भीड हेर्दा लाग्छ ‘सबैभन्दा बिक्री हुने चीज त सुनचाँदीकै गहनानै हो कि ?’ तर अहिले सुनचाँदीको कारोबारको वास्तविकता फरक छ । सुनचाँदीको भाउ बढेको बेला नयाँ किन्ने भन्दा पुरानाले काम चलाउनुपर्ने ग्राहकहरु बताउँछन् ।
‘सुन महंगो भएको बेला आफूसँग भएको सुन बिक्री गर्ने या त साट्ने हो, यत्तिबेला ग्राहकले किन्न सक्दैनन्’ गहना साट्दै गरेकी इलामकी राधा दाहालले भन्नुभयो । व्यवसायीका अनुसार पनि बजारमा सुनको गहना किन्ने भन्दा पनि बिक्री गर्नेको भीड बढी छ । ‘सुनचाँदी पसलमा ग्राहकको भीड त देखिन्छ तर बजारमा सुनको भाउ बढी भएकाले बेच्न आउने र कति भाउ पाइन्छ भनेर मोलतोल गर्दै हिँड्नेहरु बढी छन्’ नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष मनिरत्न शाक्यले बताउनुभयो ।
सुनचाँदी बजारमा खपत भइरहेको सुन, उपभोक्ताबाटै फिर्ता आएको सुनले धानिरहेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक १० किलो सुनको कारोबार भइरहेको छ । 

सुनको कारोबार ५० वर्ष यताकै न्यून 

बजारमा सुनको भाउमा आएको उतारचढावसँगै कारोबारमा पनि मन्दी आएको छ । व्यवसायीका अनुसार यसवर्ष सुनचाँदीको कारोबारमा ५० वर्ष यताकै ठूलो गिरावट आएको हो ।
‘सामान्य अवस्थामा पनि दिनको २० किलो सुन खपत हुँदै आएको बजारमा अहिले १० किलो सुन पनि मुश्किलले बिक्री हुँदै आएको छ’ नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष मनिरत्न शाक्य भन्नुहुन्छ ‘यसपटक हामी नै अचम्मित भएका छौं, अघिल्लो साल भूकम्प र नाकाबन्दीले तहसनहस बनाउँदा पनि तीज आउनु महिना दिन अघि दैनिक २५ किलोसम्म सुनको कारोबार भएको थियो ।’ 

बैंकमै थन्कियो सुन

बजारमा सुनको माग कम भएपछि वाणिज्य बैंकहरुमा झण्डै तीन सय ५० किलोभन्दा बढी सुन थन्किएको छ । बैंकमा थन्किएको सुन व्यवसायीले नउठाएपछि दैनिक १५ किलो सुन आयात गर्दै आएका बाणिज्य बैंकहरुले असार लागेपछि सुन झिकाएका छैनन् । ‘सुनको माग नभएपछि बैंकहरुमा सुन होल्ड भएर बसिरहेको छ, सुनको बजार उपभोक्ताबाट फिर्ता आएको सुनले नै धानिरहेको छ’ नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष मनिरत्न शाक्यले भन्नुभयो । उहाँका अनुसार बैंकले एक किलोभन्दा कम परिमाणको सुन बिक्री नगर्दा पनि बैंकमा सुन थन्किएको हो ।
‘सबै व्यवसायी सँग एक किलो सुन किन्ने क्षमता हुँदैन अहिलेकै भाउमा एक किलोको मूल्य झण्डै पचास लाख पर्छ, आधा किलोसम्म  बिक्री गर्ने व्यवस्था ल्याएमा यत्ति धेरै सुन बैंकमा होल्ड हुने थिएन’ अध्यक्ष शाक्यले भन्नुभयो । सोमबार सुनको भाउ तोलाको ५९ हजार तोकिएको थियो । 

यसकारण घट्यो सुनको माग 

सुनको माग नबढ्नुमा चर्को भाउ नै मुख्य कारण ठान्छन् व्यवसायीहरु । तीन चार महिना अघि मात्र ४८ हजार सम्म झरेको सुनको भाउ ५९ हजारमा पुगेपछि सुनचाँदीमा हात हाल्न नसकेको व्यवसायीको ठहर छ । ‘सुनको भाउ दैनिक उकालो लाग्दै गयो भने भोलि त अझ धेरै बढ्छ कि भनेर किन्ने हुन्छन् तर अहिलेको सुनको भाउ स्थिर रहने र घट्दा स्वत्तै घट्ने भइरहेको छ त्यसले गर्दा पनि होला ?’ महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य अस्वभाविक मूल्यबृद्धिले ग्राहकलाई दोधार बनाएको बताउनुहुन्छ ।
उहाँका अनुसार बेलायत युरोपियन युनियनबाट बाहिरिनु, सुनमा लगानी गर्दै आएका व्यापारीले समेत शेयर बजारमा हात हाल्नु र भूकम्प तथा नाकाबन्दीले आयस्रोत कम भएकाले पनि सुनको बजार खस्किएको हो ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment