Buddhacitta million income to the same plant
काभ्रेः बौद्ध धर्मावलम्बीले मन्त्र जप्न प्रयोग गर्ने मालाका दाना बुद्धचित्तको एउटै बोटबाट करोड रुपैयाँसम्म आम्दानी हुन थालेको छ । बहुमूल्य बुद्धचित्तको एक सय आठवटा दानाबाट माला बुन्ने गरिन्छ । यसको दाना जति सानो भयो माला उति नै छरितो हुने र मूल्यवानसमेत हुने गरेको छ । बुद्धचित्तको उद्गमस्थल काभ्रेको तिमालमा एउटै बोटबाट एक करोड रुपैयाँसम्म आम्दानी गर्न थालिएको स्थानीय कर्ण लामाले जानकारी दिए । लामाले भने, ‘मेरो आफ्नै बारीको एउटा बोटलाई व्यापारीले ६० लाखसम्म दिएका छन् तर यसको दाम एक करोडसम्म पर्ने भएकाले व्यपारीलाई अहिलेसम्म दिएको छैन ।'
बुद्धचित्त बहुमूल्य भएकै कारण कर्णका बाबुले सुरक्षाका निम्ति बोटमै सीसी क्यामेरा जडान गरेका छन् । उनका अनुसार स्थानीयले बुद्धचित्त टिप्ने समय भएपछि रुखमुनि बास बस्ने, हजार/१५ सय रुपैयाँ दैनिक दिएर कुरुवा राख्ने तथा रातभर बत्ति बालेर निगरानी गर्ने गरेका छन् ।
आफ्नो बारीमा बुद्धचित्तका नयाँ बिरुवा रोपेर आम्दानीको आकार बढाउन थालेका लामाले दुई दशकदेखिको पुराना बोटबाट नै करोडसम्मको आम्दानी लिइरहेका छन् । पुराना बोटबाट आम्दानी लिँदै जाने र नयाँ बिरुवा पनि हुकाउँदै जाने नीतिअनुसार लामाले बारीभरि बुद्धचित्त हुर्काउन थालेको बताए ।
जम्मा चारबोटलाई संरक्षण गरेर राखेका प्रमोद लामाले भर्खरै ६० लाख रुपैयाँको बुद्धचित्त स्थानीय व्यापारीलाई बिक्री गरेको बताए । उनका अनुसार एकपटक हुर्काएको बोटले दीर्घकालसम्म लाभ दिन्छ । एउटा बोट मात्रै हुनेका लागि पनि आम्दानीको निकै राम्रो स्रोत हो बुद्धचित्त ।
काभ्रेको तिमालमा सबैका घरमा बुद्धचित्तको बोट नभए पनि स्थानीय अर्काको कुरुवा बसेर वा सहयोग गरेर पनि लाभ लिन थालेका छन् । आफ्नै बारीमा बुद्धचित्त हुर्काउने जमात पनि ठूलै हुन थालिसकेको छ । बुद्धचित्त थोरै हुनेको पनि कम्तीमा १०/२० हजार रुपैयाँदेखि २०/२५ लाख रुपैयाँसम्म आम्दानी गर्नु त तिमालवासीका लागि सामान्य भएको छ ।
काभ्रेका विभिन्न आठवटा गाविसका क्षेत्रलाई तिमाल भनेर चिनिने गरेको छ । यो ठाउँमा एक हजारदेखि १२ सय वटासम्म बुद्धचित्तका बोट रहेको उल्लेख छ । तिमाल परम्परादेखि नै बुद्धचित्तको गाउँबाट परिचित छ । पछिल्लो ६/७ वर्षदेखि व्यापारिक प्रवद्र्धन हुन थालेकै कारण बुद्धचित्तको महत्त्व पनि बढ्न थालेको हो । बुद्धचित्त दुईदेखि सात मुखेसम्म हुने गरेको छ ।
दुईदेखि चारमुखेसम्मको माला बनाएर बेचिने र पाँचदेखि सातमुखे भने गोटाका आधारमा बिक्री हुने स्थानीयको भनाइ छ । ‘बुद्धचित्त हुर्काएर फल्न मात्रै पर्छ स्थानीयदेखि चिनियाँ व्यपारीले रुखबाटै खरिद गरेर लाने गर्छन्', एक स्थानीयले भने ।
सात वर्षअघिसम्म बजार भाउ खासै नभएको बुद्धचित्त अहिले बार्गेनिङ गर्न सक्ने क्षमतामा भर पर्न थालेको पर्यटन व्यवसायीसमेत रहेका कर्ण लामाले बताए । उनका अनुसार सात मुखे सबैभन्दा बढी माग भएको बुद्धचित्त हो । यसको दानामा नै १०÷१५ लाखमा बार्गेनिङ हुने गर्छ ।
के हो बुद्धचित्त ?
बुद्धचित्त बाहिरबाट हेर्दा वयरजस्तै देखिने एक प्रकारको फल हो । यो एक प्रकारको वनस्पति हो । यसका बाहिरी बोक्रा निकालेपछि भित्र दाना हुन्छ । यो दाना नै माला बनाएर प्रयोग गरिने बुद्धचित्त हो । एक मुखेदेखि सात मुखेसम्म यसको बनोट रहेको हुन्छ । एउटै रुखमा धेरै दाना फल्ने र एकैपटक आम्दानी दिने फलको माग पनि पछिल्लो समय ह्वात्तै बढेको छ ।
समुन्द्र सतहबाट १२ सयदेखि दुई हजार मिटरसम्मको उचाइमा रहेको भिरालो पाखोबारीमा हुने यो बिरुवा तिमालबाहेक नेपालका अन्य ठाउँमा पनि विस्तारै पुग्न थालेको छ । एउटा बिरुवा रोपेको तीन वर्षदेखि नै दीकालसम्म बर्सेनि फल दिन्छ ।
बुद्धचित्तले पैसा कसरी दिन्छ ? विश्वभरका बौद्धधर्मावलम्बीले बुद्धचित्तको माला मन्त्र जप्न प्रयोग गर्ने गरेका छन् । जति सानो दाना भयो उति नै छोटो माला हुने भएकोले मालाअनुसार भाउ तय हुन्छ । यसको प्रयोग गरेर मन्त्र जप्दा शान्ति प्राप्त हुने तथा मनोकांक्षा पूरा हुने विश्वासकै कारण बुद्धचित्तको प्रयोग हुने गर्छ । धार्मिक महत्वकै कारण नेपालबाहेक विश्वभरका सबै बुद्धिष्टबाट यसको माग आउने गरेको छ ।
चिनियाँ बजारमा यसको अधिकांश प्रयोग हुने भएकोले पनि नेपाली माला चीनतर्फ नै जाने गरेको छ । बुद्धचित्तको दाना प्रयोग गरी ठूलो गुम्बा निर्माण हुने, माला लगाउने, मन्त्र जप्न प्रयोग हुने तथा धार्मिक गुरुले बहुअर्थी प्रयोगको महत्व दर्साएकै कारण यसको माग बढी भएकोले महँगोमा बिक्री हुने गरेको हो ।
टानद्वारा तिमालगाउँ अवलोकन भ्रमण
पर्यटन प्रवद्र्धनको संभावना औल्याउँदै ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)ले काभ्रे जिल्लाको तिमालको अवलोकन भ्रमण गराएको छ । मिडिया र टान कार्यसमितिको एक टोलीले शनिबार र आइतबारको दुई दिने तिमाल भ्रमण गरेको हो । भ्रमणको मूल उद्देश्य तिमालमा पर्यटन स्मृति पार्क बनाउने र यसका लागि स्थलगत भ्रमण आयोजना गरिएको टानका महासचिव कर्ण लामाले बताए ।
उनका अनुसार यो क्षेत्रको स्थलगत भ्रमण पनि गुरुयोजना बनाइने नेपालकै नमूना पर्यटन स्मृति पार्क बनाइने छ । यो पार्क पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्ति तथा क्षेत्रसँग जोडिएको र महत्वपूर्ण हुने उल्लेख छ । टानका अनुसार नयाँ पर्यटकीय गन्तव्यको विकास गर्ने र तिमालको पर्यटकीय आकर्षणसहित स्थानिय स्तरलाई पनि पहिचान गराउने गरी पार्क बनाइने उल्लेख छ ।
पार्क निर्माण गर्न टानको अघिल्लो कार्यसमितिले निर्णय गरिसकेको छ । यसका लागि नेपाल पर्यटन बोर्ड तथा विभिन्न पर्यटकीय संस्थालेसमेत आपसी सहकार्य गर्न तयार रहेको जानकारी टानले दिएको छ ।

0 comments:
Post a Comment