Recent

Birgunj embraced the Muslim brothers built the house in the village 48 million


गाउँलेद्वारा हात्तीमा चढाएर सम्मान
‘जीवनमा यति खुसी र गर्व अनुभव गरेको थिइनँ’
वीरगन्ज २६ प्रसौनीबिर्ताका दाजुभाइ डा. जैनुद्दिन र बसरुद्दिन अन्सारीले गाउँमा भव्य मन्दिर निर्माण गरेका छन् । मुस्लिम धर्मका अनुयायी उनीहरूले ४८ लाख रुपैयाँ खर्चेर रामेश्वर महादेव मन्दिर निर्माण गरेका हुन् ।गाउँलेले आइतबार उनीहरूलाई हात्तीमा चढाएर नागरिक अभिनन्दन गरे । गाउँलेको सम्मान र मायाले दुवै हर्षित देखिन्थे । त्यस क्रमा दुवैका हातमा हिन्दु धर्मावलम्बीको झन्डा थियो, ‘हरहर महादेव’ को नारासमेत लगाए ।

वीरगन्जको पश्चिमोत्तर गाउँबाट सुरु यात्रा बाराको भलुहीभरबलियास्थित त्रिवेणीसम्म पुगेको थियो । यात्रामा ६० प्रतिशत हिन्दु र ४० प्रतिशत मुस्लिम सहभागी थिए । दाजुभाइ नेसनल मेडिकल कलेजका अध्यक्ष र प्रबन्ध निर्देशक हुन् । आफ्नो मासिक तलबबाट मन्दिर निर्माण गरिएको उनीहरूले बताए ।

हात्तीमा सवार गराउँदा अदभूत अनुभव भएको दाजुभाइले सुनाए । ‘मैले जीवनमा यति खुसी र गर्व अनुभव गरेको थिइनँ,’ डा. अन्सारीले भने, ‘भगवान् शिवले आफ्नो घर बनाउन हामीलाई नै रोज्नुभो, त्यो हाम्रा लागि धेरै ठूलो कुरो हो ।’

मुस्लिम मौलबीसमेत जलयात्रामा सरिक भएको देख्दा ‘महादेव आफ्नै आराध्यदेव’ भएको अनुभूति गरेको उनले बताए । ‘जीवनकै अविस्मरणीय क्षण हो,’ उनले भने, ‘जात र धर्म मानिसले बनाएका हुन्, सबै मानिस एकै ईश्वरका सन्तान हौं ।’ भाइ बसरुद्दिनले परापूर्वकालदेखि हिन्दु र मुस्लिमबीच एकता रहेको बताए ।

‘जात र धर्मको नाममा राजनीति गर्नेहरू अहिले पनि बेखुस होलान्,’ उनले भने, ‘तर, उनीहरूले बुझेका छैनन्, हाम्रो भाइचारा कत्तिको बलियो छ ।’ गत वर्ष दाजुभाइले गाउँमा ३५ लाख खर्चेर मस्जिद, कब्रस्तान र इदगाह निर्माण गरेका थिए ।

स्थानीय बासिन्दा तथा इन्जिनियर निजामुद्दिन अन्सारीले पनि जीवनमा पहिलो पटक हिन्दु धार्मिक समारोहमा प्रत्यक्ष सहभागिता जनाएको बताए । ‘हिन्दु र मुस्लिम मिलेर निकालिएको जलयात्राले एकता र भाइचारा बलियो बनेको छ,’ उनले भने, ‘कसैले अब हामीलाई तोड्न र फुटाउन सक्दैन ।’

स्थानीय विजय कुशवाहाले मुस्लिम समुदायका दाताले मन्दिर बनाएर मुलुकमै गतिलो उदाहरण दिएको बताए । ‘यस्तो अनौठो र उदाहरणीय काम सम्भवत: मुलुकमै पहिलो पटक भएको होला,’ उनले भने, ‘जात, धर्म र सम्प्रदायको मात्र राग अलाप्नेले अन्सारी दाजुभाइबाट पाठ सिक्नुपर्छ ।’ मन्दिर पूजा समिति अध्यक्ष जगरनाथ महतोले मुस्लिम समुदायका दाता र समाजसेवीले मन्दिर बनाइदिएर गाउँलेलाई ठूलो गुन लगाएको बताए । ‘यो मन्दिर हिन्दु–मुस्लिम सबैको हो,’ उनले भने, ‘भगवान्को दरबारमा सबै एकै हुन् ।’
 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment