A new kind of fever in Chitwan 'skosataiphasa' appeared
चितवनमा नयाँ प्रकारको ज्वरो ‘स्कोसटाइफस’ देखिएको छ । यो रोग चितवनमा पहिलोपटक पहिचान भएको हो । मुसाको जुम्रा ‘माइट’को टोकाइबाट मानिसमा यो रोग लाग्ने गर्दछ । “चितवन मेडिकल कलेजमा उपचार गराएका ज्वरोका बिरामीमध्ये ५३ जनामा स्कोसटाइफस देखिएको छ”, मेडिकल कलेजका व्यवस्थापक डा. दयाराम दाहालले भने, “यो रोग लागेका बिरामीमध्ये दुई बालबालिका र एक बयस्कको मृत्यु भएको छ । ” चितवन मेडिकल कलेजमा फेला परेका यी बिरामीमध्ये अधिकांश चितवनका हुन् । चितवनका मात्रै ३३ जनामा यो रोग देखिएको छ । छिमेकी जिल्ला नवलपरासी, रुपन्देही, मकवानपुरलगायत क्षेत्रबाट उपचारका लागि चितवन ल्याइएका बिरामी हुन् । यो तथ्याङ्क वैशाखदेखि साउनसम्मको हो । अहिलेसम्म यो रोगको परीक्षण जिल्लामा चितवन मेडिकल कलेजमा मात्रै हुने गरेको छ । उच्च ज्वरोसहित रुघाखोकी नै ‘स्कोसटाइफस’ को लक्षण हुन् । सुरुमा मुसाबाट सरे पनि पछि मानिस मानिसमा रोग सर्न सक्ने फिजिसियन डा. शशीजङ पाण्डेले बताए । यो रोगको समयमा उपचार नभए मानिसमा स्वासप्रश्वाससम्बन्धी रोगहरू बढ्न सक्ने र बिरामीको शरीरका भित्रि अङ्गले काम नगरेर बिरामीको ज्यान जाने गर्दछ । मुसाबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने यो रोग १० दिनपछि बिरामीलाई लक्षण देखिन थाल्छ । ज्वरो आउने, टाउको दुख्ने, शरीरमा चालहरू आउनेजस्ता लक्षण देखिने यो रोगजस्तै लक्षण देखिएका बिरामी अहिले उपचार गराउन आउनेकोे चाप चितवनका अन्य अस्पतालमा पनि बढी नै भेटिन्छन् । सामान्य अवस्थामा अस्पतालको आकस्मिक कक्षमा दैनिक ४५ जनासम्म बिरामी आउनेमा अहिले दैनिक १४० भन्दा बढी बिरामी आउने गरेका छन् । यस्तै अस्पतालको ओपीडीमा सामान्य दिनमा १५० जना बिरामी आउने भए पनि अहिले भने दैनिक २ सय ५० भन्दा बढी बिरामी आउने गरेको ओपीडी इन्चार्ज केशव सापकोटाले जानकारी दिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारीसमेत समालिरहनु भएका स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. वासुदेव पाण्डे चितवनमा अहिले देखिएको ‘स्कोसटाइफस’ का बिरामीको पहिचानका लागि केन्द्रबाट विशेष टोली परिचालन गरिने जानकारी दिए । “चितवनमा अहिले फैलिएको ज्वरोका सम्बन्धमा अध्ययन गर्न केन्द्रबाट विशेषज्ञसहितको टोली नै खटिँदै छ”, उनले भने । चितवनमा हरेक वर्ष नयाँनयाँ ज्वरोको लक्षण देखिन्छन् । सन् २००६ मा टाइफाइडको माहामारी भएको चितवनमा सन् २०१० मा डेँगुले सतायो । यो वर्ष ७३९ डेँगु रोगीको पहिचान भएकोमा पाँच जनाको मृत्यु भएको तथ्याङ्क जिल्ला जनस्वास्थ्य कार्यालयसँग छ । कार्यालयका भेक्टोल कन्ट्रोल निरीक्षक राम केसीका अनुसार सन् २०११ मा लेप्टोपाइरोसीसले १ जनाको मृत्यु भयो । सन् २०१५ मा इन्फुन्जा ए एचवान एनवान (स्वाइनफ्ल्यु) देखिएको चितवनमा यो वर्ष ‘स्कोसटाइफस’ देखिएको छ । गत वर्ष ५३७ ज्वरोका बिरामीको परीक्षणमा १८५ जनामा इन्फुन्जा ए एचवान एनवान देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयसँग तथ्याङ्क छ । यसका अतिरिक्त हरेक वर्ष जिल्लामा ज्वरोकै कारण दुई हजारका हाराहारीमा बिरामी हुने र उनीहरूलाई सिजनल फ्लु हुने गरेको बताइन्छ । यसरी हरेक वर्ष ज्वरोका बिरामी बढ्नु र वर्षपिच्छे नयाँ नयाँ रोग देखिनुमा बदलिँदो तापक्रम नै प्रमुख कारण मानिएको छ । स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. वासुदेव पाण्डेका अनुसार पछिल्लो १० वर्षमा चितवनको तापक्रम ०.०६ सेन्टिग्रेट बढेको देखियो । जुन ज्वरोका बिरामी बढ्नुका प्रमुख कारण हुन् । चितवनमा बढ्दो जनसङ्ख्या र अव्यवस्थित बसाइसराइ, यातायातको असहज पहुँच, फोहोरमैलाको व्यवस्थापनमा समस्या आदी कारणबाट पनि चितवनमा ज्वरो बढेको डा. पाण्डेको निश्कर्ष छ ।

0 comments:
Post a Comment