Recent

दुई वर्षभित्र खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने

काठमाडौं, १६ असार - प्रधानमन्त्री केपी ओलीले दुई वर्षभित्र खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने घोषणा गरेको चार महिनापछि कृषिमन्त्री हरिबोल गजुरेलले बुधबार १३औा राष्ट्रिय धान दिवस गमलामा रोपाइँ गरेर मनाए। 

खुमलटारस्थित राष्ट्रिय कृषि अनुसन्धान परिषद्को सभाहलमा आफ्नै मन्त्रालयले आयोजना गरेको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममा मन्त्री गजुरेल प्रमुख अथिति थिए। पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्ने पूर्वतयारी थियो।

तर, गजुरेलले मानेनन्। ‘राष्ट्रिय धान दिवसका दिन पनि पानसमा बत्ती बालेर उद्घाटन हुन्छ ?, धान रोपेर गर्नुपर्छ’, मन्त्रीले नै यसो भनेपछि मातहतका कर्मचारीले हतार हतारमा गमला र धानको बिउ खोजेर ल्याए। सेतो फुलबुट्टे गलैचामाथि गमला राखियो। कर्मचारीले करुवाबाट पानी खन्याएर मन्त्रीलाई गमला हिल्याउन सघाए, अर्का  कर्मचारीले धानको बिउ दिएपछि मन्त्रीले छुपुछुपु रोपे। सहकर्मी मन्त्रीले रोपाई गरेपछि मन्चकै रहेकी पशुपन्छीमन्त्रीले शान्ता मानवीले ताली पड्काइन।

प्रधानमन्त्री ओलीले गत २८ फागुनमा दुई बर्षभित्र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने घोषणा गरेका थिए। नेपाल-जापान सोसाइटीले गरेको कार्यक्रममा उनले भनेका थिए, ‘कृषिप्रधान देश भएर पनि नेपाल खाद्यान्नमा आत्मनिर्भर छैन, नेपाललाई दुई वर्षभित्रमा खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानमा हामी लागेका छौ।’ तर, धानखेती गर्ने क्षेत्रफल र उत्पादन भने घट्दै गएको छ।

१०५ ले धान उत्पादन घट्यो
धान उत्पादन आव ०७०र७१ को तुलनामा आव ०७१/७२ मा १०.२ प्रतिशतले घटेको छ। ०७०र७१ मा ४७ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएकोमा ०७१/७२ मा ४२ लाख ९९ हजार मेट्रिक टन मात्रै उत्पादन भयो।

घट्यो क्षेत्रफल
आर्थिक वर्ष ०७०/७१ को तुलनामा ०७१/७२ मा नेपालमा धानखेती र उत्पादनमा ह्रास आएको छ। ०७१ मा १४ लाख २५ हजार हेक्टर क्षेत्रफलमा धानखेती भए पनि गत वर्ष ६३ हजार हेक्टरले घटेर १३ लाख ६२ हजार हेक्टरमा मात्रै भयो। कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटा भन्छन्, ‘गत वर्ष भूकम्पका कारण धेरै ठाउँमा खेत बाँझै थियो।’

उत्पादकत्वमा पनि ह्रास
आव ०७०/७१ मा ३.३ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको धान एक वर्षपछि तीन मेट्रिक टनमा झरेको छ। समयमै रासायनिक मल उपलब्ध नहुँदा धानखेती भएका धेरै स्थानमा पर्याप्त उब्जनी नभएको कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले बताए। ‘राजनीतिक वा अन्य कारणले किसानहरूले पर्याप्त रासायनिक मल पाएका थिएनन्,’ उनले भने, ‘उत्पादकत्वमा ह्रास आउनुको यो प्रमुख कारण हो।’ धानका लागि पर्याप्त वर्षा नभएकाले पनि उत्पादनमा कमी भएको सापकोटाले बताए। ‘धेरै ठाउँमा घडेरीकरणको प्रभाव पनि देखिन थालिसकेको छ,’ उनले भने, ‘यसले हाम्रो धान उत्पादनको क्षेत्र र उत्पादकत्व घटाइरहेको छ।’

जिडिपीमा ७ प्रतिशत योगदान
देशको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा ३१ प्रतिशत योगदान कृषि क्षेत्रको छ। त्यसमध्ये धानको मात्रै सात प्रतिशत छ। धान उत्पादनको परिणामले जिडिपीमा कृषि क्षेत्रको योगदानको ठूलो हिस्सा नै तलमाथि गर्ने कृषि मन्त्रालयले जनाएको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment