नारायणगढ –मुग्लिन सडकखण्डमा बिहीबार यात्रु झ्यालबाट पहाड नियाल्दै यात्रा गरिरहेका देखिन्थे । उनीहरूको मुहारमा त्रास थियो । दिउँसो सिमसिम पानी पर्न थालेपछि पहिरोबाट जोगिन बस र ट्रक तीव्र गतिमा कुदे । मोटरसाइकल चालक अत्तालिए । सडकका अधिकांश भागमा ढुंगा र माटो थुप्रिएका छन्, जसले सडक साँघुरो बनेको छ । पहिरोको त्रासले ठूलाका चालकले अत्तालिएर गाडी चलाउँदा साना चेपुवामा पर्छन् ।
‘कुन बेला पानी पर्ने हो थाहा हुँदैन,’ ५ किलोमा पसल चलाएकी विमला घिमिरेले भनिन्, ‘सिमसिम पानी पर्नासाथ पहिरो खस्छ ।’ यात्रु भगवान पुकार्दै यात्रा गरिरहेका भेटिए । राति पहिरो खसेर सडक धेरै अवरुद्ध हुने भएकाले जोखिम मोलेर गाडी चलाउनुपर्ने बाध्यता छ । यस खण्डको जलबिरे र कालीखोला पहिरो प्रभावित हुन् । यी ठाउँमा पुग्दा यात्रु बढी डराउने गर्छन् । ‘मुग्लिनबाट ४ किलोमिटर पश्चिम क्षेत्र अहिले कृष्णभीर जस्तो बनेको छ,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले भने, ‘त्यहाँ जोखिम बढी छ ।’
उनका अनुसार गाईघाट, घुमाउने, जलबिरे र कालीखोला जोखिमयुक्त क्षेत्र हुन् । असार सुरुदेखि पहिरोको जोखिम बढेको हो । पानी परेपछि खस्ने पहिरो र ढुंगाले सवारी साधन पुरिने खतरा बढी छ । ‘आधा दर्जनभन्दा बढी सवारी साधन पुरिइसकेका छन्,’ खनालले भने । उनका अनुसार सोमबार राति सडकमा रोकिराखेको कार ढुंगासहित खसेको पहिरोले पुरियो । ‘चालकले थाहा पाएर मात्र मानवीय क्षति भएन,’ उनले भने, ‘त्यसैले यो क्षेत्रमा सवारी चलाउन जोखिम बढी छ ।’ प्रहरीका अनुसार अहिलेसम्म एउटा बस, कार, ट्रक, आयोजनाका २ स्काभेटर पुरिइसकेका छन् । जनकपुरबाट काठमाडौंतर्फ गइरहेको बस पहिरोमा पर्दा ४ यात्रु घाइते भएका थिए । कारमा सवार २ जना जोगिएका थिए ।
यस खण्डमा असारदेखि भदौसम्म खतरा छ । पानी पर्ने क्रम रोकिएको छैन । नारायणगढदेखि मुग्लिनसम्म ३६ किमि दूरी छ । दैनिक करिब ८ हजारभन्दा बढी सवारी साधन गुड्छन् । १ घण्टा १० मिनेट समय लाग्ने सडक छिचोल्न पहिरो खसेको दिन घण्टौं लाग्छ । ‘पानी परिरहेको समयमा पहिरो पन्छाउन बढी समस्या हुन्छ,’ खनालले भने, ‘एउटा पहिरो पन्छाइनसक्दै अर्कोतिर खसेर सडक अवरुद्ध हुन्छ, त्यही भएर यात्रुलाई गन्तव्यसम्म पठाउन धेरै समय लाग्छ ।’ पहिरो पन्छाउन आयोजनाका कर्मचारी, प्रहरी र सडक निर्माणको ठेकदारका श्रमिक खटिने गरेका छन् ।
‘पहिरो खस्ने सम्भावित ठाउँमा आवश्यक पर्ने मेसिन सहितको टोली तयारी अवस्थामा राख्ने गरेका छौं,’ उनले भने, ‘खस्नासाथ पन्छाउन टोली पुग्ने गर्छ ।’ ट्राफिक व्यवस्थापन गर्न सडक खण्डको सिमलतालमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको कमान्डमा २ जना ट्राफिकसहित ११ प्रहरी खटाइएको छ । ‘यो पहिरो प्रभावित क्षेत्र हो,’ जिल्ला प्रहरीका एसपी वसन्त कुँवरले भने, ‘सडक आगमनलाई सहज बनाउन प्रहरी पोस्ट स्थापना गरेका हौं ।’ उनका अनुसार पहिरो प्रभावित क्षेत्र गाईघाटदेखि ४ किलोलाई मध्यनजर गर्दै सिमलतालमा प्रहरी बिट स्थापना गरिएको हो ।
बैकल्पिक मार्गमा जोड
पहिरो खस्ने क्रम नरोकिएपछि सडक छेउछाउ मात्र काम भइरहेको छ । पहाड काट्ने काम रोकिएको छ । आयोजनाले पूर्व–पश्चिम जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । ‘अहिले यो सडकमा जोखिम बढी छ,’ इन्जिनियर खनालले भने, ‘त्यही भएर बैकल्पिक मार्ग प्रयोग गर्नु राम्रो हुन्छ ।’ उनका अनुसार पूर्व जाने सवारी साधन धादिङको नौबिसेबाट त्रिभुवन राजपथअन्तर्गत पालुङ हुँदै जान सक्छन् । ‘समय उस्तै भए पनि यो सडकभन्दा त्रिभुवन राजपथबाट १ सय ६ किमि कम पर्छ,’ उनले भने । त्यस्तै काठमाडौंको दक्षिणकाली फर्पिङ हुँदै पनि जान सकिन्छ । पश्चिम जान पोखरा, स्याङ्जा, वालिङ, पाल्पा हुँदै बुटवल निस्किएर जान सकिन्छ । ‘दिउँसोभन्दा राति बढी जोखिम छ,’ उनले भने । अहिले यो सडकमा सवारी चाप घटेको छैन । ‘यही असार भित्र ३ ठाउँमा डिजिटल फ्ल्यास बोर्ड राख्ने तयारीमा छौं,’ उनले भने, ‘जुन बोर्डमा कतिखेरदेखि सडक अवरुद्ध भयो, कति खेर खुल्छ भन्ने सूचना उल्लेख हुनेछ ।’ यो धादिङको नौबिसे, हेटौंडा र नारायणगढमा राखिनेछ ।
२२ प्रतिशत काम
सन् २०१५ अप्रिलबाट नारायणगढ–मुग्लिन सडकको स्तरोन्नति सुरु भएको हो । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत पनि सञ्चालित नारायणगढ–मुग्लिन सडक आयोजना हो । सन् २०१७ अगस्ट सम्म सक्ने लक्ष्यका साथ सडक निर्माणको जिम्मा ३ वटा कम्पनीले लिएका छन् । जसअन्तर्गत आँपटारीदेखि दासढुंगासम्म बीएलए एससीसी जेभी, दासढुंगादेखि सिमलतालसम्म उडहिल लामा जेभी र सिमलतालदेखि मुग्लिनसम्म सुप्रिम रौताहा जेभीले काम गरिरहेका छन् । सडक २ लेनको हुनेछ । निर्माण लागत २ अर्ब ९० करोड हो । ‘भूकम्प र नाकाबन्दीले गर्दा लक्ष्य अनुसार निर्माणको काम भएन,’ खनालले भने, ‘त्यसैले निर्माणको समय केही थप भयो ।’
छाप्रा हटाइयो
सडक अतिक्रमण गरी निर्माण गरिएका ६२ छाप्रा हटाइएको छ । सडक छेउमा निर्माण गरिएका छाप्राहरू पहिरोको उच्च जोखिममा छन् । ‘जोखिम क्षेत्रका अधिकांश छाप्रा हटाइसकियो,’ खनालले भने, ‘अझै थुप्रै छन्, तिनलाई पनि प्रक्रिया पूरा गरेर हटाउने तयारीमा छौं ।’ होटल, पसल सञ्चालन गरी रहेकाहरू समेत पहिरो हेर्दै त्रासमा बस्ने गरेका छन् ।
आयोजनाको काम सुरु गर्दा व्यवस्थापन टिममा ३ सय र अन्य काममा १ हजार कामदार खटिन्थे । अहिले यो संख्या घटेर ३ सयमा झरेको छ । ‘वर्षात सुरु भएपछि लेबर पाउन समस्या भयो,’ सिनियर डिभिजन इन्जिनियर गोविन्द खनालले भने, ‘जसले गर्दा पनि काम समयमै सक्न समस्या भएको छ ।’ आयोजनाको पहिलो प्राथमिकता स्थानीयलाई रोजगारी दिने हो । तर प्रभावित क्षेत्रमा जनशक्ति अभावले गर्दा बाहिरी जिल्लाबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको आयोजनाले जनायो । ‘वर्षात सुरु भएपछि काम प्रभावित बन्दै आएको छ,’ खनालले भने, ‘भएका कामदार पनि घरमा खेतीपाती लगाउनु छ भन्दै गएपछि समस्या भएको हो ।’
0 comments:
Post a Comment