Recent

कतारमा ४ वर्ष काेमामा रहेका कालुकी श्रीमतीले भनिन्,


ग्लोबल अस्पतालको कोठा नम्बर २ मा आफ्ना पति कालुको अनुहार हेर्दा हेर्दै बेलगानी गुरुङको आँखा रसाएर आयो । रुँदारुँदै थाकेजस्तो देखिने उनले पतिलाई धेरै बेरसम्म बोलाइरहिन् । बदलामा उनका पतिले सुस्तरी टाउको मात्रै दायाँबायाँ गरिरहे । आँखाको भाकाले चिनेजस्तो गरे, त्यसपछि कोल्टे फर्किरहे ।

आफ्नो लोग्नेलाई ज्युँदै देख्न पाउँदा खुसी हुनुपर्ने हो कि दु:खी ? बेलगानीले केही खुट्याउन सकिनन् । खुसी भइन् किनकि, चार वर्ष कतारको हमाद अस्पतालको कोमामा बसेका श्रीमान फर्केका छन् । दु:खी भइन् किनकि, ठमठम्ती हिँड्न र बोल्न पनि नसक्ने, प्रतिक्रिया जनाउन पनि नसक्ने, हात खुट्टा चलमलाउन पनि नसक्ने र ओछ्यानमै दिसापिसाब गर्ने अवस्थामा फर्केका छन् । बेलगानीले देब्रे नाडीले आँसु पुछदै भनिन्, ‘के खुसी के दु:खी ?’

२०६८ साउन १ मा कतार पुगेका कालु काम थालेको चार महिनापछि नै अस्पतालको कोमामा पुगेका थिए । के कस्तो दुर्घटनामा परेर उनी अस्पताल पुगेका हुन्, परिवारका सदस्यलाई अहिलेसम्म थाहा छैन् ।

तर अस्पताल पुगेपछि उनको होस कहिल्यै फर्केन । बिरामीको स्वास्थ्यमा सुधार नभएको तर अवस्था स्थिर रहेपछि अस्पतालले केही महिनायता कतारस्थित नेपाली दूतावासलाई आफ्ना नागरिक स्वदेश फर्काउन दबाब दिइरहेको थियो । हमाद अस्पतालमा कालुजस्तै अचेत अवस्थामा रहेको अन्य एक दर्जनभन्दा धेरै बिरामीलाई अस्पताल प्रशासनले नेपाल फर्काउन खोजिरहेको छ । कालुसँगै बाँकेका हरिबहादुर बस्नेतलाई पनि अस्पतालले मंगलबार फर्काएको हो ।

कालुका छोरा वीरबल, दुई दिदी र आमा कोमाबाट फर्केका कालुलाई लिन गोरखा सौरपानी–७ बाट काठमाडौं आएका छन् । विमानस्थलमा बालाई देख्दा आमाले मन थाम्न नसक्लिन् भनेर वीरबलले आमालाई एकैचोटि अस्पताल लिएर गए । दुर्घटनाको पाँच महिनापछि मात्रै खबर पाएकी बेलगानीले भनिन्, ‘अब मेरो बुढा के हुन्छ ? सन्चो हुन्छ कि यस्तै हो ?’

पराई भूमिमा लोग्ने अचेत भएको खबर पाएपछि क्रिश्चियन धर्म मान्ने बेलगानीले चर्चमा गएर कैयनपटक प्रार्थना गरिन् । सपनामा पनि उनी ठमठम्ती हिँडेको लोग्नेलाई देख्थिन् । त्यतिबेला लाग्थ्यो, बुढा पक्कै सन्चो भएर आउँछन् ।

काठमाडौंमा राखेर उपचार गर्न सक्ने आर्थिक हैसियत उनको छैन । बेलगानीले भनिन्, ‘अब केही दिन अस्पताल राखेर घरै लैजान्छौं । जे होला घरमै होला ।’ गोरखाको सदरमुकामबाट पाँच घण्टा गाडी र एक घण्टा हिँडेपछि मात्रै कालुको घर पुगिन्छ ।



हरिबहादुर बस्नेत

कालुसँगै आएका बर्दियाका हरिबहादुर बस्नेत पनि सोही अस्पतालको एक नम्बर कोठामा अचेत छन् । कालुको जस्तै उनी पनि बोल्न, प्रतिक्रिया जनाउन सक्दैनन् । कालुको जस्तै उनलाई पनि पिसाब फेर्ने पाइप र अतिरिक्त श्वासप्रश्वासका निम्ति मेसिनको जरुरत पर्छ ।

२०६७ असारमा कतार पुगेका हरि २०६८ असारमा ड्युटीबाट फर्केपछि अचानक बेहोस भएका थिए । लगत्तै उनलाई अस्पताल लगिए पनि होस फर्केन ।

तीन सन्तान स्याहारेर बसेकी पत्नी दीपा पतिलाई लिन बर्दिया मगरागढी ८ रम्भापुरस्थित घरबाट १३ असारमा काठमाडौं आइन् । हल न चलको अवस्थाका लोग्नेलाई अब के गर्ने, दीपाले सोचिसकेकी छैनन् । वर्षौंपछि पतिलाई देख्न पाउँदा पनि उनी खुसी थिइनन् । खुसी हुन् पनि कसरी, घर परिवार धान्ने मान्छे नै हल न चलको बिरामी अवस्थामा फर्किएको छ ।

उनले भनिन्, ‘वहाँ जाँदाकै ऋृण तिरिसकिएको छैन । उपचारका निम्ति रकमको अभाव छ ।’ बिरामीका आफन्त शेरबहादर बस्नेतले आफ्नै जिल्लाको कोहलपुर मेडिकल कलेजमा लैजानका निम्ति पहल भइरहेको सुनाए । उनले भने, ‘यहाँ कसरी खर्च धान्नु ?’

परराष्ट्र मन्त्रालयले कतारको अस्पतालमा कोमामा रहेका नेपालीहरूको अवस्था शीर्षकको प्रतिवेदनमा कालु र हरि दुवैले कानुनत: क्षतिपूर्ति पाउने अवस्था नरहेको उल्लेख छ । हमाद अस्पतालले दुवै बिरामीको निम्ति क्रमश: २० र १७ हजार दिराम सहयोगस्वरूप पठाइदिएको छ । हमाद अस्पतालले बिरामी पुर्‍याउनका लागि एक जना डाक्टर र दुई जना स्टाफ नर्स पनि पठाइदिएको छ । तिनीहरू केही दिन बसेर फर्किनेछन् ।

कमजोर आर्थिक अवस्थामा रहेका बेलगानी र दीपा दुवैसँग अब के गर्ने भन्ने स्पष्ट योजना छैन । वर्षौं उपचार गर्दा पनि केही नभएको लोग्नेलाई कसरी सन्चो पार्ने ? दुवैसँग कुनै उत्तर छैन । वैधानिक तवरमा गएका नेपाली कामदार वर्षौंसम्म कोमामा बसेर फर्किएकोबारे वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड बेखबर छ । कतारको दोहास्थित नेपाली दूतावासले दुवै कामदारलाई घर फर्किन ट्राभल डकुमेन्ट भने तयार पारिदिएको थियो । ्र

वैदेशिक रोजगारीको सिलसिलामा अंगभंग भएकालाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले उपचार खर्चबापत तीन लाख रुपैयाँ दिने व्यवस्था छ । तर विदेशी अस्पतालमा वर्षौं कोमामा बसेकाई के गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था छैन ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले भन्छन्, ‘कानुनी व्यवस्था जटिल भए पनि श्रम स्वीकृति भएकै वर्षभित्र बिरामी भएको पुष्टि हुने कागजात भयो भने तीन लाख रुपैयाँ सहायता दिन सकिन्छ ।’ कालु र हरि दुवै वैधानिक रूपमा कामका लागि गएका हुन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment